आज देशभर मौसम बदली


भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भारी वर्षाको सम्भावना छ ।
दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू–भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।
उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्