July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

मुलुकभर रास्वपाको पक्षमा जनलहर

Advertisement

भैरहवा–विहीवार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना र नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा मुलुकभर ठूलो जनलहर देखिएको छ ।

Advertisement

यतिबेला मुलुकभरका निर्बाचन क्षेत्रमा मतगणना जारी छन् । केही निर्बाचन क्षेत्रमा निर्बाचनको परिणाम आइसकेपनि समानुपातिकतर्फको मतगणना जारी छ । केही स्थानमा निर्बाचनको प्राप्त परिणाम र अन्य निर्बाचन क्षेत्रमा जारी मतगणना अग्रताले रास्वपाको पक्षमा जनलहर देखा परेको प्रमाणित गरेको हो ।

बिहीवार भएको मतदानपछि प्राप्त भइरहेका मतको तथ्याङ्कले पुराना र पहिलाका स्थापित राजनीतिक दल तथा शक्तिहरूलाई निकै पछाडि पारेको छ । राजधानी उपत्यकादेखि तराईका जिल्लासम्म रास्वपाको लहरले नेपाली राजनीतिमा नयाँ आयामको उदय भएको छ ।

शुक्रवार साँझसम्मको परिणाम अनुसार, तीनवटा स्थानमा रास्वपाले जित हासिल गरिसकेको छ । भने, १ सय १० स्थानमा अग्रता लिएको छ । रुपन्देहीको पाँचवटै निर्बाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । रुपन्देहीको निर्बाचन क्षेत्र ४ मा झिनो मतले र अन्य क्षेत्रमा रास्वपाले फराकिलो अन्तरले अग्रता पाएको छ ।

रास्वपाबाट काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ बिजयी भएका छन् । काठमाडौँ–१ मा रन्जु न्यौपाने (दर्शना) र काठमाडौँ–६ मा शिशिर खनाल बिजयी भएका छन् । झापा–५ मा रास्वपाका उम्मेदवार बालेन शाह ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै १२ हजार मतको अन्तरले पछि पार्दै अग्रता लिएका छन् ।

रास्वपाका पार्टी सभापति रवि लामिछाने ले पनि अग्रतालाई कायमैं राखेका छन् । धनुषा ३ मा मनिष झा ११ हजार भन्दा बढी मतको अन्तरले अग्रस्थानमा छन् । रुपन्देही–२ मा सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठूलो मतान्तरले पछाडि पारेका छन् ।

शुक्रवार साँझसम्म नेपाली कांग्रेसले २ र नेपाल कम्युनिष्ट पमार्टीले एक स्थानमा बिजय हासील गरेका छन् । नेपाली कांग्रेसबाट मनाङमा टेक बहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन बिजयी भएका हुन् । भने नेपाल कम्युनिष्ट पार्टीबाट पूर्वी रुकुममा पुष्प कमल दाहाल ‘प्रचण्ड’ बिजयी भएका हुन् । नेकपा एमालेले ११ र नेपाली कांग्रेसले १० स्थानमा अग्रता लिएको छ । समानुपातिक प्रारम्भिक मतगणनामा पनि रास्वपाको वर्चस्व देखिएको छ । यसपालीको निर्बाचनमा विशेषगरी बालेन शाहको आगमनले रास्वपाको पक्षमा जनलहर ल्याउन सहज भएको हो ।

‘रास्वपाको पक्षमा अहिले देखा परेको जनलहरले आम नेपाली जनताले सत्ताको नेतृत्वमा परिवर्तन र विकास निर्माण सगैं बिशेषगरि सुशासन र भ्रष्टाचारको अन्त्य खोजेका छन्’ रास्वपाकी महिला नेतृ तथा रुपन्देहीबाट समानुपातिकतर्फकी उम्मेदवार ज्ञानु पौडेलले भनिन्, ‘जनताको यो चाहनालाई पूरा गर्ने जिम्मेवारी अव रास्पाको काँधमा आएको छ ।’