पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य


भैरहवा – लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार पारिएको छ । धाममा मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ ।
सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए । उनले भने, ‘मूल मन्दिरमा चारवटा ढोकासहितको छानो हुनेछ । छानो ५१ फिट लम्बाइको हुनेछ, यो सम्भवतः काठमाडौंको पशुपतिनाथ मन्दिरभन्दा ठूलो हो ।’
करिब ५ सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । यस्तै, मूल मन्दिरको चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ । ‘मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । यसले थप आआकर्षकता थप्नेछ’, इन्जिनियर न्यौपानेले भने ।

मूल मन्दिरको पूर्वमा आकर्षक मुख्य प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने छ । विभिन्न देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति धामको आकर्षण हुनेछन् । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले जानकारी दिए ।
पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण शुरु भएको धामका रुपमा प्रख्यात रहेको संरक्षक किशोर गौतमले जनाए । यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पुजन गरेको श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा उल्लेख भएको उनले बताए । गौतम बुद्धले पनि पर्रोहा परमेश्वरको दर्शन गरेको इतिहासविदले तर्क गर्दै आएका छन् ।
धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजनामा छ । यस्तै हालको साधुसन्त आश्रमलाई सबलीकरण गरी पुरातात्विक रुपमा मर्मत सुधार गर्ने, महिला तथा पुरुषका लागि पर्याप्त शौचालय बनाइने छ ।

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुली बत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गर्ने, ढल तथा वर्षे पानी निकासको व्यवस्था गर्ने र मन्दिरको आम्दानी वृद्धिका लागि ११ वटा कलात्मक पसल घर बनाइने गरी गुरुयोजना बनाइएको बताए ।
‘यो हिन्दू धर्मालम्बीहरुको आस्थाको स्थल हो, पर्रोहा धामलाई पश्चिम नेपालको पशुपतिनाथका रुपमा विकास गरी धार्मिक पर्यटनको विकास गर्ने हाम्रो लक्ष्य छ । यसैले गुरुयोजना बनाएर काम थालिएको हो, यसलाई हामीलाई मूर्तरुप दिन्छौं’, उनले भने । नगरपालिकाले जनाएअनुसार मूल मन्दिर निर्माण पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने छ । त्यसपछि दोस्रो चरणमा ८ करोड बढी लागतमा अन्य पूर्वाधारहरु बनाइने छ ।
लेखकको सम्वन्धमा