April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा

भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही सत्ता टिकाउने त कोही सत्ता बदल्ने होडमा हानथाप गर्दैछन् । तर, जनता भने कोरोना महामारीले पिल्सिएका छन् । न अस्पतालमा बेड छन्, न त अक्सिजन ।
उपचार नपाएर कयौंले अनाहकमै ज्यान गुमाइसके । राजनीतिक दल र तिनका नेता भने कुर्सीकै दौडमा केन्द्रित छन् । नागरिकको उपचारमा सरकार निरीह जस्तै छ । कोरोना संक्रमित बेड अभावमा अस्पतालको चिसो भुइँ र बरन्डामा तड्पिँदै छट्पटाइरहेका छन् ।
अस्पतालहरुमा दृश्य मनै थाम्न नसक्ने छ । कोही संक्रमित अक्सिजनको पर्खाइमा मलाई बचाओ–बचाओ भन्दै छन्, कोही चिसोले मर्न थालेँ भनेर एककोहोरो आवाज गुन्ज्याइँरहेका छन् । ती निरीह नागरिकको आवाज कसले सुन्ने ? सरकार आफै निरीह भएपछि ।
आइतबार रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालमा यस्तै दृश्य थियो । संक्रमितका निरीह आवाजहरु गुन्जिरहेका थिए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले संक्रमितलाई नआत्तिन आग्रह गरिरहेका थिए । तर, मृत्युको मुखमा पुगेको आभाष गरिरहेका नागरिक कसरी थामिन सक्थे, त्यो पनि एउटा बेड र अक्सिजनै नपाएका आधारमा ।
अवस्था भयानक बन्दै छ । मृत्युदर र संक्रमितदर उस्तै बढोत्तरी छ । चिसो भुइँमा गुन्जिरहेका संक्रमितका आवाज सुन्ने कसले ? जनशक्ति अभावमा एउटै नर्सले १० बढी संक्रमितलाई रेखदेख गर्नुपर्ने अवस्था छ । बिहान लगाएको पीपीई, माक्स, फेसशिल्ड र बुट रातिसम्म खोल्न पाउँदैनन् । स्वास्थ्यकर्मीलाई चर्पीजाने फुर्सदसमेत छैन ।
संक्रमितको हारगुहार भीममा मात्रै होइन, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि उस्तै छ । यो समस्या लुम्बिनी प्रदेशभर छ । ‘आमालाई एक्कासी श्वासप्रश्वासमा समस्या आयो, दौडाउँदै ल्याएर आएँ, यहाँ आउँदा अक्सिजनै पाउन ६ घण्टा लाग्यो, बेड त बल्ल आज ३ दिनका पाइयो, त्यही पनि संक्रमितको मृत्यु भएर’, आइतबार साँझ भीम अस्पतालमा भेटिएका एक संक्रमितका आफन्तले गुनासो गरे । तीन दिनसम्म उनले आमालाई चिसो भुइँमै राखेर अक्सिजनको सहाराले बचाए ।

स्थानीय, प्रदेश र संघीय सरकार आआफ्नै दाउँमा छन् । प्रदेशमा पनि सत्ता परिवर्तनको खेल छ । दलहरु राजनीतिक जोडघटाउमा व्यस्त छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सामाजिक संजालमै स्टाटस लेख्न र आफ्नो सत्ता टिकाउनै कसरत छ । जनता सडक, अस्पताल र घरका पेटीहरुमा जीवनरक्षाको हारगुहार गर्दैछन् ।


‘चिसोले गर्दा आमाको अवस्था अहिले झनै जोखिममा छ, आईसीयूमा राख्न पाए अलि सहज हुन्थ्यो की, तर अझै पाइएको छैन’, उनले भने । भीम अस्पतालमै भेटिएका ओमसतियाका पुनम पुनमगरले उपचारै नपाएपछि आमाको मुख हेरेर आँशु बगाउनुबाहेक कुनै उपाय नभएको बताए ।
‘राज्य छ भन्ने अनुभूति पनि भएन, यस्तोबेला सरकारले नागरिकलाई बचाउन लाग्नुपर्ने हो तर एउटा बेड त दिन सकेको छैन । कसरी हाम्रा आवाज सुन्छ ?’, उनले भने, ‘अवस्था यस्तो आयो की बेड नदिए पनि सहजरुपमा अक्सिजन दिए धेरैको ज्यान बच्ने थियो ।’
यी राज्यप्रति निरीह र भावुक आवाज हुन् । यो सुन्ने कसले ? स्थानीय, प्रदेश र संघीय सरकार आआफ्नै दाउँमा छन् । प्रदेशमा पनि सत्ता परिवर्तनको खेल छ । दलहरु राजनीतिक जोडघटाउमा व्यस्त छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सामाजिक संजालमै स्टाटस लेख्न र आफ्नो सत्ता टिकाउनै कसरत छ । जनता सडक, अस्पताल र घरका पेटीहरुमा जीवनरक्षाको हारगुहार गर्दैछन् ।
यतीसम्म अवस्था आएको छ, संक्रमित अस्पतालसम्म पुग्न एउटा एम्बुलेन्ससमेत छैन । स्थानीय सरकार एउटा एम्बुलेन्स व्यवस्थापन गर्न नसकेर नागरिकप्रति जवाफहीन बनेका छन् । यस्तो अवस्थामा केही मनकारीहरुले आफ्नो निजी सवारीलाई कोभिड एम्बुलेन्स बनाएर सेवा दिइरहेका छन् ।
भैरहवास्थित भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले बेड अभावमा सबैलाई चाहेजति सेवा दिन नसकिएको बताए । उनी भन्छन्, ‘संक्रमित सिकिस्त अवस्थामा यहाँ आउनुहुन्छ, हामीले जनतन अक्सिजनको व्यवस्था गरेरै भए पनि भुइँमा सुताएर उपचार गरिरहेका छौं, भुइँमा राखेर पनि उहाँहरुको जीवन बचोस् भन्ने हाम्रो मान्यता हो ।’ संक्रमित र आफन्तको विलौना सुनेर आफूहरु पनि भावविह्वल हुने गरेको उनी सुनाउँछन् ।
‘एक त जनशक्ति छैन, अर्कातिर विरामीको चाप अत्यधिक छ । थेग्नै नसक्ने गरी विरामी बढीरहेका छन्, तर हामीले हाँसेर सकेको जति सेवा दिएका छौं, सकभर कसैको ज्यान नजाओस् भनेर रातदिन नभनी सेवामै खटिएका छौं’, उनले भने । उनले नयाँ संक्रमितले बेड पाउन कि त विरामी डिसचार्ज हुनुपर्ने कित कसैको मृत्यु हुनुपर्ने अवस्था रहेको जनाए ।
भीममा रहेका आईसीयू, भेन्टिलेटर, एचडीयू बेड संक्रमितले भरिएका छन् । यस्तै, इमरजेन्सी कक्षका बेड र भुइँसमेत खाली छैनन् । संक्रमित धेरै भएपछि अस्पतालको बरण्डामा टेन्ट टाँगेर उपचार भइरहेको छ । आइतबार रातिसम्म भीममा ७० बढी संक्रमितको उपचार जारी छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेले प्रदेश सरकारले अन्य काम छाडेर संक्रमितको उपचारमा ध्यान दिएको दावी गरे । भीम अस्पताल परिसरमा आइतबार भेटिएका मन्त्री पाण्डेयले भने, ‘हामीले अहिले यो वा त्यो मन्त्रालयको जिम्मेवारी भनेका छैनौं, जसरी हुन्छ विरामीले उपचार पाउनुपर्छ, अस्पतालहरुको क्षमता बृद्धि र जनशक्ति थप गर्नुपर्छ र यो महामारीलाई परास्त गर्नुपर्छ भनेर लागेका छौं ।’
उनले अस्पतालहरुमा बेड थप गर्ने र अक्सिजन अभाव हुन नदिन लागिपरेको बताए । ‘कतिपय बन्द अक्सिजन उद्योग संचालनमा ल्याएका छौं, उद्योगहरुमा रहेका सिलिन्डर जम्मा गरेर अक्सिजन भर्ने काम भइरहेका छन्, नयाँ सिलिन्डर खरिद र व्यवस्थापनको काम भइरहेको छ’, उनले भने, ‘प्रदेश सरकार नागरिकप्रति पूर्ण जिम्मेवार छ ।’
मन्त्री पाण्डेयले पब्लिक कुरासँग कुराकानी गरेर यस्तो बताइरहँदा उनका नजिकै भुइँमा छट्पटाइरहेका संक्रमित र उनीहरुका आफन्तले भने बेड व्यवस्थापन गरिदिन हार गुहार गरिरहेका थिए । भीममा आइतबार २० जना संक्रमित बेड अभावमा भुइँमै तड्पिरहेका थिए । केहीले बाक्लो डसना विछ्याए पनि अधिकांश संक्रमित सल विछ्याएरै भुइँमा सुतिरहेका थिए । सास फेर्न गाह्रो भएर रोइकराइ गरिरहेका थिए भने आफन्तले सम्झाउने कोसिस गर्दै थिए । कोहीले गर्मी भएर हावा हम्किरहेका थिए ।

Advertisement