June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

सिमानाका बासिन्दालाई छैन चुनावप्रति चासो

Advertisement

भैरहवा– रुपन्देहीको सिमावर्ती बासिन्दा आधारभूत आवश्यकताबाट बञ्चित छन् । अधिकांशका घर दशगजासित जोडिएका छन् । दुबै मुलुकका बासिन्दा गाईबस्तु चराउने देखि स–साना कामका लागि ओहोरदोहोर गरिरहन्छन् ।

Advertisement

घरायसी आवश्यकताका सामान किनमेलदेखि दुबै मुलुकमा सिमावर्ती बासिन्दाका नरनाता छन् । त्यसैले नेपाल–भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध रहेको छ भनिन्छ । भारतका बासिन्दा दशगजा पार गरेर नेपाली भू–भागमा बस्तुभाउ चराउन आउँछन् । नेपालबाट पनि त्यसैगरि बस्तुभाउ चराउन भारत पुग्ने गरेका छन् ।

खुला सिमाना भएकाले दिनभरि दुबै मुलुकका बासिन्दा एक अर्काको मुलुकमा ओहोरदोहोर गरिरहन्छन् । नाकामा खटिएका सुरक्षाकर्मीले सोधपुछ गरे पनि रोकटोक गर्दैनन् । दुई मुलुकको सीमा रक्षकका रुपमा रहेका यी बासिन्दा न्यूततम बिकासका पूर्वाधारबाट पनि बञ्चित छन् ।

सीमासम्म पुग्ने सडक व्यवस्थित छैनन् । अधिकांश सडक साँघुरा छन् । भत्किएका सडक मर्मत गरिएको छैन । सडक दायाँबायाँका नाली फोहरले भरिएका छन् । प्रत्येक निर्वाचनमा उम्मेदवारले सीमा क्षेत्रको बिकास गर्ने आश्वासन दिए पनि पूरा भएका छैनन् । बरु, समस्या बढ्दैं गएको स्थानीय बासिन्दा बताउँछन् ।

सिद्धार्थ नगरपालिका–२, का बासिन्दा नन्द कोहारले अहिलेसम्म नेताबाट आश्वासन मात्र मिलिरहेको बताए । उनका अनुसार बस्तीका विद्यालयको स्तरोन्नती भएको छैन । बाटोघाटो पनि व्यवस्थित छैनन् । खानेपानी र सरसफाईको अवस्था नाजुक छ । सबै भन्दा बढी भारतबाट तस्करी गरेर भित्र्याइने सामानका कारण उनी मारमा परेका छन् । उनको पसल भए पनि बिक्री हुँदैन ।

‘दिनरात भारतबाट सामान भित्रिरहेको हुन्छ,’ उनले भने, ‘अनि कहाँबाट मेरो व्यापार हुन्छ ।’ उनका अनुसार पसल सामुन्नेबाट दैनिक उपभोग्य बस्तु ओसार्ने गरिएको छ । खाद्यान्न, चिनी लगायत दैनिक उपभोगका सामान भन्सार छलेर ओसार्ने गरिएको हो । ‘जति भने पनि कसैले रोक्दैनन्,’ उनले भने, ‘पुलिस मिलाए पछि भैगो ।’ यस्ता बिकृति नरोकेका कारण भोट हाल्न मन नलाग्ने उनले बताए ।

सिद्धार्थनगर–२ स्थित फूलपुर नाका दिनभरि व्यस्त हुन्छ । नेपालतर्फ पनि नाकासम्मै घर छन् । दशगजा पारी भारततर्फ पनि बजार छ । दुबैतर्फ घर उचाईमा रहे पनि दशगजा खाडल छ । यही नाका भएर दैनिक दुबै मुलुकका बासिन्दा ओहोरदोहोर गरिरहन्छन् । यहाँ पसल सञ्चालन गर्ने कलावती बनियाँले वडाध्यक्षले आफ्नो घर भत्काइदिएको गुनासो गरिन् ।

‘चुनावको मुखमा आउलान नि भोट माग्न,’ उनले भनिन्, ‘अहिलेसम्म आएका छैनन् ।’ उनका अनुसार एक साता यता नाकामा कडाई गरिएको छ ।’ दुबैतर्फ सुरक्षाकर्मीले खानतलासी नगरी प्रवेश दिँदैनन् । परिचय पत्र अनिवार्य गरिएको छ । तर, सिमावर्ती क्षेत्रमा भोट माग्न उम्मेदवार पुगेका छैनन् । जसले गर्दा चुनावी रौनक सुरु नभएको यहाँका बासिन्दाले बताए ।