June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

भीम थापाः व्यवसायदेखि प्रतिनिधिसभाको उम्मेदवारसम्म

Advertisement

पश्चिम नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट भिम बहादुर थापा (भरत) उम्मेदवार छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहेका थापा स्थानीय तहमा कार्यकाल पुरा गरेका समाजसेवीका रूपमा चिनिन्छन् ।

Advertisement

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थापाले आफ्नो कार्यकालमा नगरको जग बसाल्न र विकासका योजनाहरूलाई गति दिन महत्वपूर्ण भूमिका गरेका थिए । उनको यही प्रशासनिक अनुभव र जनस्तरको पकड नै यसपटकको उम्मेदवारीको मुख्य आधार बनेको यहाँका पाकापुस्ताहरु बताउँछन् ।

संघीयता कार्यान्वयनको पहिलो चरणमा सुनवलको संस्थापक नगर प्रमुख निर्वाचित हुनु थापाको राजनीतिक जीवनको कोशेढुङ्गा सावित भयो । शून्य अवस्थाबाट नगरपालिकाको संरचना खडा गर्ने, स्रोत जुटाउने र विकासको प्रारम्भिक गुरुयोजना बनाउने श्रेय उनलाई नै जान्छ ।

उनी काँग्रेस भित्र लोकप्रिय मानिन्छन् । संस्थापक नगर प्रमुख हुँदा उनले देखाएको काम र कोभिड कालमा गरेको उदाहरणीय कार्यलाई स्थानीयले अहिले निर्वाचनको मुखमा स्मरण गर्न थालेका छन् ।

नगर प्रमुखको पाँच वर्षे कार्यकालमा सरकारी गाडी र तलब–भत्ता जस्ता कुनै पनि आर्थिक सुविधा नलिई स्वयंसेवकका रूपमा काम गरेर थापाले सुशासनको नयाँ मानक स्थापित गरेका थिए । पदमा पुगेर व्यक्तिगत लाभ लिनेहरूको भिडमा आफ्नै निजी साधन चढेर जनताको काम गरेका कारण थापा चर्चामा थिए ।

त्यस्तै, कोरोना महामारीको समयमा जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर नागरिकको ज्यान बचाउन उनले खेलेको भूमिकालाई अहिले पनि सुनवलवासीले गौरवका साथ सम्झने गर्छन् । यही जनसेवाको जगमा उभिएर थापाले यसपटक क्षेत्र नं. २ को भौतिक र सामाजिक विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष हुन् । संघको अध्यक्षको रूपमा उनले निजी क्षेत्रको हकहितका लागि मात्र लडेनन्, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेले । निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उनको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरू माझ लोकप्रिय छन् ।

थापाले यसपटकको निर्वाचनमा ‘भौतिक विकास र आर्थिक रूपान्तरण’ लाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । उनका अनुसार क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जालको स्तरोन्नति, व्यवस्थित सहरीकरण र कृषि पूर्वाधारको निर्माण अनिवार्य छ ।

क्षेत्र भित्रका रणनीतिक सडकहरूको कालोपत्रे र नयाँ सडक सञ्जाल विस्तार, स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि बजार र शीतभण्डारको व्यवस्थान, औद्योगिक वातावरण निर्माण गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा परिवर्तन मुख्य चुनावी एजेण्डाहरू उनका छन् ।

पार्टीभित्र र बाहिर पनि मिलनसार र स्पष्ट वक्ताका रूपमा चिनिने थापाको उम्मेदवारीले विशेषगरी युवा मतदाताहरूमा उत्साह जगाएको काँग्रेसको दावी छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय थापाले यसपटकको निर्वाचनमा आफूले जनताको विश्वास जित्ने र क्षेत्र नं. २ लाई विकासको नमूना बनाउने दाबी गरे ।