बुद्धको पाइला पछ्याउँदै भारतीय युवाको नेपालमा पदयात्रा


लुम्बिनी– एक भारतीय युवाले गौतम बुद्धको पाइला पछ्याउँदै नेपालमा पदयात्रा सुरु गरेका छन् । भारतको बोधगयाका दिपक आनन्दले बुद्धको पाइला पछ्याउँदै कपिलवस्तुको तिलौराकोटबाट पदयात्रा सुरु गरेका हुन् ।
४० वर्षीया ती युवाले सन् २०२० बाट पदयात्रा शुरु गरेका थिए । सुरुमा भारतमा बुद्ध बसेको र बुद्धत्व प्राप्त गरेको ठाउँको यात्रा गरिसकेका छन् । बोधगया, कुशीनगरलगायत ठाउँको उनले यात्रा गरेका हुन् । ‘मैले सुरुमा भारतमा रहेका सबै बुद्धस्थल हिंडेर यात्रा गरेँ, त्यसपछि नेपालका बुद्धस्थल र बुद्ध हिँडेका ठाउँहरुमा यात्रा गर्न आएको हुँ’, आइतबार भैरहवामा आइपुगेका उनले भने ।
कपिलवस्तुका राजा शुद्धोधनका छोरा सिद्धार्थ सांसरीक दुखःको कारण खोज्दैं आफ्नो प्रिय साथी कन्ठक (घोडा) लाई लिएर असार शुक्ल पूर्णिमाको दिन कपिलवस्तु दरबार छाडेर हिँडेका थिए । यसै दिनको अवसर पारेर दीपकले कपिलवस्तुको तिलौराकोटबाट नेपालमा पदयात्रा सुरु गरेको बताए ।
तत्कालीन समयमा २९ वर्षीय राजकुमार सिद्धार्थले राजकाज त्याग गरेर २६ सय ४५ वर्ष अगाडि कन्ठक घोडा लिएर ज्ञानको खोजिमा पूर्विद्वारबाट बाहिर निस्केका थिए । त्यस घटनालाई बुद्धिस्ट साहित्यमा महाभिनिष्क्रमण भनिन्छ । ‘सोही दिनको अवसर पारेर कोरोनाको कारण स्थगित भएको मेरो पदयात्राको पुनःथालनी गरेको हुँ’, उनले भने ।
उनले पदयात्रा शुरु गरे लगत्तै कोरोनाका कारण दुई देशमा लकडाउ भएकाले केही समय यात्रा स्थगित गरि पुनः यात्रा शुरु गरेको उनले सुनाए । पदयात्रा गर्दै उनी बुधबार नवलपरासीको त्रिवेणी पुगेका छन् । भोलि त्यहाँबाट अन्य बुद्धस्थल जाने कार्यक्रम छ ।
पदयात्रा स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । बिहान–बिहानै पैदल यात्रा गर्ने कोही रहरले गरेका छन् त कोही आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त पार्न । तर, भारतका दीपक भने बुद्ध महत्व र जीवनीलाई थप उचाईमा पुर्याउने उद्देश्यले पदयात्रा सुरु गरेको बताउँछन् । ‘पदयात्राले मेरो स्वास्थ्य तन्दुरुस्त हुन्छ नै, बुद्ध स्थलको पनि थप प्रचार हुने अपेक्षा लिएको छु’, उनले भने ।
दिपकले गौतमबुद्धले घर छाडेको, बुद्धत्व प्राप्ति गरेको र महापरिनिर्वाण गरेको ठाउँमा पैदल यात्रा गरेका छन् । चिनियाँ यात्री हवेन साङको बुद्ध, बुद्धत्व र जीवनी सम्बन्धी अध्ययनबाट प्रेरित भएर आफूले पदयात्रा शुरु गरेको उनी बताउँछन् । ‘तत्कालीन समयमा लाइटको व्यवस्था नभएको र यातायातको व्यवस्था पनि नभएको बेलामा बुद्धले कसरी यात्रा गरे होलान्, कस्तो कष्ट भएहोला ? त्यसबेला पदयात्रा सम्भव थियो भने अहिले किन सम्भव नहोला भनेर मैले पदयात्रा शुरु गरेको हुँ’, उनले भने ।
हालसम्म २ हजार १ सय किलोमिटर पदयात्रा गरिसकेको र अझै ७ सय किलोमिटर पदयात्रा गर्न बाँकी रहेको उनले बताए । ‘गौतमबुद्धले यात्रा गरेको, बसेको ठाउँभरी पैदलयात्रा गरेर सक्ने मेरो अभियान नै हो’, उनले पब्लिक कुरासँग भने । गौतमबुद्धकी कान्छी आमा महाप्रजापति गौतमीले भिक्षुका लागि त्याग र तपस्या गरेको अवस्थालाई स्मरण गर्दै जीवनमा केही गर्नका लागि पदयात्रा गर्ने गरेको उनको भनाई छ ।
शुद्धोदनको कान्छी महारानी तथा सिद्धार्थकी कान्छी आमा महाप्रजापति गौतमीको रेखदेखमा बित्यो । महाप्रजापति गौतमीले आफैले जन्माएको छोरा नन्दकुमारलाई धाइ आमाको हातमा सुम्पिएर बोधिसत्व सिद्धार्थकुमारलाई मातृ–स्नेह प्रदान गरि काखमा लिएर दुग्धपान समेत गराएकी थिइन् ।
‘यसरी महाप्रजापति गौतमीको मातृत्व वात्सल्यमा आफ्नो शैशवकाल बिताउनु भएका सिद्धार्थ कुमारको जीवन अत्यन्तै सुख सयलमा बितेको थियो । २९ वर्षसम्म कपिलवस्तु दरबारको ऐश्व आराम अनि पिता शुद्धोदन र माता प्रजापति गौतमीका छत्र छाँयामा जीवन व्यतित गर्नु भएका सिद्धार्थ कुमारले अन्तत संसारमा विद्यमान दुःखहरुबाट आजित भइ यस जगत संसार उद्धारको निमित्त कपिलवस्तु दरबार अनि सम्पूर्ण आत्मिय सम्बन्धहरु त्याग गरि प्रवजित हुनु भएको थियो’, उनले भने, ‘यस्तो अवस्था छाडेर बुद्धत्व प्राप्त गर्नुभएको बुद्धले विश्वमा शान्तिको मुहान छाड्नुभयो । हामीले उहाँको पाइला पछ्याउनुपर्छ ।’
दीपकले बुद्ध विश्वकै सम्पत्ति भएको सुनाए । ‘उहाँले व्यक्ति विशेषलाई मात्रै सन्देश प्रवाह गर्नुभएन, विश्व मानव जगतलाई नै शान्ति, अहिंसाको सन्देश छर्नुभएको छ । यसबाट म निकै प्रेरणा पाएको छु । त्यसैले मैले उहाँको पाइला पछ्याएर विश्वभर शान्तिको सन्देश दिन चाहन्छु’, उनले भने । कठिन अवस्थामा पनि आफूले पदयात्रा सुरु गरेको जनाउँदै उनले धेरैको माया, स्नेह र प्रेरणाले हौसला मिलेको बताए । आफ्नो पदयात्राले बुद्धस्थलको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने उनले जनाए ।
लेखकको सम्वन्धमा