January 23, 2025, Thursday
२०८१ माघ १०

छिनभरकै वर्षाले भैरहवा डुवानमा, अर्बौं रकम खर्चेर बनाइएका नालाले थेगेनन्

भैरहवा– करिब तीन घण्टा परेको अविरल वर्षाले भैरहवा जलमग्न भएको छ । आइतबार बिहान ७–१० बजेसम्म भैरहवामा भारी वर्षा भएको थियो । वर्षाका कारण सिद्धार्थनगरका मुख्य सडक डुवानमा परेका छन् । बैंकरोडमा पसलभित्र पानी पस्दा लाखौंको क्षति भएको छ ।

‘एकछिनको पानीले बजार पूरै डुवानमा पर्यो, अधिकांश पसलमा पानी पस्दा लाखौंका सामान भिजेर काम नलाग्ने भएका छन्’, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं व्यवसायी ओमकार गौचनले भने । वर्सेनि डुवानमा पर्दै आएको भैरहवामा सन् २०१२ देखि एशियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा ढल व्यवस्थापन र सडक स्तरोन्नतीका काम भएको थियो ।

Advertisement

करिब तीन अर्ब लागतमा सडक र नाला फराकिला बनाइएको छ । तर, तीन घण्टामात्रै परेको पानीले बजार क्षेत्र पूरै डुवानमा परेपछि नगरपालिकाको आलोचना भएको छ । एडीबीको सहयोगमा सन् २०१२ बाट करिब ८० करोडमा सिद्धार्थनगरमा एकीकृत सहरी विकास आयोजना सुरु भई २०१७ मा सम्पन्न भएको थियो । उक्त बजेटमध्ये ४८ करोडबाट १० किमी सडक, ४० किमी ढल (नाला) निर्माण गरिएको थियो ।

यस्तै, आयोजना समयमै सकेको भन्दै सन् २०१७ बाट एडीबीकै सहयोगमा २ अर्ब ३८ करोड रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सुरु भएको थियो । आयोजना सम्पन्न अवधि २०२३ सम्म रहे पनि २०२० मै सकिएको छ । यसबाट ५० किमी ढल र ३५ किमी सडक निर्माण भएको छ ।

नगपालिकाले आन्तरिक बजेटबाट पनि ढल व्यवस्थापनमा करोडौं खर्चेको छ । तर, बनाइएका नाला साँघुरा हुँदा र सफाई नगर्दा नगरपालिका क्षेत्र डुवानमा परेको हो । यस्तै, स्थानीयले नालामा जथाभावी फोहोर फ्याँक्ने, निर्माण सामाग्री राख्ने गर्दा पानी बहनबाट रोकिने गरेको छ ।

नगर प्रमुख हरिप्रसाद अधिकारीले केही क्षेत्र डुवानमा परेको बताए । उनले भने, ‘हामीले नाला सफाइ गरिरहेका छौं, यसअघि पनि गरेका थियौं तर कतिपय ठाउँमा फोहोर जम्मा हुँदा डुवानमा परेको हो ।’ केही स्थानमा पूराना घरहरु सडकको उचाई भन्दा निकै तल रहेकाले पनि डुवानमा परेको नगरपालिकाले जनाएको छ ।

व्यवसायी गौचनले भने नाला सफा नहुँदा, सँघुरा बनाइँदा डुवानको समस्या भएको बताए । उनले भने, ‘सडकभन्दा नाली धेरै माथि छन्, अर्कातर्फ सफा गर्न नगरपालिका चुकेको छ, यसले गर्दा डुवानमा परेको हो ।’ स्थानीयले प्राविधिक कमजोरीले पनि क्षणभरकै वर्षाले भैरहवा डुवेको आरोप लगाएका छन् ।

गौतमबुद्ध विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयका प्रमुख रामनारायण मिश्रका अनुसार पछिल्लो २४ घण्टामा भैरहवामा ६४ दशमलव २ मिलिलिटर पानी परेको छ । सोमबारसम्म नै भैरहवामा पानी पर्ने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरे । ढल निकास व्यवस्थित बनाइएपछि १२५ मिलिलिटर पानी परे पनि भैरहवा डुवानमा नपर्ने प्राविधिकहरुको दावी थियो । तर आइतबार ६४ दशमलव २ मिलिलिटर पानी पर्दा पनि डुवान भएको हो । यसलाई स्थानीयले नगरपालिकाको प्राविधिक कमजोरी भएको आरोप लगाएका छन् ।

आज बिहान परेको पानीले भैरहवाको बैंकरोडसँगै, प्रहरीटोल, गल्लामण्डी, जनकपथ, भीमकालीपथ, रविपथ लगायतका मुख्य बजार क्षेत्र नै डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको कार्यालय पनि जलमग्न भएको छ ।

नगरपालिकाको कार्यालयमा पानी पस्दा भूइँ तल्ला पूरै डुवेको छ । नगर प्रहरी र कर्मचारी लगाएर पानी बाहिर फाल्ने काम भइरहेको छ । डुवानबाट नगरपालिकाका केही महत्वपूर्ण कागजात र कम्प्यूटरमा समेत क्षति पुगेको छ ।

अर्बौंको योजना सम्पन्न गरिसकेको नगरपालिकाले दीर्घकालीन योजनामाथि नै बेवास्ता गरी सडक तथा डल निर्माण गर्दा डुवानको समस्या फेरि दोहोरिएको हो ।