तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गरिँदै


लुम्बिनी– पुरातात्विक महत्वको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न प्रक्रिया अघि बढाइएको छ । तिलौराकोटमा गौतमबुद्धले २९ वर्ष बिताएका थिए ।
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध छ । यो विश्व पर्यटकीय स्थल पनि हो । विश्व सम्पदा सूचिमा सुचिकृत गर्न सुरुमा संरक्षित स्मारक क्षेत्रको चार किल्ला तोक्ने काम सुरु भएको छ । यसका लागि कपिलवस्तुका सरोकारवालाको सुझाव लिइएको छ ।
तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा तिलौराकोट छ । यहाँ अहिले जीर्ण भइसकेका तीन वटा भग्नावशेष मात्र बाँकी छन् । यी तीनै वटा भग्नावशेषको संरक्षण गरिएको छ भने उत्खनन् पनि भइरहेको छ ।
तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन् । तिलौराकोट प्राचीन शाक्य गणराज्यको राजधानी शहर पनि हो । ‘संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पहिला स्थानीयलाई बुझाउनु पर्ने हुन्छ । हामीलाई कति क्षेत्र चाहिने हो, त्यसको बारेमा धारणा आएपछि बल्ल क्षेत्र निर्धारण गरि प्रक्रिया अघि बढाउनुपर्छ’, कपिलवस्तुका नगर प्रमुख किरण सिंहले भने, ‘पछि क्षेत्रविस्तारका क्रममा विवाद नहोस् भनेर रायसुझाव लिइएको हो ।’
स्थानीयले लुम्बिनी विकास कोष, पुरातत्व विभागले आधिकारिक रुपमा कति क्षेत्र लिने हो, त्यसको धारणा सार्वजानिक गरेर मात्रै संरक्षति क्षेत्र तोक्न आग्रह गरेका छन् । ‘भोलिका दिनमा संरक्षित क्षेत्रमै विवाद भयो भने विश्व सम्पदामा सुचिकृत गर्न समस्या हुनसक्छ, यसैले अहिले नै निक्र्यौल गर्नुपर्छ’, कपिलवस्तु संग्राहलयकी प्रमुख शान्ति शेर्मा लिम्बुले भनिन् ।
तिलौराकोट बुद्धले बाल्यकाल बिताएको भूमि हो भने २५ सय वर्षअघिको गणराज्य पनि हो यो । तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ । यहाँ प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ । यही नै यसको प्रमुख आकर्षण हो ।
२०१४ सालदेखि तिलौराकोटको उत्खनन तथा अन्वेषण भइरहेको छ । उत्खननले प्राचीन तिलौराकोट दरबारका थप प्रमाण भेटिएका छन् । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविद् बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।
यसैले पुरातत्वविद, लुम्बिनी र तिलौराकोटबारे जानाकार, अध्यता, पर्यटन विज्ञ, स्थानीय, लुम्बिनी विकास कोषले विश्व सम्पदामा राख्नु पर्ने आवाज उठाइरहेका छन् । विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले संरक्षित क्षेत्र घोषण गर्दा कसैलाई नकारात्मक असर पर्यो भने त्यसले समस्या हुने भएकाले स्थानीयको राय महत्वपूर्ण भएको बताए ।
उनले भने, ‘अब तिलौराकोट विश्व सम्पदाभित्र पर्छ, यो हाम्रो लागि खुशीको क्षण हो तर हामीले वरिवरीको वस्ती विकास, संरक्षित क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ । त्यही कारण स्थानीयको राय लिइरहेका छौं ।’
लुम्बिनी बौद्ध विश्व विद्यालयका उप–प्राध्यापक गुणाखर गैह्रेले जग्गा अधिग्रहण गर्दा यहाँका किसानलाई घाटा नपरोस् र भोलिका दिनमा विकासको कार्य गर्दा समस्या नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, ‘हामी जुन गतिमा अघि बढीरहेका छौं, सोहीअनुसार स्थानीयको समस्या र रायसुझावलाई पनि मनन् गर्दै अघि बढ्नुपर्छ ।’ स्थानीय रमेश शर्माले सबै स्थानीय तह, रुचि राख्ने व्यक्ति र विभिन्न निकायसंग अझै छलफल हुनु पर्ने र बल्ल संरक्षित क्षेत्र छुट्याइनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्