साइकलले छोट्टियो विद्यालय पुग्ने समय


भैरहवा– कक्षा आठमा दोस्रो भइन् । घरदेखि एक किलोमिटर टाढा विद्यालय थियो । हिंड्दै पुग्थिन् । अब कक्षा नौ पढ्न ३ किलोमिटर पर पुग्नुपर्छ । नजिक विद्यालय छैन । साधनको समस्या छ । टाढा रहेको विद्यालयमा कापी–किताब बोकेर जानु पर्ने भएपछि रुपन्देहीको गैडहवा गाउँपालिका–८ की ममता कुमारी लोध चिन्तित थिइन् । उनीसँग साइकल छैन ।
बिहीबार भने उनी खुशी थिइन् । कक्षा आठमा प्रथम, द्वितिय र तृतीय हुने उनीजस्ता ५१ जना छात्राहरुलाई गैडहवा गाउँपालिकाले साइकल दियो । ‘आठमा पढ्दा एक किमी हिंड्न त कठिन हुन्थ्यो । तीन किमी हिंड्दा झनै समस्या हुने भयो । साइकल पाएपछि सजिलै पढ्न जान सकिने भयो’, उनले भनिन् ।
अब, लोध साइकल चढेर विद्यालय पुग्नेछिन् । साइकल अभाव टरेको छ । विगतमा उनले हिंड्दै विद्यालय जाँदा लाग्ने थकान मेटिएको छ । विद्यालय यात्राको समय साइकलले छोटो गरिदिएको छ । उनले कक्षा नौ अध्ययन गर्ने राजदीप आधारभूत विद्यालय गैडहवा–८ को डोलई गाउँमा पर्छ । ‘हिंड्दै जाँदा विद्यालय पुग्नै हतार हुन्थ्यो, अब साइकलमा जाँदा समय थोरै लाग्छ र बचत पनि हुन्छ’, उनले भनिन्, ‘आज म निकै शुखी छु । गाउँपालिकाले हामीलाई यति ठूलो सहयोग गरेको छ । कक्षा नौंमा अझै मिहिनत गरी प्रथम हुने कोसिस गर्छु ।’

गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालयका कक्षा आठमा उत्कृष्ट अंक ल्याउने छात्रालाई प्रोत्साहन स्वरुप साइकल दिएको हो । ‘हामीले छात्रालाई प्रोत्साहन गर्न सक्यौं भने उनीहरु नियमित विद्यालय जान्छन्, घरपरिवारलाई छोरी पढाउनुपर्छ भन्ने महसुस हुन्छ’, गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल)ले भने, ‘साइकल भएपछि टाढा भएकै कारण विद्यालय नपठाउने समस्या हट्ने हाम्रो विश्वास छ ।’
गैडहवा गाउँपालिका क्षेत्रफलले ठूलो छ । विद्यालय थोरै छन् । जसले विद्यार्थीलाई अध्ययन गर्न टाढा पुग्नुपर्छ । मधेशी समुदायको बाहुल्यता रहेको यहाँ छोरीलाई पढाउन अझै हिच्किच्याउँछन् । ‘यसैले गर्दा हामीले कुनै न कुनै किसिमले छात्राहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याइरहन्छौं, विगतमा कापी–किताब, युनिफर्म दिएका थियौं’, अध्यक्ष केवटले भने ।
सूर्यपूरा माध्यमिक विद्यालयबाट कक्षा आठमा प्रथम भएकी माया बढईले साइकल पाएपछि माथिल्ला कक्षाहरुमा थप मिहिनत गर्न आफूलाई प्रोत्साहन पुगेको बताइन् । ‘पढेर राम्रो अंक ल्याएपछि पुरस्कार पाइन्छ भन्ने महसुस भएको छ । यसले गर्दा मलाई पढाईप्रति थप लगाव बढेको छ’, उनले भनिन्, ‘कक्षा नौं मा पनि प्रथम हुने गरी पढ्छु ।’
पालिकाले साइकल दिएपछि विद्यार्थी दंग थिए । ‘यसरी पुरस्कार पाइन्छ भनेरै सोचेकै थिएनौं’, विद्यार्थी साधना यादवले भनिन्, ‘मेरो पहिला साइकल थिएन, अब विद्यालय जान किनै सहज हुनेभयो । जाँदा–आउँदा समय थोरै लाग्ने भयो । थकान कम हुनेभयो । यसले गर्दा पढाईमा सहजता हुन्छ ।’

ग्रामीण क्षेत्रमा छात्राहरु घरमा अभिभावकलाई काममा सघाउँछन्, त्यसपछि पैदल विद्यालय जाने गर्छन् । ‘हिंड्दा थकानले विद्यालय आउजाउ गर्न गाह्रो, पढाईप्रति रुचि नहुने, विद्यालय छाढ्ने सम्भावना बढ्छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले भने, ‘उत्कृष्टले साइकल पाउँदा अन्यलाई म थप मिहिनत गर्छु भन्ने भावना विकास हुन्छ । यसले हाम्रो शिक्षालाई राम्रो बनाउँछ ।’
कक्षा आठको परीक्षा गाउँपालिका स्तरीय हुने गर्छ । यसैले पालिकाले छात्राहरुको पढाई माथिल्ला कक्षासम्म निरन्तर होस् भनेर मनोबल बृद्धि गर्न साइकल दिएको हो । ‘यसरी छात्राहरुलाई सहयोग दिइयो भने अभिभावक खुशी हुन्छन् । अनि, विद्यार्थीको पढाई निरन्तर गराउँछन्’, अध्यक्ष केवटले भने ।
साइकल पाउने भएपछि विद्यार्थीहरुबीच पढाईमा प्रतिस्पर्धा हुने र पालिकामा शिक्षा थप राम्रो बन्दै जाने विश्वास गरिएको छ । साइकल पाएपछि विद्यार्थीले आफूहरुको विद्यालय जानेआउने समय बचत भएको बताए ।
लेखकको सम्वन्धमा