December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

भीम अस्पताल भैरहवामा ओमसतिया गाउँपालिकाका ७२ वर्षीय पुरुषको आफन्तले शव व्यवस्थापन गर्दै । तस्बिरः पब्लिक कुरा

भैरहवा, बैशाख ३० । कोरोना भाइरसको संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।

Advertisement

अहिलेसम्म कोरोनाका कारण तीन सय नौ जनाको मृत्यु भएको छ । नयाँ कोभिड निर्देशिकामा स्वास्थ्य मापदण्ड अपनाएर आफन्त आफैले शव व्यवस्थापन गर्नसक्ने उल्लेख छ । तर अहिलेसम्म मात्र दुई जनाको शव मृतकका आफन्तले व्यवस्थापन गरेका छन् ।

मर्चवारी र ओमसतिया गाउँपालिकामा रहेको मसान घाटमा मृतकको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना गरेर दाहसंस्कार गर्न जिल्ला प्रशासनले अनुमति दिने गरेको छ । बैशाख महिनामा रुपन्देहीका पाँच वटा अस्पतालमा उपचार गराउने क्रममा एक सय ९० जना संक्रमितको मृत्यु भएको छ ।

जसमा लुम्बिनी प्रादेशिक अस्पतालमा ७१, युनिभर्सल कलेज अफ मेडिकल साइनसेजमा ६८, भीम अस्पतालमा ४२, क्रिमशन अस्पतालमा आठ र देवदह मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक सय ४८ जना रुपन्देहीका स्थानीय हुन् भने बाँकी ४२ जना बाहिरी जिल्लाबाट उपचार गर्न रुपन्देही आएका हुन् । यो महिनामा मात्रै जिल्ला आपतकालीन संचालन केन्द्र अन्तरगत नेपाली सेनाले एक सय ८६ जनाको शव व्यवस्थापन गरेको छ ।

मृत्युदर बढ्दा शव व्यवस्थापनमा जटिलता देखिएको छ । अहिले नेपाली सेनाको दुईवटा टोलीले शव व्यवस्थापन गर्दै आएको छ । प्रत्येक दिन मृतकको संख्या बढ्दै गएपछि व्यवस्थापनलाई सहज बनाउन थप टोली बढाउन थालेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।