सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य छ : डा.लेखजंग


भैरहवा–चुनावी प्रचारप्रसारलाई तिब्र र ब्यापक बनाउँदै अघि बढेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा.लेखजंग थापाले निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) सुविधा सहितको भैरहवा भन्सार कार्यालयलाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने बताएका छन् ।
घरदैलो अभियानका क्रममा उनले सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् । डा.थापाले नेपाल–भारत खुला सीमाका कारण भन्सार व्यवस्थापन थप प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याउँदै आईसीपी सञ्चालनमा आएपछि राजस्व संकलन वृद्धि, तस्करी नियन्त्रण तथा आयात–निर्यात प्रक्रिया छिटो र सहज हुने विश्वास व्यक्त गरे। उनले भैरहवालाई व्यापारिक नाका मात्र नभई आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
विकासको आयाम थपिँदै गएको रुपन्देहीमा औद्योगिक वातावरण सुदृढ बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउँदै उनले नेपालको पहिलो बिशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा सञ्चालन गर्न सेवा–सुविधा विस्तार गर्ने योजना आफ्नो रहेको जनाए । उद्योगी व्यवसायीलाई सेजमा आकर्षित गर्न कर संरचना, पूर्वाधार, विद्युत आपूर्ति र प्रशासनिक प्रक्रियामा सरलीकरण गरिनुपर्ने उनको भनाइ थियो ।
उनले रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवद्र्धन र निर्यात वृद्धि आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे । ‘रुपन्देहीलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढेका छौं’ उनले भने, ‘नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनबाट मात्र दिगो विकास सम्भव छ ।’
घरदैलोका क्रममा मतदाताले भन्सार व्यवस्थापन, उद्योग सञ्चालन र रोजगारीका विषयमा चासो राखेको उल्लेख गर्दै डा.थापाले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता जनाए । उनले पारदर्शिता, सुशासन र दिगो विकासलाई मुख्य आधार बनाएर अघि बढ्ने बताएका छन् ।








लेखकको सम्वन्धमा