October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

बुटवलमा फोहोर नउठ्दा दुर्गन्धले बसिनसक्नु

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकामा फोहोर नउठेको हप्ता दिन बढी भयो । फोहोरको डंगुरमाथि झिंगा भन्किएका छन् । बजार, चोक तथा राजमार्गको दायाँवायाँ फोहोरको डंगुर छ । दुर्गन्धले बसिसक्नु छैन । लुम्बिनी प्रदेशको अस्थायी राजधानीसमेत रहेको यहाँको फोहोर व्यवस्थापनमा स्थानीय सरकार चुकेको छ । प्रदेश सरकारले पनि व्यवस्थापनमा कुनै चासो देखाएको छैन ।

उपमहानगरले फोहोर नउठाएपछि घरघरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फ्याँक्ने गरेका छन् । होटल तथा कलकारखानामा फोहोरको डंगुर थुप्रिएको छ । ‘यतिका दिनसम्म उपमहानगर निदाएर बसेको छ’, स्थानीय श्याम श्रेष्ठले भने, ‘घर, सडक र चोकमा फोहोरको थुप्रो छ । दुर्गन्धले हिंडडुल गर्न समस्या भएको छ ।’

बुटवलका मुख्यचोकहरु पुष्पलालपार्क, मिलनचोक, होराइजनचोक, बसपार्क गोलपार्कमा फोहोरको थुप्रो छ । बुटवल पश्चिम वेलबास नयाँ गाउँ सडकको छेउछाउ उस्तै फोहोर डंगुर छ । राजमार्गमा सवारी चलाउनेले नाक थुनेर चलाउँछन् ।

उपमहानगरले फोहोर उठाउन नआएपछि स्थानीयले सडकमा नै फोहोर फ्याँक्न थालेका हुन् । ‘दुर्गन्धले घरमा राख्नै समस्या भएपछि सडकमा फाल्नु परेको हो’, श्रेष्ठले भने । पानी परिरहेकाले फोहोरको लेदो बगेर सडकमा छरिँदा जताततै सास्ती र दुर्गन्धले बसिनसक्नु छ ।

बुटवलले अस्थायी रुपमा हाल वडा नम्बर–११ स्थित पवित्रनगरमा पोहोर ‘डम्प’ गर्दै आएको थियो । तर, उक्त डम्पिङ साइट भरिएको छ । बैकल्पिक व्यवस्था गरिएको छैन । बढ्दो शहरीकरणसँगै बुटवलमा फोहरमैला व्यवस्थापनको समस्या पनि बढिरहेको छ । फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरले सैनामैना नगरपालिकामा प्रशोधन केन्द्रसहितको डम्पिङ साइट निर्माणको काम अघि बढाएको जनाएको छ ।

सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र बुटवलको सहकार्यमा प्रदेश तथा केन्द्र सरकारको लगानीमा निर्माण भइरहेको उक्त डम्पिङ साइटले फोहोर व्यवस्थापनको चुनौतिलाई दीर्घकालीनरुपमा समाधान गर्ने दावी गरिएको छ । तर, उक्त स्थायी डम्पिङसाइट कहिलेसम्म बन्छ भन्ने एकीन छैन ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानीसमेत रहेको बुटवलमा लामो समय फोहोर नउठ्दा दुर्गन्धले महामारी फैलने त्रास बढीरहेको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बैकल्पिक व्यवस्थापन भइरहेकाले कम्तिमा दुई–तीन दिनमा फोहोर उठाउने बताए । ‘हामीले केही मात्रामा फोहोर उठाएका छौं’, उनले भने, ‘पहिला फोहोर व्यवस्थापन गर्दै आएको ठाउँ भरिएको छ । अर्को विकल्पमा छलफल जारी छ । केही दिनमा निकास निस्केला ।’

बुटवलमा दैनिक कम्तिमा ५३ टन फोहोर संकलन हुन्छ । हप्ता दिनसम्म नउठ्दा तीनचार सय टन फोहोर सडक तथा चोक र घरहरुमा थुप्रिएको छ । स्थानीय सरकारले तदारुकता देखाएको जनाए पनि बैकल्पिक व्यवस्थापनमा खासै निकास निस्कन सकेको छैन । सडकमा धेरै फोहोर थुप्रिएपछि गाडीमा उठाएर राखिएको छ ।