April 18, 2025, Friday
२०८२ बैशाख ५

‘नगरपालिकाले समग्र पक्षको सन्तुलित विकास गरेको छ’

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा भूपेन्द्र पाण्डेय कार्यरत रहेको झण्डै एक वर्ष पूरा भएको छ । जिल्लाको मर्चवारका स्थायी बासिन्दा समेत रहेका पाण्डेय नगरपालिकामा आएपछि कयौं काममा सुधारका प्रयास गरेका छन् । नगरपालिकामा सुशासन, विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा दिई काम गरिरहेको उनी बताउँछन् । यसै सन्दर्भम नगरपालिकाको समग्र विषयमा रहेर पब्लिक कुराका लागि प्रकाश न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

लुम्बिनी सांस्कृतिक नगरपालिकाका विशेषता के–के हुन ?
लुम्बिनी सांस्कृतिक नगरपालिका विश्व शान्तिका अग्रदुत भगवान गौतम वुद्धको पवित्र जन्मस्थल भएको नाताले मानव समुदायका लागि यसको विशिष्ट महत्व छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि मानिसहरु निर्वाहमुखी कृषि र पशुपालनमा नै रुमल्लिएका छन । एकातिर वुद्धकालीन प्राचीन सभ्यताको संरक्षण गर्ने, अर्कातिर विकासका नवीनतम मान्यतको अवलम्बन गरी नागरिकलाई गरिबी, भोक, रोग र अशिक्षाको दलदलबाट मुक्ति दिलाउनु पर्ने अभिभारा नगरपालिकाको छ । भगवान वुद्धको शान्ति, न्याय र अहिंसाको सन्देशलाई नेपालको तर्फबाट प्रचार–प्रसार गर्ने र विश्वमा नेपालको सम्मान र पहिचान स्थापित गराउने मूलभूत दायित्व यस नगरपालिकाको काँधमा छ ।

Advertisement

लुम्बिनीसँगै संस्कृति पनि जोडिएको छ । लुुम्बिनी र यसको सांस्कृतिक पक्षबारे तपाईंको भनाई के छ ?
पक्कै पनि लुम्बिनी एउटा विराट मानव सभ्यताको उद्गम स्थल हो । विश्व शान्तिको जननी हो । ऐतिहासिक संस्कृति र सभ्यता नै लुम्बिनीको पहिचान हो । यस क्षेत्रमा विभिन्न जातजाति, धर्म र संस्कृतिको साझा बसोबास छ । यहाँका मानिसमा परम्परागत ज्ञान, सीप र कलाहरु छन । तर आधुनिकताका नाममा ति लोप हुने क्रममा छन । आफ्नो मौलिक पहिचान गुमाएर विकास हुन सक्दैन । कला र संस्कृतिको संरक्षण गर्न राज्य तहबाटै प्रयासको खाँचो छ । त्यसले गर्दा यहाँको कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै रोजगारी सिर्जना र आय आर्जनसंग आवद्ध गर्नुपर्ने छ ।

नगरपालिकाको सुरुवातको अवस्थाबारे केही बताउनोस् न ?
यो नगरपालिका २०७१ सालमा स्थापना भएको हो । गाउँ नै गाउँले भरिएको, शिक्षा, स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासको दृष्टिले पिछडिएको नगरपालिका हो । नागरिक चेतनाको कमी, गरिबी, बेरोजगारी एवं सामाजिक पछौटेपनको कारणले विकास प्रक्रियामा सहभागिता हुन सकेका छैनन् । २०७४ मा स्थानीय तहको निर्वाचन भएसँगै स्थानीय सरकारको रुपमा जनप्रतिनिधिहरु आएको र बजेट समेत वृद्धि भएकोले आर्थिक, सामाजिक र पूर्वाधार विकासमा केही गति लिए पनि अपेक्षित गति र दिशा भने प्राप्त गर्न सकेको छैन । नागरिक चेतनाको पर्याप्त विकास हुन नसक्दा विकास र परिवर्तनको अवधारणागत बुझाइमा नै समस्या छ । अग्रगामी सोच र रुपान्तरणका एजेण्डाहरु कार्यान्वयन गर्न त्यति सहज भइसकेको अवस्था छैन । विकास आयोजना सञ्चालनमा सहयोग भन्दा अवरोधको संस्कृति व्याप्त छ ।

नगरपालिकाको सबैभन्दा सबल पक्ष के–के हुन ?
विश्व पर्यटनको केन्द्र विन्दु हुनु एवं कृषि र पर्यटन विकासको प्रचुर सम्भावना नै यहाँको सबल पक्ष हो । लुम्बिनीमा रहेका अवसर र सम्भावनाको उपयोगप्रति सार्थक चेतनाको विकास हुँदै गएको छ । कृषिमा आधारित जीवनशैली क्रमशः उद्योग र सेवा क्षेत्रमा समेत स्थानान्तरण हुँदै गएको छ ।

नगरपालिकाले कुन पक्षलाई बढी जोड दिएको छ ?
यस नगरपालिकाको विकास र समृद्धिको आधार भनेको कृषि र पर्यटन नै हो । कृषियोग्य जग्गाको पर्याप्त उपलब्धता र भगवान वुद्धको जन्मस्थल भएकाले कृषि र पर्यटनको यथेष्ट सम्भावनाहरु छन । तथापी कृषि पेशाको व्यवसायीकरण एवं पर्यटन क्षेत्रको ग्रामीण तहसम्म विकेन्द्रिकरण हुन सकेको छैन । यसर्थ नगरपालिकाले उन्नत विउविजनको वितरण, तरकारी खेती, कुखुरा पालन एवं बाख्रा पालनमा अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएका छन । त्यस्तै गोठ सुधार, च्याउ खेती तालिम, माछा पालन तालिम, माछाका भुरा वितरण लगायतका कार्यक्रमहरु छन । त्यस्तै मटो परीक्षण र घुम्ती प्लान्ट क्लिनिक सञ्चालन गर्ने तयारी छ ।

पर्यटनतर्फ लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुको बसाईँ अवधिलाई लम्ब्याउने गरी योजना र कार्यक्रमहरु कार्यान्वयनमा छन । यसका लागि यहाँ आउने पर्यटकहरुलाई ग्रामीण स्तरसम्म पुर्याउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी छ । यहाँका पर्यटकीय सम्पदाहरुको पहिचान, विकास र प्रचार प्रसारलाई जोड दिएका छौँ । पर्यटन प्रवद्र्धनका लागि श्रव्यदृष्य सामग्री तयार गरिएको छ । पर्यटकीय स्थलहरुको सौन्दर्यीकरण एवं सडक मार्गहरुको स्तरोन्नती भइरहेको छ । प्रदेश सरकार समेतको समन्वय र सहयोगमा होमस्टे सम्बन्धी तालिम सञ्चालनको तयारी छ ।

नगर क्षेत्रभित्र विकास निर्माणको अवस्था के छ ?
नगरपालिकाले यहाँको आर्थिक सामाजिक साँस्कृतिक एवं भौतिक पूर्वाधार विकासका लागि स्रोत साधन परिचालन गरिरहेको छ । विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय र समयमा नै सम्पन्न गर्नका लागि कार्यक्रम कार्यान्वयन कार्यतालिका बनाएका छौँ । विकृतिको रुपमा रहेको असारे विकासको परिपाटीलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ । उपभोक्ता समिति र निर्माण व्यवसायीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउने र योजना सञ्चालनमा आएका समस्याहरुलाई समाधान गर्नका लागि आवश्यक संयन्त्रहरुको निर्माण र परिचालन गरिएको छ । धेरे भित्री सढकहरु कालोपत्र भएका छन् ।

नगरपालिकामा शिक्षा, स्वास्थ्यको अवस्था के छ ?
नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विद्यार्थीलाई अनुशासित, नैतिकवान र जिम्मेवार बनाउनका लागि कार्यक्रमहरु संचालन गरिएका छन् । विद्यार्थी भर्नादर उच्च बनाउन र कक्षा नछाड्न उत्प्रेरित गर्न दिवा खाजा कार्यक्रम संचालन गरिएको छ । यस वर्ष देखि नै कक्षा ८, १०, ११ र १२ मा सर्वोत्कृष्ट हुने तथा एम.वि.वि.एस., वि.ई. तथा विएससी एग्रीकल्चर तर्फका कार्यक्रमको प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई थप प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको छ । अगामी शैक्षिक सत्रदेखि कक्षा एकमा मातृ भाषा शिक्षा एवं कक्षा ७ र ८ मा बौद्ध दर्शन सम्बन्धी शिक्षाको पाठयक्रम लागु गरिने छ । यसका लागि पाठ्यपुस्तक लेखन कार्य भइरहेको छ ।

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको सरल र सहज पहुँच पुर्याउन स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थाहरु मार्फत प्रर्वद्धान्तमक, उपचारात्मक र प्रतिकारात्मक कार्यक्रमहरु संचालनमा छन् । यसका लागि निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण, बाल स्वास्थ्य कार्यक्रम, खोप कार्यक्रम, वहुक्षेत्रीय पोषण कार्यक्रम, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग, एचआइभी, एड्स रोग, मलेरिया रोग निवारण कार्यक्रमहरु संचालित छन् । गाउँ घर किल्निक, सुरक्षित मातृत्वका लागि जिल्लाभरी निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी महिलालाई पोषण झोला वितरण कार्यक्रम सञ्चालनमा छ । स्वास्थ्य संस्थाहरुमा सूचना तथा संचार प्रविधिको पहुँच विस्तार गरिएको छ । नगरपालिका भित्रका सुगर र उच्च रक्तचापका विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य जाच र औषधि वितरणको व्यवस्था मिलाइएको छ । प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन भएका छन् ।

नगरपालिमा स्थायी रुपमा १५ शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको छ । १५ शय्याको अस्पताल शिलान्यास भइसकेको छ भने १०० बेडको अस्पताल निर्माणका लागि जग्गा प्राप्ति लगायतका प्राक्रिया अगाडि बढाइएको छ । लुम्बिनी आयुर्वेद चिकित्शालयको प्राविधिक र जनशक्तिगत सहयोगमा आरोग्य सेवा केन्द्र संचालनमा ल्याइएको छ ।

नगरपालिकाका प्रमुख योजनाबारे केही जानकारी दिनुस् न ?
नगरपालिकाले समग्र पक्षको सन्तुलित विकास हुने गरी योजना बनाएको छ र काम गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटन सूचना केन्द्रको निर्माण, यहाँका ताल तलैया र पोखरीहरुको सौन्दर्यीकरण, होमस्टे सञ्चालनका तालिम, टुरिष्ट गाइड तयार गर्ने, ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहाँको कला संस्कृति र सम्पदाको पहिचान गरी ब्राण्डिंग गर्ने एवं रोजगार सिर्जना गर्ने कार्यक्रम छ । त्यस्तै आमा बनबबाटिकालाई योग ध्यान केन्द्रको रुपमा विकास गरी आध्यात्मिक पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने कार्यक्रम छ ।

गौरवका योजना छन् कि ?
हामीले यसै वर्षको आठौँ नगरसभाबाट नागरिक चेतना विकास, पर्यटन प्रवद्र्धन, आर्थिक सामाजिक रुपान्तरण एवं नगरपालिकाको बहुआयामिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्ने ८ वटा योजनाहरुलाई नगरस्तरीय गौरवको योजनाको रुपमा अगाडि बढाएका छौँ । यसमा पूर्वाधार विकास मात्र होइन्, सामाजिक विकासका योजनाहरु पनि छन् ।

नगरपालिकाले सञ्चालन गरेका सफल योजनाहरु ?
नगरपालिका भित्र थुप्रै सफल योजनाहरु छन् । नगर विकासमा सबै योजनाहरुको उत्तिकै योगदान छ । मेयर कन्या विवाह योजना र सुकन्या धन योजना वास्तवमै सान्दर्भिक, औचित्यपूर्ण र सफल योजनाहरु हुन् । यसको वहुआयामिक प्रभाव रहेको छ । खास गरी शिक्षा, स्वास्थ्य, नागरिक चेतनामा सकारात्मक प्रभाव छ ।

महिलाहरुको क्षमता बिकासका लागि गरेका काम ?
म्हिलाहरुको क्षमता विकासका लागि लैंगिक हिंसाविरुद्धको चेतनामूलक कार्यक्रमहरु तथा कानुनी साक्षरताका कार्यक्रमहरु सञ्चालन गरिएका छन । बालिकाहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न र बालविवाह न्युनीकरण गर्न मेयर कन्या विवाह योजना र सुकन्या धन योजना जस्ता कार्यक्रमहरु कार्यान्वयनमा छन् । त्यस्तै लघु उद्यम विकास कार्यक्रम मार्फत सीपमूलक र रोजगार मूलक कार्यक्रमहरु सञ्चालन गरेर महिलाको श्रम, सीप र क्षमताको उपयोग गर्ने र आत्मनिर्भरताको विकास गर्ने कार्यहरु भइरहेको छ । आगामी वैशाख ३ गते चैते पूर्णिमाको दिन वाओ कार्यक्रममा नगरपालिकाको समेत स्टल राखेर यस क्षेत्रका महिलाहरुको उदाहरणीय कार्यहरुलाई नमूनाको रुपमा प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

नगरपालिकाले लुम्बिनीको विकासमा लुुम्बिनी विकास कोषसँग कसरी हातेमालो गरेको छ ?
नगरपालिका लुम्बिनीकै विकासका लागि हो । तर, विकासको दुई नेतृत्वदायी संस्था लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच समन्वय र सहकार्य हुन सकेको छैन । पर्यटकहरुको गतिविधि विकास कोषको चार पर्खाल भित्र सीमित रहेको छ । पर्यटन शुल्क उठाउने अधिकार संविधानतः नगरपालिकाकको भए पनि विकास कोषले उठाइरहेको छ । यसबाट नगरपालिकाले विकासको प्रमुख स्रोत समेत गुमाई छ ।

स्पेनको एक नगर र सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यसबारे केही उल्लेख गर्नुस् न ? दातृ निकायको सहयोग केही छ की ?
यस नगरपालिकाको भारतको वोधगया र स्पेनको केसेरस नगरपालिकासँग भगिनी सम्बन्ध कायम छ भने स्पेनको म्याड्रिड महानगरपालिका र चीनको लुशास सिटीसँग सहसम्बन्ध कायम गरिएको छ । त्यस्तै लुम्बिनी गार्डेन फाउण्डेसन र वुद्ध लुम्बिनी ग्रुपसँग संस्थागत सम्बन्ध कायम गरिएको छ । गएको कार्तिक महिनामा लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वय र नगरपालिकाको नेतृत्वमा म्यानमारका मुर्तिकारहरुद्वारा नेपाल सरकारलाई बहुमूल्य धातुको बुद्ध मूर्ति उपहार स्वरुप प्राप्त भएको छ । सम्माननीय राष्ट्रपति ज्यूबाट गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त मूर्तिको अनावरण समेत भइसकेको छ ।

स्पेन सरकारको सहयोगमा नगरपालिकाले १०० शय्याको अस्पताल निर्माण गर्नका लागि जग्गा प्राप्ती लगायतका प्रक्रिया अगाडि बढाएको छ । यसका लागि प्रि–प्रोजेक्ट प्रस्तुतीकरण समेत भइसकेको छ ।

नगरपालिकाले सञ्चालन गर्न प्रयास गरेको तर अपूरा योजना छन् कि ?
नगरपालिकाले खास गरेर फोहोरमैला व्यवस्थापनको प्रयास गरेको तर सफल हुन सकेको छैन । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुन सकेको छैन । यसले गर्दा सिंगो नगरपालकाकै कार्य र सेवा प्रवाहमा समस्या छ । वडा कार्यालयहरुको निर्माणमा केही कानुनी र प्राविधिक समस्या आएको थियो । त्यसलाई समाधान गरी हाल कार्य सुरु गराइएको छ ।

भविष्यमा कस्तो नगरपालिका बनोस् भन्ने चाहना/योजना छ ? त्यसका लागि केही पहल ?
यस नगरपालिकाको नाम पछाडीको साँस्कृतिक विशेषताहरु कार्य र व्यवहारमा प्रतिविम्बित हुन सकेका छैनन । यहाँको घर निर्माण, अतिथि सत्कार, उपहार आदिमा यहाँको संस्कृति झल्किनु पर्दछ । यसका लागि माथी नै उल्लेख गरे जस्तै पर्यटन र कला संस्कृतीको क्षेत्रमा कार्य भइरहेको छ । यस क्षेत्रको विकासका लागि नगरपालिका मातहत रहने गरी लुम्बिनी विकास प्राधिकरण गठन गरी योजनावद्ध विकास मार्फत प्राचीन सम्पदाको संरक्षण सहितको आधुनिक र समृद्ध सहरी सभ्यताको रुपमा विकास गरिनु पर्दछ ।

यसलाई विश्व शान्तिको संवाहक र वौद्ध दर्शन अध्ययन केन्द्रको रुपमा विकास गरिनु पर्दछ । यसको प्रस्थान विन्दुको रुपमा वौद्ध दर्शन सम्बन्धी पाठ्यक्रम लागु गरी स्थानीय नागरिकलाई वौद्ध दर्शनसँग जोडने कार्य भइरहेको छ । ललितकला सम्बन्धी महोत्सव आयोजना गर्नेतर्फ तयारी भइरहेको छ । त्यस्तै लुम्बिनी वौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भगवान वुद्धको जीवनी र आधारभूत वौद्ध दर्शन सम्बन्धी अनुसन्धानमूलक ग्रन्थ प्रकाशनको तयारी भइरहेको छ ।