जुर्मुराउँदै कांग्रेस, धर्मराउँदै विपक्षी
स्थानीय निकायको निर्वाचन मिति घर्कंदो छ । स्वतन्त्रदेखि राजनीतिक दलका उम्मेदवारहरु न्वारनदेखिको तामर पस्कंदैछन् । सबै आफ्नो जित सुनिश्चित रहेको करवीर गर्दैछन् । यसै सन्दर्भमा रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगर पनि चुनाबी माहोलमा रन्केको र दन्केको छ । नगरको सांचो पुरातन सोंच र शैलीको आचरण भएका व्यक्तिको हातमा सुम्पदा प्रशस्त सम्भावना बोकेको सिद्धार्थनगर नगरपालिकाले अग्रगामी छलाङ मार्न सकेन । यो भन्दा धेरै कान्छा नगरपालिकाले थुप्रै छलाङ मारिसक्दा सिद्धार्थनगर नगरपालिका भने जस्ताको तस्तै हिउँको पोथ्राझै कक्रकिएर बसेको छ । उस्तै अनुहारका व्यक्तिहरु फेरि चुनाबी मैदानमा उत्रेका छन् ।
तर, यसपाली देशकै पुरानो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीले सिद्धार्थनगरमा नयाँ उम्मेदवारलाई अगाडि सार्दा कांग्रेसजन जुर्मुराएका छन् भने बिपक्षी पार्टी धर्मराएका छन् । अन्य पार्टीले असीको उमेरका व्यक्तिलाई चुनाबी मैदानमा उतार्दा कार्यकर्ता र मतदातामा निराशा छाएको छ भने नेपाली कांग्रेसले नयाँ र युवा साेंचका व्यक्ति इस्तियाक अहमद खानलाई चुनाबी मैदानमा उतार्दा मतदातामा छुट्टै तरंग ल्याएको छ ।
कांग्रेस उम्मेदवार इस्तियाक समाजमा अत्यन्तै घुलनशिल, समाजसेवी र दानवीरका रुपले चिनिन्छन् । हिन्दू–मुस्लिम जोसुकै उनको घरमा सहयोगका लागि गए पनि रित्तो हात फर्कनुपरेको इतिहास छैन । मन्दिर, मस्जिद, पाटी–पौवा जस्ता धार्मिक र सामाजिक कार्यमा उनको प्रशस्त लगानी छ । उनी एकपटक सांसद समेत भैसकेका हुन् भने अहिले नगर प्रमुखको उम्मेदवारी दिएपछि आफ्नो पारिश्रमिक वापत आउने रकम सामाजिक कार्यमा खर्च गर्ने पूर्व घोषणा गर्दा अरु उम्मेदवार भने मौन रहेका छन् । त्यसैले गर्दा पनि सिद्धार्थनगरका मतदाताले नयाँ अनुहारलाई व्यग्र चासोका रुपमा लिएका छन् ।
कांग्रेसमा देखिएको लहरको वेगलाई रोक्न बिभिन्नखाले जहररुपी साम्प्रदायिक चारो फाल्न विपक्षीहरुले अतिवादी तत्वहरुलाई प्रयोग गर्न उद्धत छन् । उनीहरुको उद्देश्य नै साम्प्रदायिक चारो फालेर आफ्नो स्वार्थ सिद्ध गर्नु हो । मिलेर बसेको समाजलाई साम्प्रदायिकको ज्वालामा धकेलेर आफ्नो दुनो सोझ्याउनेहरुबाट सचेत हुुनुुपर्छ ।
पुरानो बिरासत फर्काउने मौका
सिद्धार्थनगरमा नेपाली कांग्रेसले २०४९ को स्थानीय निर्वाचनमा नगर प्रमुख जितेको थियो । त्यो बेलाका नगर प्रमुख डा. बलराम गौतमले चुनाब जितेपछि नगर विकासको नौलो खाका कोरेका थिए । डा. बलराम गौतमले जापानको याकोहामा सिटीसंग नगर भगिनी सम्बन्ध कायम गराउँदै बारुण यन्त्र लगायतका थुप्रै सहयोग जुटाएका थिए र नगर विकासमा नयाँ आयाम थपेका थिए । तर, त्यस यता नेपाली कांग्रेसले सिद्धार्थनगरमा जित हासिल गर्न सकेको छैन । कारण, आफू भित्रकै घात–अन्तरघात । तर अहिले कांग्रेसीजनको बुद्धि फिरेको छ, अब पनि घात–अन्तरघात गरियो भने कहिल्यै शिर उठाउन नसकिने गरी पछारिनेछौं भन्ने होस आएको छ ।
३० वर्ष अघिको आफ्नो बिरासत फर्काउनकै लागि कांग्रेसीजन अहिले एक भएका छन् । आफ्नो तिक्ततालाई पाखा फालेर धमाधम पार्टीको चुनाबी लयमा फर्केका छन् । टिकटका अन्य आकांक्षीहरु सुरेन्द्रजंग थापा, दीपक क्षेत्री न्यौपाने, बिजय शर्मा, शुशिल गुरुङ, महेन्द्रकुमार श्रेष्ठ पनि निरन्तरको पराजयको श्रृंखलालाई क्रमभंग गर्न थप उर्जाकासाथ चुनाबी रणसंग्राममा होमिएका छन् । उनीहरुको एउटै उद्देश्य केवल विजयको झण्डा फहराउने र कांग्रेसमा नयाँ उर्जा थप्ने छ ।
उता ५ वर्ष अघि कांग्रेस पार्टीसंग अलग रहेका ओमकुमार श्रेष्ठको पुनरागमनले युवा कार्यकर्ता र मतदातामा पनि नयाँ रक्तसंचार गरेको छ भने राजीनामा दिएकाहरु यसअघि नै फर्केर झन् जिम्मेवारी बोकेर हिंडेका छन् । त्यस्तै कांग्रेसको पुरानो खम्बाको रुपमा निक्कै लोकप्रियता कमाएका बिजय शर्मा पनि यसपालि अमेरिकाबाट फर्की निरन्तर प्रचारमा खटिएका छन् । अर्कोतर्फ नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनले गर्दा थप मजबुत बनाएको छ । जसले गर्दा नगरमा कांग्रेसलाई पहिलो पार्टी बन्नबाट रोक्न अब कसैको तामरले नपुग्ने आंकलन गर्न सकिन्छ ।
मधेशी–मुस्लिमलाई अवसरः दहशमुक्त
सिद्र्धानगरमा ठुला पार्टीहरुमा कांग्रेस मात्रै यस्तो पार्टी रह्यो जसले मधेशी तथा मुस्लिम उम्मेदवारलाई नगर प्रमुखमा अवसर दिएको छ । यस अघि ०७४ मा मधेशी समुदायको प्रतिनिधित्व गराउन नगर प्रमुखमा मातृकाप्रसाद यादवलाई कांग्रेसले उम्मेदवार बनाएको थियो । तर, अहिले पुनः टिकट नपाएको झोंकमा आप्mनै साथीलाई धारे हात लगाउंदै बाहिरिएका छन् । यो आप्mनै समुदाय, क्षेत्र र विचार माथि गर्दन रेट्ने सोंचलाई कार्यकर्ता र मतदाताले राम्रैसंग बुझेका छन् ।
निरन्तरको दहशतको आरोप लगाउनेले आफ्नै समुदायका सहयात्रीको खुट्टा काट्ने र गर्दन रेट्ने काम गर्नुहुन्नथ्यो भन्ने आवाज अहिले सर्वत्र उठेको छ । अहिले पुनः यस्तो अवसर मधेशी–मुस्लिम समुदायलाई प्राप्त भएको छ, आफ्नो अस्तित्व जोगाउने । कांग्रेस पार्टीले गरेको उच्च मूल्यांकनलाई यो समुदायले ठूलो अवसरका रुपमा लिन सक्नुपर्छ ।
भन्ने बेला युवा, लिने बेला चार बिसे
अहिले सर्वत्र युवा समुदायको प्रतिनिधित्वको बारेमा बहस उठेको छ । चाहे त्यो राजनीति होस् वा चाहे अन्य क्षेत्रमा युवा नेतृत्वले निक्कै फड्को मारेको छ । कांग्रेस, एमाले, राप्रपा लगायत सबै पार्टीको नेतृत्व पंक्तिमा यसपाली युवा समूहले निक्कै तरंग ल्याएका छन् । तर, सिद्धार्थनगरको नगर प्रमुखमा भने नेपाली कांग्रेस बाहेक अन्य पार्टीले युवालाई अगाडि सार्न रुचाएनन् । बृद्धहरुको धङधङीले छोडेन् । एमाले र राप्रपाले त चार बिसे हिउँद (आठ दशक) को यात्राका यात्रीलाई चुनावी मैदानमा उतारेको छ । अबको युग युवाको युग हो । अग्रजलाई मान सम्मान र युवालाई नेतृत्व सर्वत्रको आवाज हो ।
नेपाली कांग्रेसले त्यही आवाजलाई सम्बोधन गर्दै युवा उम्मेदवारलाई उठाएको कारणले पनि युवा जगत उत्साहित छ । उता उप–प्रमुखमा परिवारवाद हावी भएको भन्दै अर्को किचलो शुरु भएको छ । पार्टीमा त्याग र समर्पण गरेका कार्यकर्ता हुँदाहुँदै पहिला ससुरा, सासु हुँदै अहिले फेरि बुहारी भन्दै रडाको मच्चिएको र एउटा समूह निस्क्रिय छ ।
धमिरादेखि सावधान
नेपाली कांग्रेसमा अहिले देखिएको जनलहरप्रति विपक्षीहरु हतास मनस्थितिमा छन् । यो लहरको वेगलाई रोक्न बिभिन्नखाले जहररुपी साम्प्रदायिक चारो फाल्न विपक्षीहरुले अतिवादी तत्वहरुलाई प्रयोग गर्न उद्धत छन् । उनीहरुको उद्देश्य नै साम्प्रदायिक चारो फालेर आफ्नो स्वार्थ सिद्ध गर्नु हो । मिलेर बसेको समाजलाई साम्प्रदायिकको ज्वालामा धकेलेर आफ्नो दुनो सोझ्याउने उनको उद्देश्य हो । यस्तासँग सावधान र सचेत रहनु जरुरी छ । यस्तो भेटिनासाथ तुरुन्त निर्वाचन आयोगमा सूचना दिनुपर्छ । (सिद्धार्थनगर–८, भैरहवा)
लेखकको सम्वन्धमा