रुपन्देही–३ मा साझा चुनावी मुद्दा : भ्रष्टाचार निबारण, सुशासन, पारदर्शिता र जवाफदेहीता


भैरहवा–चुनावी रणनीतिक एजेण्डा र योजना आ–आफ्नै भए पनि भ्रष्टाचार निबारण, सुशासन, पारदर्शिता र जवाफदेहीताको बिषयमा भने रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरु एउटै मञ्चमा उभिएर सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा रुपन्देही–३ का प्रतिनिधि सभा सदस्यका अधिकांश उम्मेदवारले भ्रष्टाचार निबारण, सुशासन, पारदर्शिता र जवाफदेहीताको सवालमा साझा चुनाबी मुद्दा बनाएर मतदाता समक्ष प्रतिबद्धता जाहेर गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.लेखजंग थापाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै भ्रष्टाचार बिरुद्ध आफ्नो शून्य सहनशीलताको योजना रहेको मतदाता समक्ष सुनाए । ‘भ्रष्टाचार र सुशासनको अभाव अधिकांश सेवाग्राहीले हरेक सरकारी निकायमा पाइला पाइलामा भोग्दै र बेहोर्दै आइरहेका बिषय हुन्’, उनले भने, ‘यसले हाम्रो समाज प्रदूषित बनाएको छ । निम्न बर्गका र निमुखा जनतालाई सहज सेवा पाउनदेखि बञ्चित बनाएको छ ।’
भ्रष्टाचारको अन्त्य र सुशासन नभएसम्म मुलुकमा समृद्धि हुनै नसक्ने जनाउँदै सुशासनको कमीले नागरिक सेवामा ढिलासुस्ती व्याप्त रहेको उनले बताए । यिनै बिकृती र बिसंगती बिरुद्ध आफ्नो उम्मेदवारी भएको उनले जनाए । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विभिन्न नीतिगत त्रुटी र उल्झन रहेको जनाउँदै उनले यसका लागि नीतिगत ति त्रुटीलाई केलाएर कुटनीतिक माध्यमबाट पहल गरिने बताए ।
नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले समाज रुपान्तरणका लागि भ्रष्टाचार निबारण, सुशासन, पारदर्शिता र जवाफदेहीता जस्ता बिषय बाधक रहेको बताए । बिगतमा निर्बाचित कतिपय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुमा जवाफदेहीताको कमी हुँदा जनतामा नेताप्रति ठूलो बितृष्णा पैदा भएको उनले बताए । ‘मैले जनता समक्ष चुनावको वेलामा के प्रतिबद्धता गरेको छु ? भन्नेप्रति पनि उम्मेदवारहरु जवाफदेही हुन आवश्यक छ’, उनले भने, ‘भोटका लागि अनेक सपना बाँड्ने तर निर्बाचित भएपछि भुल्ने परिपाटीले जनतामा बितृष्णा पैदा भएको छ ।’
नेकपा एमालेका उम्मेदवार बासुदेब घिमिरेले सन्तुलित बिकास, सुशासन र भ्रष्टाचार निबारण आफ्नो प्रमुख चुनाबी मुद्दा रहेको बताए । ‘जनमैत्री कानुन निर्माण गर्ने बिषय पनि मेरो उच्च प्राथमिकतामा छ,’ उनले भने, ‘कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँगको राय सुझाव लिन अपरिहार्य छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि बिगतमा पनि आफूले पहल गरेको दावी गर्दै घिमिरेले यसलाई सार्थक परिणाम आउने गरि आफ्नो भूमिका सक्रिय रहने बताए । ‘नीजि क्षेत्र प्रताडित छ । किसानका समस्या उस्तै छन् । भैरहवा लगायत आसपासको क्षेत्रमा फोहरमैलाको समस्या जटिल बन्दै गएको छ’, घिमिरेले भने, ‘मेरो चुनाबी मुद्दा यिनै समस्या समाधानका लागि केन्द्रित छन् ।’
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार फैज अहमद खाँनले अधिकांश सरकारी कार्यालय तथा स्थानीय तहमा सुशासनको कमीले सेवाग्राहीको काम छिटो छरितो नहुने गरेको बताए । पर्यटक मैत्री बातावरण, भैरहवा क्षेत्रको बजार चलायमान, खुल्ला सिमानाको व्यवस्थापन, अवैध कारोवारको नियन्त्रण, यत्रतत्र छरिएका अटो ग्यारेजलाई एकै स्थानमा राखेर व्यवस्थापन र पर्यटन बजार बसाल्नका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमानले शक्तिशाली राष्ट्रहरुको रणनीतिक चपेटामा नेपाल पर्न थालेको बताए । राष्ट्रिय जनमुक्ति पार्टीका मोजिव अलि मुसलमान, उज्याले नेपाल पार्टीका सरोज सिंह चौधरी, आम जनता पार्टीका राधेश्याम तेली गुप्ता, स्वतन्त्र उम्मेदवार जित बहादुर गुप्ता, गोपाल भण्डारीले पनि भ्रष्टाचार निबारण, सुशासन, पारदर्शिता र जवाफदेहीताको बिषयमा आ–आफ्नो चुनाबी प्रतिबद्धता सुनाएका थिए । स्वरोजगारी, फोहाेर व्यवस्थापन, सीपमूलक शिक्षाको उपलब्धता, एकीकृत जाँच चौकी, संघ प्रदेश र स्थानीय सरकार बिचको आपसी समन्वय, भैरहवा नाकाको सुन्दरीकरण तथा व्यवस्थापन लगायतका बिषयबस्तु पनि उनीहरुले उठान गरेका थिए ।
कार्यक्रममा सहभागी मतदाताले निर्बाचनको बेला उम्मेदवारहरुले आफूले गर्न नसक्ने कुराको आश्वासन बाँड्ने, निर्बाचित भएपछि निर्बाचन क्षेत्रमा नफर्किने, जनताको समस्या प्रति उदासीन रहने लगायतका बिषय बस्तुको उठान गरेका थिए
सहभागीले बासुदेव घिमिरेलाई रुपन्देहीमा ३ मा किन आएको ? पहिला एमाले त्याग गरेको भन्ने फेरी उम्मेदवारी किन दिएको ? गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि बिगतमा के योगदान पुर्याउनु भयो ? लगायतका प्रश्न राखेका थिए । लेखजंग थापालाई चिकित्सक पेसा छाडेर किन राजनीतिमा आएको ? रास्वपा सभापति रबि लामिछानेले सहकारी पीडितको पैसा कहिले फिर्ता गर्ने ? लगायतका प्रश्न गरेका थिए । भने, सुशील गुरुङलाई सहकारीको पैसा अपचलन गरेको भनेर रास्वपा सभापती लामिछानेमाथि आरोप लगाउँदै गर्दा काँग्रेस उपाउपभापति धनराज गुरुङमाथिको आरोपमा किन बिरोध नगरेको ? लगायतका प्रश्न गरेका थिए ।
आयोजक संस्था सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले उम्मेदवारहरुलाई जनतामाथि उत्तरदायी बनाउनका लागि यस खालकाे कार्यक्रमको आयोजना गरिएको बताए । ‘निर्बाचनका बेला जनतासँग गरेको प्रतिबद्धता निर्बाचित भएपछि बिर्सने गरेको आरोप आम मतदाताको छ,’ ज्ञवालीले भने, ‘यसैले मतदाताप्रति जवाफदेही बनाउँदै उम्मेदवारलाई आफ्ना योजना मतदाता समक्ष राख्ने अवसरका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’








लेखकको सम्वन्धमा