October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

भैरहवामा पार्किङ समस्या, स्थानीय सरकारसँग छैन दीर्घकालीन योजना

भैरहवा- रुपन्देहीको सदरमुकाम भैरहवामा पार्किङको अभाव छ । सवारी साधनको चाप बढ्दै गएपछि बजार क्षेत्रमा पार्किङ स्थलको व्यवस्थापन नहुँदा सर्वसाधरणले समस्या झेल्नु परेको छ । दीर्घकालीन पार्किङ व्यवस्थापनको योजना भने बनाइएको छैन ।

यहाँ सहरीकरण बढ्दो छ । सहरीकरणसँगै सानाठूला सवारीको चाप बढ्ने क्रम उस्तै छ । ‘बढ्दो जनसंख्या र सवारी चापलाई ख्याल गर्दै पार्किङ क्षेत्र बनाइनु पर्ने हो, त्यसो हुन सकेको छैन’, स्थानीय व्यवसायी सुदीप पाण्डेले भने, ‘सडक किनार र पुटपाथमा पार्किङ गर्दा ट्राफिक कारबाहीमा परिन्छ, अन्यत्र एकछिन सवारी रोक्ने ठाउँ छैन । वर्षौंदेखि हामीले यही समस्या भोग्दै आएका छौं ।’

यहाँ दीर्घकालीन सहरको योजनाविनै सडक संजाल विस्तार, घर, व्यवसायिक प्रतिष्ठान र भौतिक संरचना निर्माण कार्य तीव्र छ । पार्किङ क्षेत्र बनाउन भने बेवास्ता गरिएको छ । बजारमा सडकको एक किनारमा मात्र पार्किङस्थल बनाइएको छ । यो बढ्दो सवारी क्षमताभन्दा निकै कम हो । स्थान अभावमा जेब्राक्रस, निषेधित क्षेत्र, फुटपाथ लगायत जथाभावी सवारी पार्किङ हुँदै आएको छ । यसले प्रहरीलाई ट्राफिक व्यवस्थापनमा समस्या परेको छ भने स्थानीयले पनि उस्तै सास्तै झेल्दै आएका छन् ।

‘घर तथा ठूला व्यवसायिक भवन बन्ने क्रम धेरै छ, सवारी संख्या उसैगरी थपिएको छ । भैरहवा धेरै विकसित सहर भइसक्यो, जति विकसित हुँदै छ, त्यसअनुसार पार्किङ क्षेत्र छैन । यसले सहरको सुन्दरतामा असर गरेको छ नै भविष्यमा पार्किङ समस्या झनै बढ्ने देखिन्छ’, पाण्डे भन्छन्, ‘स्थानीय सरकार अब पार्किङ व्यवस्थापनमा जुट्नुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकाका अनुसार भैरहवामा करिब १८ हजार घरधुरी छन् । यहाँ दैनिक २० हजार भन्दा बढी सानाठूला सवारी गुड्ने गरेको बताइन्छ । यस्ता सवारीले जहाँतही पार्किङ गर्ने गरेका छन् । यसले सहरको सुन्दरतालाई क्षयीकरण गरेको छ नै, सडकमा सवारीलाई गति तय गर्नसमेत समस्या हुने गरेको छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार पार्किङ अभावमै जहाँतही नियमविपरीत पार्किङ गर्ने भैरहवामा मात्रै दैनिक एक सयको हाराहारी सवारी कारबाहीमा पर्छन् । ‘सबैभन्दा पार्किङ समस्या बैंकरोड, गल्लामण्डी र नारायणपथमा छ, मुख्यबजार क्षेत्रमा पार्किङ नहुँदा मनपरी सवारी राखिँदै आएको छ । यसले हामीलाई व्यवस्थापनमा हम्मेहम्मे पर्ने गरेको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दिवशबहादुर जिसीले भने, ‘ठूल्ठूला व्यवसायिक भवन बनाएकाहरुले नै पार्किङ नबनाउँदा समस्या बढ्दै गएको छ ।’

यहाँको सम्भावना देखेरै व्यवसायीले अर्बौ लगानी गरेका छन् । तर, यसरी लगानी गर्ने व्यवसायीले पार्किङ बनाउन भने ध्यान दिएका छैनन् । स्थान अभावमा सर्वसाधरण, व्यवसायी र भैरहवामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत पार्किङले सताउने गरेको छ ।

भैरहवा हुँदै सहज अवस्थामा लाखौ आन्तरिक तथा बाह्य पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी जान्छन् । भैरहवामै दोस्रो ठूलो भन्सार नाका छ भने गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्दै छ । विमानस्थल संचालनमा आउँदा भैरहवामा पार्किङ समस्या झनै बढ्ने देखिन्छ । व्यवस्थित सहरको पहिचान पार्किङस्थल पनि हो । तर, अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्ट मानिने भैरहवाको पार्किङ व्यवस्थापनमा तीन तहका सरकारले न बजेट छुट्याएका छन् न दीर्घकालीन योजना नै बनाएर काम गरेका छन् ।

पार्किङ अभावमा विकसित सहरको पहिचान बनाउँदै गएको भैरहवा सहर झन कुरुप बन्दै गएको छ । सडक किनारदेखि पैदलयात्रु हिँड्ने ठाउँसमेत रोकेर सवारी पार्किङ गरिन्छ । नगरपालिकाले नयाँ बन्ने भवन तथा घरमा पार्किङ एरिया राख्नै पर्ने नीति बनाएको छ । तर, फितलो अनुगमन र घरधनीको बेवास्ताले कार्यान्वयन छैन । नारायणपथमा बनेका कयौं व्यवसायिक भवनले नै विना पार्किङ छ–सात तल्लासम्मको भवन ठडाएका छन् ।

यसरी नियमविपरीत भवन बनाउनेहरुको नगरपालिकाले सहजै नक्शा पास गरिदिने गरेको छ । आफन्त, नातागोता, साथीभाइ, राजनीतिक पहुँच र चिनेजानेकै भरमा नियम नमान्नेहरुको पनि नक्शा पास हुँदा भैरहवामा पार्किङ समस्या झन बल्झिँदै गएको हो । कतिपय सडक फराकिला बनाइए पनि मुख्यबजार क्षेत्रका सडक फराकिला छैनन्, सडकमै विद्युत्का पोल छन् ।

गल्लामण्डीमा सडकमै पोल छन्, ती पोल व्यवस्थापन नहुँदा सवारीलाई गति तय गर्न समस्या छ । सडक बनाउँदा घर भत्काउन नमान्ने घरधनी र नियम कार्यान्वयन नगर्ने नगरपालिकाको कारण आम सर्वसाधरणले पार्किङ समस्या झेल्दै आएका छन् । बैंकरोड, नारायणपथ र गल्लामण्डी, जहाँ बढी भीडभाड हुन्छ, यी ठाउँकै सडक साँगुरा छन् ।

नगरपालिकाले भने सार्वजनिक जमिन अभावमा पार्किङ व्यवस्थापनमा कठिन भएको बताउँछ । सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाले बनाउने र बनाइरहेका सबै भवनहरुमा पार्किङ बनाइने बताए । उनले भने, ‘सुरुदेखि नै सडकसँगै जोडेर घर बनाउने प्रवृत्ति भैरहवामा भयो, यसले पनि पार्किङ समस्या समाधान गर्न कठिन भएको छ । अर्कातर्फ ठूला व्यवसायिक भवन बनाउनेहरुले पनि पार्किङस्थल बनाउन अटेरी गरेका छन् ।’

कारागार स्थानान्तरण गरेर त्यहाँ फराकिलो व्यवसायिक भवनसहित पार्किङ बनाउने नगरपालिकाको योजना भए पनि संघ सरकारले सहयोग नगरेको उनले बताए । ‘सहरको बीच भाग होस् वा अन्यत्र, भैरहवामा खुल्ला ठाउँ छैन । यसैले हामीले चाहेर पनि पार्किङस्थल बनाउन सकेका छैनौं’, उनले भने, ‘अब अण्डरग्राउण्ड भए पनि पार्किङ बनाउनुपर्छ । नियम कडाई गरी नयाँ बन्ने भवनहरुलाई पार्किङस्थल बनाउन लगाउँछौं । हामीले पनि जमिन पाइयो भने पार्किङस्थल बनाउँछौं ।’