रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन


बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राति वक्तव्य जारी गरिन् ।
राष्ट्रपतिको वक्तव्य पर्खिएर बसेका प्रधानमन्त्रीले मध्यरातमा मन्त्रीपरिषदको बैठक राखे । संसद भंग गरि मध्यावधी चुनावमा जाने सिफारिस मन्त्रीपरिषदबाट गराई (शनिबार बिहान १२ः५० बजे) राष्ट्रपति कार्यालय पठाए ।
सिफारिस पाए लगत्तै (शनिबार बिहान १ः४९ बजे) राष्ट्रपति भण्डारीले सदर गरिन् । उनले संसद भंगको सिफारिस सदर गरि मध्यावधी चुनावको घोषणा गर्दा शुक्रबार राति (शनिबार बिहान) को लगभग २ बजिसकेको थियो ।
गएको पुस यता स्पष्ट रुपमा अस्थिर बनेको र निशानामा आएको संसदको आयु समाप्त हुन शुक्रबार राति र शनिबार बिहानसम्म बालुवाटार, शितल निवासको सक्रियता देखियो ।
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद भंग गरिएको थियो । तर त्यसविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो । सर्वोच्चले संसद विघटन असंवैधानिक भन्दै फागुन २३ गते पुनर्स्थापित गरिदियो । पुनर्स्थापित संसद साढे दुई महिनापछि पुनः भंग भएको छ ।
अब आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा भएको छ ।
मुलुक कोरोना भाइरसको महामारीबाट जोगिनका लागि अधिकांश क्षेत्रमा निषेधाज्ञाको अवस्थामा छ र प्रायः गतिविधिहरु रोकिएका छन् । तर राजनीतिक अस्थिरताको क्रम भने तीव्र गतिमा बढ्दै गएर संसद विघटनसम्म पुगेको छ ।
प्रतिकृया दिनुहोस्