May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी लिएर भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) भैरहवा आएका छन् । साथै मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ । बुधबार बिहान भारतीय वायुसेनाको विमानमार्फत् गौतमबुद्ध विमानस्थलमा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।

Advertisement

मोदी आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिन लुम्बिनी भ्रमणमा आउने तय भएको छ । मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा आउन लागेका हुन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो । दिल्लीबाट आएको उक्त वायुसेनाको विमान बिहान सवा सवा १० बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी यहाँ आइपुगेका हुन । वायुसेनाको विमानले सुरक्षाकर्मी र गाडी यहाँ छाडेर आजै दिल्ली फिर्ता जाने छ ।

Advertisement

यसअघि मोदी लुम्बिनी आउने तय भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो । यसपटक बुद्ध जयन्ती पारेर आउन लागेपछि स्थानीय हर्षित छन् । मोदीको स्वागतका लागि लुम्बिनी तयारी तीव्र पारिएको छ । मोदी आउने भएपछि अहिले लुम्बिनीमा चारवटा हेलिप्याड निर्माण भइरहेका छन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले मोदी आउने विषय तय भइसकेको जानकारी दिए । कोषकाअनुसार लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र एवं सभाहल नजिकै हेलिप्याड निर्माण भइरहेको छ । प्राविधिकका अनुसार यस्ता हेलिप्याड ढलान गरेर पक्कि बनाइनेछ । हेलीप्याडसम्म आउजाउका लागि चार मिटर चौडा ढुंगाको बाटो निर्माण भइरहेको छ । धेरै समय बाँकी नरहेकाले बैशाख मसान्तभित्र यस्ता तयारी पूरा गर्ने गरी काम भइरहेको छ ।

लुम्बिनी आएपछि मोदीले भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ । त्यसका लागि बिहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तिब्रता दिइएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबिसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन लागेको हो । उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । अहिले त्यहाँ प्रहरीले सुरक्षा दिन थालेको छ । उक्त विहार भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

मोदी आउने जानकारीपछि स्वागतका लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी तीव्र पारेको छ । भ्रमणको तयारीका लागि लुम्बिनीमा आएका भारतका उच्च सुरक्षा अधिकारीहरुले विकास कोषसँग पटक–पटक छलफल गरिसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले लुम्बिनी क्षेत्रको निगरानी बढाएका छन् ।

योसँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट भारतीय वायुसेनाको विमान अवतरण समेत भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आगामी जेठ दुई गते उद्घाटन हुँदैछ । त्यस दिनदेखि यहाँबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान समेत हुने छ । कुवेतको जजिरा एयरलाइन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ । विमानस्थलका अनुसार जजिराले सोमबार, बुधबार र शुक्रबार उडान भर्ने छ ।