June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनीमा तेस्रो बर्ड फेयर सुरु, नेपालमा १९ प्रजातीका चरा संकटमा

Advertisement

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो चरा महोत्सव सुरु भएको छ । पोखरा पंछी समाजद्वारा आयोजित महोत्सवमा नेपालसहित विश्वका दर्जन मुलुकका चरा विज्ञको सहभागिता छ । महोत्सवमा बोल्दै विज्ञहरुले विश्वबाटै केही प्रजातीका चराहरु संकटग्रस्त रहेको जनाएका छन् । विज्ञहरुका अनुसार नेपाल मात्रै १९ प्रजातीका चरा संकटग्रस्त अवस्थामा छन् । नेपालमा पाइने ९ सय ३ प्रजातीका चरा मध्ये १९ वटा संकटग्रस्त भएका हुन् ।

Advertisement

चरा बिज्ञ डा. हेम सागर बरालले बर्ड फेयरमा पहिलो पटक चरा संरक्षण गर्ने उद्देश्यले संरक्षणकर्मीको भेला भएको बताए । बर्ड फेयरमा नेपाल समेत ताइवान, फिलिपिन्स, स्पेन, भारत लगायतका देशबाट संरक्षणी सहभागी छन् । बरालका अनुसार नेपालमा पाइने चरामध्ये १९ प्रजाती संकटग्रस्त, ७ प्रतिशत संकट निकट र २ प्रतिशतका बारेमा जानकारी हुन सकेको छैन । ‘नेपाल विश्वका चराको संगमस्थल हो’, उनले भने, ‘चराहरुले राजनीतिक सीमा चिन्दैन । त्यसैले बासस्थानको ग्यारेन्टी गरी संरक्षण गर्न जरुरी छ ।’

उनले बोल्न नसक्ने चराका लागि महोत्सव मार्फत आफूहरु ऐक्यवद्ध भएको जनाए । उनले भने, ‘चरा संरक्षणमा समुदायको योगदान भुल्न हुँदैन । त्यसैले हातेमालो गरेर चरा संरक्षण गर्नुपर्छ ।’ कार्यक्रममा लुम्बिनी बौद्व विश्व विद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध र चराका बारेमा प्रस्तुति दिएका थिए । बुद्धले घाइते राजहंसको उपचार गरेर चरा संरक्षणको सन्देश दिएको उनले बताए । कार्यक्रमको एसियन बर्ड फेयर काउन्सिलका कार्यकारी भिक्टर वाइ युले उद्घाटन गरेका थिए । सो अवसरमा उनले चरा संरक्षणमा विश्वभरी यससँग सरोकार राख्ने एकजुट हुनुपर्नेमा जोड दिए ।

लुम्बिनीको आध्यात्मिकसँगै चरा र पर्यापर्यटनका आकर्षण उजागर गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रममा सहभागी हुन विभित्र जिल्लाबाट संरक्षणकर्मी लुम्बिनी आएका छन् । दुई दिन संचालन हुने बर्ड फेयरअन्तर्गत दुई स्थानमा कार्यक्रम गरिनेछ । विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्मी, चराविद् र विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा विभिन्न सात विषयमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी भइरहेको छ ।

स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीभित्र थाई भिजिटर सेन्टर र बेबी बुद्धनिर चराका विभिन्न स्टल राखिएको छ । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिनेछ । चरा प्रजाति, जैविक विविधता र चराका महत्वपूर्ण बासस्थानको संरक्षणका लागि सचेतना जगाउन कार्यक्रम गरिएको हो ।

स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघसंस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसँगै पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए ।

कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मी सहभागी छन् । त्यस्तै भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ, स्पेन र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था र टुर अपरेटर लिडर सहभागी छन् । फेयरमा बीटूबी कार्यक्रम पनि गरिनेछ । कार्यक्रमले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि मुलुककै उत्कृष्ट स्थल भएको आकर्षण उजागर गर्ने नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । बर्ड फेयर लुम्बिनीको पर्यटन विकासका लागि कोसे ढुंगा साबित हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए ।