नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित


भैरहवा, जेठ १ । रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ । तर, मालबाहक सवारी साधनबाट आउने कसैको परीक्षण हुँदैन । त्यस्ता सवारीसाधन माल ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्बाध गुड्छन् ।
यसले कोरोना भाइरसको संक्रमणको भय झन बढाएको छ । भारतबाट आउने कुनै मालबाहक सवारीसाधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा पाँचदेखि १५ दिन समय लाग्छ । यो बीचमा सवारीसाधनका चालक, सहचालकको कैयौँ ठाउँमा सामाजिक घुलमिल हुन्छ ।
भारतबाट आउने मानिसको जाँच गर्न नाकामा राखिएको हेल्थडेक्सले मालबाहक सवारीसाधनमा आउनेको परीक्षण गदैन् । स्थानीय प्रशासनले क्वारेन्टिनका रुपमा मालबाहक सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । तर भन्सार कार्यालयले त्यो पालना गरेको छैन् ।

भाइरस संक्रमण नियन्त्रणमा गरेकोे हेलचेक्र्याइँका कारण भन्सारका १९ जना कर्मचारी संक्रमित भएका छन् । संक्रमित कर्मचारी बढ्दै जान थालेपछि प्रज्ञापनपत्र पास गर्न जनशक्ति अभाव देखिएको भैरहवा भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । तर पनि भाइरस नियन्त्रणका लागि केही प्रयास भएको छैन् ।
लकडाउनले सामान ढुवानी गर्न समस्या भएको गाडी चालकहरुको गुनासो छ । बजार बन्द हुँदा खानपिनमा कठिनाई भोगेको उनीहरुले बताए ।
बेलहिया नाका हुँदै दैनिक तीनचार सय मालबाहक गाडी अहिले पनि नेपाल भित्रीरहेका छन् । यी गाडीका चालक र सहचालक गरी दैनिक सातआठ सय भारतीय विना परीक्षण नेपाल प्रदेश गरिरहेका छन् । उनीहरु मुलुकका मुख्य सहरदेखि गाउँबस्तीसम्म पुग्छन् । यसले जोखिमलाई थप बढाइरहेको छ । भारतमा अहिले संक्रमण तीव्र छ । त्यसबाट नेपाल पनि अछुतो छैन ।

जाँच बिना नेपाल प्रवेश गरिरहेका चालकहरु संक्रमण मुक्त हुन सक्दैनन् । महामारीको अवस्थामा मुख्य भन्सार नाकाहरुबाट अत्यावश्यक सामानमात्र ढुवानी हुनुपर्छ । बाँकी सबैको परीक्षणपछि मात्रै विभिन्न जिल्लाहरुमा ढुवानीको अनुमती दिए भाइरस संक्रमण कम हुने छ ।

प्रतिकृया दिनुहोस्