July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सरसफाई र ढल निकास मेरो प्राथमिकतामा छन: राप्रपा उम्मेदवार बोहरा

Advertisement

भैरहवा–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरव बोहरा (क्याप्टेन) ले आफ्नो मुख्य प्राथमिकता सरसफाई, ढल निकास र तटबन्ध व्यवस्थापन रहेको बताएका छन् । रुपन्देही–३, अन्तर्गतका गाउँ, बजार र सहरमा अहिले सरसफाई र ढल निकासको समस्या देखिएकाले आफूले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

मतदानको एक साता अघि चुनाव प्रचार प्रसारलाई तिब्र बनाएका उनले जनतासित परामर्श गरेर उनीहरुका समस्या हल गर्न लागि पर्ने बताए । पछिल्लो समय बोहराले आफ्नो क्षेत्रमा घरदैलो र मोटरसाइकल ¥याली तिब्र बनाएका छन् । प्रत्येक दिन क्षेत्रभरि मतदाता भेटघाटसँगैं खुला प्रचारलाई जोड दिएका छन् । यसरी घरदैलोका क्रममा उनले यस क्षेत्रमा रहेका नदी, खोला तथा तालहरूको दीगो व्यवस्थापन बिना विकास सम्भव नहुने उल्लेख गरेका छन् ।

उम्मेदवार बोहराले तिनाउ, दानव, डण्डा लगायतका नदी तथा खोलामा प्रभावकारी तटबन्ध निर्माण गरी बस्ती र कृषियोग्य जमिनलाई सुरक्षित गरिने प्रतिबद्धता व्यक्त गरे । वर्षेनी बाढी र डुबानका कारण स्थानीयबासीले भोग्दै आएको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो । विशेषगरी ओमसतिया–२ र मायादेवी–८, मा हरेक वर्ष बर्षत्का समयमा डुबान हुने समस्या गम्भीर रहेको उनले् उल्लेख गरे ।

‘डुबानमुक्त क्षेत्र बनाउने हाम्रो लक्ष्य हो,’उनले भने, ‘उचित निकास र तटबन्धको व्यवस्थाले मात्रै जनताको धनजनको सुरक्षा गर्न सकिन्छ ।’ कृषकको हितलाई केन्द्रमा राख्दै खेतियोग्य जमिन जोगाउन विशेष कार्यक्रम ल्याइने जानकारी दिए । सहरी क्षेत्रको सरसफाईलाई समेत अभियानकै रूपमा सञ्चालन गरिने उनले स्पष्ट पारे । नियमित सघन सरसफाई, फोहोर व्यवस्थापनको वैज्ञानिक प्रणाली तथा सौन्दर्यकरणका कार्यक्रम अघि बढाइने उनको योजना छ ।

स्वच्छ, सुरक्षित र व्यवस्थित रुपन्देही–३ निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताउँदै उनले विकास र संरक्षणलाई सँगै अघि बढाउने प्रतिवद्धता जनाए । राप्रपाले अघि सारेको सुशासन र दिगो पूर्वाधार विकासको एजेन्डा अनुसार नै आफूले काम गर्ने उनले दोहर्याए । स्थानीय समस्या पहिचान गरी व्यावहारिक समाधान दिनसक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन् ।