December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

लुम्बिनीमा परम्परागत बौद्ध कलासंस्कृति झल्कने बिहार निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट नेपाली परम्परागत तथा बौद्ध कला–संस्कृति झल्कने नेपाली बिहार निर्माण गरिएको छ । जनस्तरबाट सहयोग रकम संकलन गरी नेपालीहरुकै लागतमा बौद्ध परम्परागत कलासंस्कृति झल्कने गरी लुम्बिनीमा नेपाली बिहार बनेकोे हो । नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाबिहार निर्माण गरेको जनाएको छ ।

Advertisement

बिहारको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । बिहार उद्घाटन गर्न उनी आज बिहान हेलिकोप्टरमार्फत् लुम्बिनी आएकी थिइन् । २०६८ सालमा लुम्बिनी विकास कोषबाट जग्गा प्राप्त भएपछि बिहार निर्माण सुरु गरिएको थियो ।

बुद्ध धर्ममा भिक्षुहरु बस्ने स्थानलाई बिहार भनिन्छ । त्यस्तै किसिमका बिहारको प्रारम्भ बुद्धको समयदेखि सुरु भएको थियो । ‘लुम्बिनीमा दर्जनबढी बिहार भए पनि सबै बिहारमा विदेशी लगानी छ । नेपालीहरुको मात्रै लगानी छैन । अर्कातर्फ ती बिहारहरुमा नेपाली मौलिकता झल्कँदैन । विदेशी लगानी रहेपछि उनीहरुले आफ्नै देशको कलासंस्कृति झल्कने गरी बिहार बनाएका छन् । त्यसैले हामीले आफ्नै देशको कलासंस्कृति र परम्परा झल्कने बिहार बनाएका हौं’, संस्थाका उपाध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन मानिकरत्न शाक्यले भने ।

यहाँ निर्माण भएकोे बिहार नेपाल मण्डलाभित्रको परम्परागत बौद्ध बिहारहरुको शैलीमा बनेको छ । ललितपुर र भक्तपुरमा लिच्छवीकालदेखि नै यस्ता किसिमका बौद्ध बिहारहरुको निर्माण हुँदै आएको छ । यो बिहारमा बौद्ध परम्पराअनुसार धातुकला, काष्ठकला, मूर्तिकला, पस्टरकला, स्तिकाकला लगायतको प्रयोग गरिएको छ ।

यो बिहार निर्माणको पछाडि मूल दर्शन भनेको बज्रधातु मण्डलको परिकल्पना गरी बनाइएको बिहार हो । त्यसैले यो बिहारलाई बज्रधातु मण्डलको माथि बनाइएको बौद्ध बास्तुकला पनि भन्ने गरिन्छ । ‘विदेशी लगानीमा बनेका बिहारमा छुट्टै किसिमको कला प्रयोग गरिएको छ, त्यसको अर्थ फरक होला तर यो बिहारमा भएका जति पनि कलाकृति छन्, तीनीहरु सबै बौद्ध ग्रन्थ र शास्त्रमा आधारित छन्’, शाक्यले भने, ‘यो नेपालको आफ्नै किसिमको बास्तुकला हो । ती कलाहरुले नेपालको आफ्नै पहिचानलाई प्रस्तुत गरेको छ ।’

यो नेपाली बिहार पुग्ने जो कोहीले बुद्धको जन्मभूमिमा पुगेको महसुस गर्न सक्ने निर्माणाकर्ताको दावी छ । शाक्य भन्छन्, ‘यहाँ नेपाली मौलिक कला र संस्कति जीवन्त देख्न सकिन्छ ।’ काठ, ढुंगा र विभिन्न धातुलाई कुदेर मनमोहक नेपाली तौतरिकाको डिजाइन गरी बिहार बनाइएको छ । ढोका र झ्यालको विभिन्न ठाउँमा ससाना बुद्धको मूर्ति चिटिक्क पारेर कुदिएको छ ।

‘लुम्बिनी बुद्धको जन्मभूमि, नेपालको आफ्नै थलो हो । तर यो स्थानमा नेपालकै बौद्ध बास्तुकला झल्कने बिहार निर्माण भएको पाइँदैन’, उपाध्यक्ष शाक्यले भने, ‘त्यसैले यो स्थानमा नेपालकै बौद्ध र बास्तुकला झल्काउने उद्देश्यले बिहार निर्माण गरिएको हो ।’

यहाँ दुई तल्लाको यात्रु निवास यसअघि नै निर्माण गरिएको थियो । दुई तल्लाको बिहारको पहिलो तल्लामा गजुरा, छाना, क्जाःपाद्यो बुद्धमूर्ति कुदिएर राखकिो छ । नेपाली परम्पराअनुसारको ईंटा प्रयोग गरी भवन बनाइएको छ । बज्रधातु मण्डल, बज्रधातु चैत्य, शारीपुत्र मौद्गल्याण मूर्ति, ५ फिटको बज्रसत्व, सहस्रभुज लोकेश्वर, दिपंगर तथागत, महाकाल मूर्ति, ढुंगामा कुदिएको सिंह मूर्ति बनाएर मूल ढोका अघि २ थान र भित्रपट्टी २ थाना चिटिक्क सिंगारेर राखिएको छ । दोस्रो तल्लामा चिटिक्क पारेर बौद्ध परम्पराअनुसारका झ्याल, ढोका राखिएको छ ।

काष्ठकलाकर्मीहरुले नेपाली कलासंस्कृतिअनुसार डिजाइन तयार पारेका थिए । मूल ढोका र बाहिरी झ्याल नेपाली परम्परा झल्कने गरी बनाइएको काष्ठकलाकर्मी तथा मूर्तिकार अनिल शाक्यले बताए । उनले बिहारको प्राङ्गणमा बज्रधातु चैत्य र क्वाःपाद्यो मूल ढोका र दायाँवायाँ आँखाी झ्याल बनाइएको जनाए । ‘यो विशुद्ध नेपाली मौलिक परम्परामा बनाइएको बिहार हो । यहाँ आउने पर्यटकले हाम्रो परम्परा र कला संस्कृति देख्न सक्नेछन्’, उनले भने ।

बिहार निर्माण समितिका कोषाध्यक्ष पंचबीर सिं तुलाधरकाअनुसार जनस्तरबाट १५ करोड बढी सहयोग प्राप्त गरी उक्त रकम निर्माणमा खर्च गरिएको छ । यस्तै बिहार निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार र कुमारी बैंकबाट ५ लाख सहयोग गरेको थियो । बिहार निर्माणमा कुल १६ करोड रुपैयाँ लागेको छ ।

नेपाली कलायुक्त काण्ठकला, मूर्तिकला, परम्परा र संस्कृतिको यो बिहारमा दैनिकरुपमा नेपाली र बौद्ध परम्पराअनुसार पुजापाठ हुने छ । यस्तै, सर्वसाधरण र लुम्बिनी आउने पर्यटकका लागि खुल्ला गरिएको छ । लुम्बिनीमा पहिलो पल्ट आफ्नै परम्पराअुसार बिहार बनेकाले यसको महिमा थप बढ्नुका साथै आन्तरिक पर्यटकको रोजाई यो बिहार बन्ने निर्माणकर्ताको विश्वास छ ।