मध्यपूर्व युद्धले रूपन्देहीका प्लाष्टिक उद्योगलाई कच्चा पदार्थ अभाव


भैरहवा– मध्यपूर्वमा इसराइल–अमेरिका–इरान युद्ध लम्बिएपछि नेपालमा रहेका प्लाष्टिक उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात प्रभावित भएको छ । यस्ता कच्चा पदार्थको मूल्य बृद्धिसँगै आपूर्तिमा असर पुगेको छ । छिमेकी मुलुक भारतले समेत पर्याप्त मात्रामा यस्ता कच्चा पदार्थ पठाउन मानेको छैन ।
कच्चा पदार्थ अभावसँगै रुपन्देहीका प्लाष्टिक र खाद्यान्न उद्योगको उत्पादनमा गिरावट आएको छ । रुपन्देहीस्थित उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्ता कच्चा पदार्थको मूल्य ४० प्रतिशतले बृद्धि भएको छ । उनीहरुका अनुसार प्लाष्टिकजन्य उद्योगमा प्रयोग हुने प्लाष्टिक ‘दाना’ को अभाव भएको छ । यस बाहेक भटमास र सूर्यमुखी तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयात प्रभावित भएको छ ।
अहिले कच्चा पदार्थ अभाव भएपछि बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित उद्योग मारमा परेका छन् । बुटवल औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परिसकेको बताए । उद्योगले यसअघि सम्झौता गरे अनुसारका कच्चा पदार्थ आयात भइरहेको छैन । आवश्यकता भन्दा कम आयात भइरहेको छ । ‘प्लास्टिकजन्य कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भयो । कम्पनीसँगको सम्झौता अनुसार कच्चा पदार्थ उपलब्ध गराउन सकिँदैंन भनिरहेका छन्,’ उनले भने, ‘यस्तै अवस्था हुने हो भने बढेको मूल्यमा पनि कच्चा पदार्थ नपाइन सक्छ भनेर सूचना पनि आइरहेका छन् । यसले झनै अन्योल र अप्ठ्यारो बनाएको छ ।’
प्लास्टिक दाना नपाउँदा प्लाष्टिकजन्य र प्याकेजिङ उद्योगमा संकट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेल्मेट कम्पनी, प्लाष्टिकका कुर्ची, प्याकेजिङका प्लाष्टिक, कार्टुन लगायतका सामाग्री उत्पादनमा पहिलो असर परिरहेको उद्योगीको गुनासो छ । अहिले मौज्दातको सामान सप्लाई भइरहेको र उद्योगको पनि स्टकमा केही सामान रहेकाले अभैm उद्योग चलेका छन् । तर, अबको एकसाता भित्र कच्चा पदार्थ आयात गर्न नसके नेपालकै धेरैजसो उद्योग बन्द हुने रूपन्देही उद्योग संघका पूर्व अध्यक्ष एवं युनाइटेड प्लाष्टिक उद्योगका संचालक एजाज आलमले बताए ।
उनका अनुसार सामाग्री आयातका लागि एलसी खोलेका सामानसमेत भारतले सम्झौता अनुसार दिइरहेको छैन् । भारतीय आपूर्तिकर्ता (सप्लायर्स) कम्पनीले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश पठाइरहेको उनले बताए । ‘प्लास्टिकजन्य दानाको मूल्य ४० प्रतिशतसम्म बढ्दा उद्योगीहरू अप्ठ्यारोमा परिसकेका छन्,’ उनले भने, ‘पेट्रोलियम बाई–प्रोडक्ट्सहरूको धेरै मूल्य बढेको छ । ९ सय डलर पर्ने सामानको मुल्य अहिले १५ सय डलर पुगेको छ ।’ प्लाष्टिकजन्य उद्योगका कच्चा पदार्थको आपूर्ती रोकिँदा प्लाष्टिक पाइप उत्पादन पनि बन्द भएको उनले बताए । त्यसले सरकारी योजनाहरुमा पनि असर गरिरहेको छ ।
भैरहवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख सन्तोष न्यौपानेले फलामजन्य र प्लास्टिकजन्य उद्योगको कच्चा पदार्थ आयात केही प्रभावित भएको हो की भन्ने आफूहरुलाई पनि महसुस भएको जनाए । ‘बाहिर प्रचारमा आएजस्तो अभावै जस्तो हामीलाई लाग्दैन । तर, विस्तारै प्रभावित हुने हो की भन्ने चाहिँ छ’, उनले भने । उनले युद्ध अझै लम्बिए प्रभाव पर्न सक्ने जनाए । अहिलेसम्म भन्सारको राजस्व पनि प्रभावित नभएको उनको भनाई छ ।








प्रतिकृया दिनुहोस्