June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

लुम्बिनी विकास कोषबाट प्रताण्डित भएको स्थानीयको गुनासो

Advertisement

लुम्बिनी– बद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायी, जनप्रतिनिधि र भिक्षुहरुले आफूहरु लुम्बिनी विकास कोषबाट प्रताण्डित भएको गुनासो गरेका छन् । उनीहरुले स्थानीयको जनभावना र लुम्बिनी बुझेका पदाधिकारी नियुक्त नहुँदा वर्षौंदेखि पेसा व्यवसाय गर्दै आएका व्यवसायी तथा मजदूरहरु पीडित बनेको जनाए । बिहीबार लुम्बिनीमा उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी विकास कोषले आफूहरुको आवाज नसुने प्रतिकारमा उत्रिनेसम्मको चेतावनी दिए ।

Advertisement

पछिल्लो समय विकास कोषले जथाभावी ट्याक्सी पार्किङ र माला विक्रीलाई व्यवस्थित गर्ने भन्दै लुम्बिनी भित्रबाट अन्यत्र सार्न खोजेको छ । तर, स्थानीयले वर्षौदेखि आफूहरुलाई कोषले ठाउँ सारेको सार्यै गरेको, व्यवसाय गर्ने वातावरण बनाउन नदिएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले स्थानीयलाई उठिबास लगाउने काम शैह्य नहुने जनाए । उनले प्रतिकारमा उत्रिन समेत तयार रहेको चेतावनी दिए । ‘अझै पनि स्थानीयको माग नसुने हामी कुटपिट गर्न पनि पछि हट्दैनौं’, उनले भने, ‘हाम्रो चेतावनी अन्तिम हो र यसको अन्त्य पनि नराम्रोसँग हुन्छ ।’

गुप्ताले जनप्रतिनिधिको समेत फोन नउठाई कोषका पदाधिकारीले पर्यटन व्यवसायीदेखि मजदूरसम्मलाई विस्थापित गर्न खोजेको आरोप लगाए । ‘स्थानीयको आस्थामाथि चोट पुर्याउने काम हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन’, उनले भने, रोजीरोटी खोसेर, विहार भत्काएर, दुःख दिएर लुम्बिनीको विकास हुँदैन । यसमा विकास कोषले ध्यान देओस् ।’

राजकीय बौद्ध विहारका भिक्षु सागर धम्मले धर्मस्वामी महाराज बुद्ध विहार, राजकीय बुद्ध विहार भत्काउन र स्थानीयले वर्षौंदेखि मुण्डन गर्दै आएको स्थल सार्न खोजेको भन्दै रोस प्रकट गरे । उनले माला व्यवसायीलाई बिस्थापित गर्न खोजेको, आध्यत्मिक र धार्मिक गतिविधि नभएको जनाउँदै कोषमा पदाधिकारीको मनपरी चलिरहेको गुनासो गरे । ‘पदाधिकारीलाई कुनै मतलब छैन, उनीहरुले मनपरी गरेका छन् । मायादेवी मन्दिर बन्नु भन्दा पहिलाका संरचना भत्काएर के गर्न खोजिएको हो, बुझ्न सकिएको छैन’, उनले भने, ‘मनपरी हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

लुम्बिनी बचाऔं महाअभियानका अध्यक्ष रामविकास चौधरीले विकास कोषले यसअघि आफूहरुसँग गरेको सम्झौता पालना नगरेको जनाए । उनले सम्झौता कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘हामीसँग एउटा सम्झौता गर्ने तर काम अर्कै गर्ने भइरहेको छ’, उनले भने, ‘मनपरी गर्ने तन्त्र कसैलाई छुट छैन ।’

इ–रिक्सा व्यवसायी फणीन्द्र शर्माले पेसा गरेर खान पनि नदिएर ट्याक्सी र रिक्सा चालकलाई कोषले दुःख दिएर स्थानीयलाई लखेट्न खोजेको बताए । माला व्यवसायी विनोद प्रधानले विकास कोष स्थापना हुनुभन्दा पहिलेदेखि व्यवसाय गर्दै आएका माला व्यवसायीलाई कोषले ठाउँ सारेर हैरानी दिएको जनाए । उनले लुम्बिनी विकास कोष भएको अनभूति नभएको बताए । कोषको सकारात्मक सोंच नै नभएको उनको भनाई छ । पर्यटक गाइड राजले मायादेवी मन्दिरको आध्यामिकता नभएको बताए । कोषकै कारण आध्यत्मिकता नै हराउँदै गएको उनको चिन्ता छ ।

पर्यटन व्यवसायी कृष्ण बहादुर गुरुङले लुम्बिनीका नाममा विकास कोषका पदाधिकारी र कर्मचारीले पैसा कमाउन चलखेल गरिरहेको आरोप लगाए । उनले लुम्बिनी प्रवर्द्धनका कार्यक्रम नहुँदा पर्यटन क्षेत्र धरासायी भएको जनाउँदै कोषले लुम्बिनीबारे राम्रो सोच नै राख्न नसकेको जनाए ।

लुम्बिनी भित्र व्यवसाय गर्दै आएका माला व्यवसायी, ट्याक्सी पार्किङ, मुण्डनस्थल लगायतका विषयमा लामो समयदेखि कोषसँग स्थानीयको विवाद हुँदै आएको छ । कोषले व्यवसाय र पार्किङस्थल सार्दै आइरहेको छ भने स्थानीयले आफूहरुलाई बेवास्ता गरेर पर्यटक नआउने ठाउँमा सार्ने गरिएको गुनासो गर्दै आएका छन् । कोषले भने लुम्बिनी भित्रको शान्ति कायम गर्न व्यवसायी र पार्किङस्थल व्यवस्थापन गर्न लागेको जनाएको छ । हाल चार नम्बर गेटको भित्रपट्टी व्यवसायीले माला व्यवसाय र ट्याक्सी चालकले पार्किङ गर्दै आएका छन् ।