June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मापदण्ड पालना नगर्ने क्यासिनोबारे के भन्छन् रुपन्देहीका एसपी ? 

Advertisement

भैरहवा– मापदण्ड बिपरीत रुपन्देहीमा सञ्चालित क्यासिनोमा कडाइका साथ अनुगमन गरिने प्रतिबद्धता रुपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले गरेका छन् । रुपन्देही जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि बुधवार पहिलो पटक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले मापदण्ड बिपरीत सञ्चालित क्यासिनो र त्यहाँ भित्र हुने गरेको अवैध क्रियाकलापलाई निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

Advertisement

‘प्रहरीको संरक्षण तथा मिलोमतोमा क्यासिनो मापदण्ड बिपरीत सञ्चालन हुने गरेको भन्ने बिषयका वारेमा हिजोसम्म के भयो ? कसरी भयो ? भन्नेतर्फ म जान चाहन्नँ’, उनले भने, ‘क्यासिनोहरु नियम बिपरीत सञ्चालन हुने गरेको कुरामा म पनि सहमत छु । अन्यत्र धेरै ठाउँमा नियम बिपरीत सञ्चालन छन् र यहाँ पनि अवश्य होलान ।’

उनले भैरहवा लगायत रुपन्देहीको विभिन्न स्थानमा सञ्चालनमा रहेका रात्रीकालिन बजारको पनि कडाइका साथ नियमन गर्ने प्रतिबद्धता जनाए । बिगतमा यदि कुनै प्रहरीको अवैध कार्यमा मिलोमतो भएको भए ति प्रहरी अव सुध्रिने उनले बताए । मापदण्ड बिपरित सञ्चालित क्यासिनो र क्यासिनो लगायत अन्य स्थानमा हुने अवैध क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरीसँगै अन्य निकायहरुको पनि भूमिका हुने र ती निकायहरुसँग पनि समन्वय गरि त्यस्ता क्रियाकलापलाई निस्तेज पारिने भनाइ उनको थियो ।

अबैध र मापदण्ड बिपरीत हुने गतिबिधिका वारेमा कुनै पनि सञ्चारकर्मीले निर्धक्ककासाथ समाचार लेख्न तथा सार्वजनिक गर्नसक्ने सुरक्षाको प्रबन्ध आफूले मिलाउने उनले बताए । नदीजन्य पदार्थको पनि अवैध कारोवार हुने गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । ‘तपाईंहरुलाई सुरक्षाको थ्रेट (चुनौती) कहाँ कहाँ हुन्छ ? जानकारी गराउनुस्’, उनले भने, ‘सुरक्षाका लागि हामीले तपाईंको सुक्ष्म रुपमा निगरानी गरिरहेका हुन्छौं ।’ रुपन्देहीका शान्ति सुरक्षाको अवस्थालाई अझ प्रभावकारी बनाउन विभिन्न सुरक्षा रणनीति तयार गरिएको र हरेक दिन सुरक्षा योजना वारे अध्यावधिक गरिने उनले जनाए ।

जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीको पछाडी प्रहरी लागेको र अपराधिक प्रवृत्तिका फरार कैदीबन्दीका कारण सुरक्षाको दृष्टिले भयभित हुनु पर्ने अवस्था रुपन्देहीमा नरहेको उनले दाबी गरे ।

यसअघि सहभागी सञ्चारकर्मीहरुले मापदण्ड बिपरीत सञ्चालित क्यासिनोको बारेमा समाचार प्रकाशन तथा प्रशारण गर्दा विभिन्न धम्की आउने गरेको र स्वयम् सुरक्षाकर्मीकै भूमिका शंकास्पद हुने गरेको, मापदण्ड बिपरीत सञ्चालित क्यासिनो लगायत अन्य अवैध गतिबिधिमा सुरक्षाकर्मी र प्रशासनिक निकायकै कर्मचारीको मिलोमतो रहने गरेको लगायतका कुरा राखेका थिए ।