July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

सम्झनामा पत्रकारत्रय पन्त, चौहान र शर्मा

Advertisement

स्थापनाको एक दशकमा लुम्बिनी प्रेस क्लबले आफ्नो उचाईलाई विश्वमाझ चिनाउन सफल भएको छ । २०७२ साल पुस १४ गते बिधिवत रुपमा दर्ता भएको क्लबले सञ्चार र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेर विश्वमाझ आफ्नो दर्ज गर्न सकेको छ भन्न पाउँदा खुशीले गदगद बनाएको छ । क्लब स्थापनाको मौलिकताका विषयमा तपाईं हामी धेरैजना जानकार नै छौं । संस्कृति शंरक्षण, मनोरञ्जन तथा भैरहवा, लुम्बिनी, मर्चवार र धकधईका पत्रकारहरुबीच एकता र भाइचारा बृद्धिका लागि देउसी–भैलो खेल्दै गर्दा जन्मिएको क्लबले एक दशक पुरा गर्दै गर्दा तीनजना होनाहार पत्रकारलाई गुमाउनु परेको छ ।

Advertisement

स्थापनाकालदेखि नै क्लबमा सक्रिय रुपमा काम गर्दै आउनु भएका पत्रकार तथा क्लबका सल्लाहकार चेतन पन्त, संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मा तथा सदस्य विन्दुकुमार चौहानले अल्पायुमै आफ्नो ज्यान गुमाउन पुग्नुभयो । क्लबको बलियो पिलरको रुपमा रहनु भएका तीनैजना सदस्यहरुको अभावले क्लबमा सधै अपुरो महशुस भइरहेको छ । पत्रकारितालाई प्रमुख पेशा बनाएर जनताको आवाज बोल्दै र लेख्दै आउनु भएका पत्रकारहरु पन्त, शर्मा र चौहान मध्ये पन्त र शर्माको प्राणघातक रोग क्यान्सरका कारण ज्यान गुमाउनु परेको हो भने चौहानको कोभिड–१९ का कारण ज्यान गएको हो ।

पत्रकारत्रय पन्त, शर्मा र चौहान पत्रकारिता र क्लबको हरेक गतिबिधिमा पूर्ण निष्ठाका साथ काम गर्दै आउनु भएको थियो । क्लबको हितका लागि हरपल सल्लाह सुझावसहित उहाँहरुको उपस्थितिले क्लबको गरिमा सधैं उचो राख्न सघाएको थियो । उहाँहरुको योगदानलाई सामान्य रुपमा भए पनि स्मरण गर्ने गरी सामान्य जीवनी कोर्ने कोशिष गरेको छु । निकै कम समयमा आफूलाई जानकारी भएसम्मका उहाँहरुले पत्रकारितामा गरेको योगदान यहाँ स्मरण गर्न खोजेको छु ।

पत्रकार चेतन पन्त
नेपाली पत्रकारिता जगतका एक प्रतिष्ठित व्यक्तित्वको रुपमा चेतन पन्तले आफ्नो नाम समाजमा दर्ज गर्नु भएको थियो । टेलिभिजन पत्रकारितामा मार्फत् आफ्नो सञ्चार यात्रा शुरु गर्नु भएका पन्तले पछिल्लो दशकमा लुम्बिनी र बौद्ध संस्कृतिको प्रचार प्रसारमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको थियो । लुम्बिनी प्रेस क्लबको संस्थापक सल्लाहकारको रुपमा योगदान पु¥याउनु भएका पन्तले क्लबमा आबद्ध सबै सदस्यहरुलाई निष्ठाका साथ पत्रकारिता गर्न प्रेरित गर्नु भयो । पत्रकारिता गर्दै गर्दा प्राणघातक रोग क्यान्सरबाट पीडित हुनु भएका पन्तले आफ्नो रोगलाई एकातर्फ च्यापेर क्लबका कार्यक्रममा उपस्थिति जनाउनु हुन्थ्यो । उहाँको खटाई र प्रदान गर्ने प्रेरणा हाम्रा लागि सधैभरी मार्गदर्शन बनिरहने छन् ।

६६ वर्षको उमेरमा भएको पन्तको निधनले नेपाली मिडिया क्षेत्रमा एक ठूलो रिक्तता सिर्जना गरेको छ । उहाँले निधनले क्लबमा त कहिल्यै नपुरिने खाडल परेको छ । पन्तको पत्रकारिता यात्रा २०४५ सालमा सुरु भएको थियो । ३६ वर्षसम्म पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु भएको थियो । उहाँले नेपाल टेलिभिजन, इमेज टेलिभिजन र स्पेसटाइम नेटवर्क जस्ता प्रमुख मिडिया संस्थाहरूमा काम गर्नु भएको थियो । टेलिभिजन पत्रकारिताबाट बिस्तारै बाहिरिनु भएका पन्तले पछिल्लो दशक लुम्बिनी र बौद्ध संस्कृतिको प्रचार–प्रसारमा योगदान दिनुभयो । लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि पन्तले फोटो तथा भिडिओ प्रदर्शनी गर्दै आउनु भएको थियो ।

सन् २०१० मा पन्तले बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युब च्यानलबाट लुम्बिनीको प्रबद्र्धन गर्नु भएको थियो । यिनै प्लेटफर्महरू मार्फत उहाँले लुम्बिनी, कपिलवस्तु, रामग्राम, र भारतका बौद्ध स्थलहरूको बारेमा नेपाली र अंग्रेजी भाषामा वृत्तचित्रहरू निर्माण र प्रसारण गरेर योगदान पुर्याउन भएको थियो । यो प्रयास उहाँको व्यक्तिगत लगानी र प्रयासको परिणाम थियो ।

पन्तको प्रभाव नेपालको सीमाभन्दा बाहिर पनि फैलिएको थियो । उहाँले अमेरिकाको सान फ्रान्सिस्कोमा रहेका नेपाली विद्यार्थीहरूलाई लुम्बिनीको बारेमा प्रशिक्षण दिने काम समेत गर्नु भएको थियो । जहाँ गए पनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने एउटै उद्देश्य थियो । पन्तको निधनले नेपाली पत्रकारिता र लुम्बिनी प्रचार अभियानमा एक ठूलो क्षति पुर्याएको छ । पन्तको समर्पण, प्रतिबद्धता र लुम्बिनी तथा बौद्ध संस्कृतिप्रतिको प्रेमले उहाँलाई सधैं स्मरण गरिरहने छ ।

पत्रकार मनोरञ्जन शर्मा
नेपाली पत्रकारिताका ‘सादगी’ व्यक्तित्वका रुपमा पत्रकार मनोरञ्जन शर्मालाई लिन सकिन्छ । नेपाली पत्रकारिता आकाशको एउटा उज्यालो नक्षेत्रको रुपमा उदाएको उक्त पात्र पत्रकारिताबाटै केही गर्नु छ भन्दाभन्दै सदाका लागि अस्ताउन पुग्यो । पत्रकारिता र समग्र समाजमा कहिल्यै नबिझाउने नाम र पत्रकारको रुपमा आफूलाई उभ्याउनु भएको थियो, पत्रकार शर्माले । पत्रकारिता क्षेत्रमै क्रियाशील रहेकै बखत २०८२ साल असोज ४ गते पत्रकार शर्मा सधैंका लागि अस्ताउनु भयो । दुई दशकसम्म मसी र अक्षरको माध्यमबाट समाज र देशलाई सुसूचित गराउनु भएका अनुभवी पत्रकार शर्माको ५२ वर्षको अल्पायुमै निधन भयो । उहाँको निधनले विशेष गरी लुम्बिनी प्रदेश र समग्र नेपाली पत्रकारिता जगतलाई स्तब्ध बनाएको छ ।

पाल्पाको माटोमा जन्मिएर भैरहवालाई आफ्नो मुख्य कर्मथलो बनाउनु भएका शर्माले पत्रकारितालाई पेशा मात्र होइन, एउटा धर्म मान्नु हुन्थ्यो । नेपाल वान टेलिभिजनबाट सुरु भएको उहाँको यात्रा कारोबार राष्ट्रिय आर्थिक दैनिकसम्म आइपुग्दा दर्जन बढी मिडियामा काम गरेका अनुभव थियो । आफ्नै सम्पादनमा शुरु भएको न्यूज ओके साप्ताहिक पत्रिका मार्फत् स्थानीय मुद्दाहरूलाई राष्ट्रिय बहसमा ल्याउन खेलेको भूमिका सदैव स्मरणीय रहनेछ ।

मनोरञ्जन केवल आर्थिक वा राजनीतिक रिपोर्टिङमा मात्र सीमित रहनु भएन । उहाँ नेपाल खेलकुद पत्रकार मञ्च, पाल्पा शाखाका संस्थापक अध्यक्ष समेत रहनु भएको थियो । खेलकुद पत्रकाारितामा बिशेष रुचि र दख्खल राख्ने शर्माले ओझेलमा परेका खेलाडीहरूका कथालाई बाहिर ल्याउने र खेलकुद पूर्वाधारका लागि कलम चलाउने गर्दै आउनु भएको थियो । उहाँको लेखनमा सधैं स्पष्टता र तथ्यको गहिराइ हुन्थ्यो । जुन आम पत्रकारले सिक्नु पर्ने कुरा हो ।

विगत दुई वर्षदेखि पित्त थैलीको क्यान्सरजस्तो जटिल रोगसँग लडिरहँदा पनि उहाँले आफ्नो लेखनको रहर र हिम्मतलाई कहिल्यै मर्न दिनुभएन । अस्पतालको शैयामा रहँदा होस् वा उपचारका कठिन क्षणहरूमा, उहाँको अनुहारको त्यो सौम्य मुस्कान र सधैं केही नयाँ गरिरहने उत्साह धेरैका लागि प्रेरणाको स्रोत थियो । सरल जीवन र उच्च विचारका धनी शर्माले कहिल्यै शक्तिको पछाडि नदौडी आफ्नो सिद्धान्तमा अडिग रहेर पत्रकारिता गरिरहनु भयो ।

पत्रकार बिन्दुकुमार चौहान
पत्रकार विन्दुकुमार चौहान मधेशमा बसेर निर्भीक रुपमा पत्रकारिता गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँलाई धेरैले युद्ध पत्रकारको रुपमा चिन्ने गर्छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा बसेर पत्रकारिता गर्दै आउनु भएका चौहानले लुम्बिनीको पर्खाल भित्रको मात्रै होइन पर्खाल बाहिरको पनि रिपोर्टिङ गर्दै आउनु भएको थियो । लुम्बिनी र लुम्बिनीबासीको आवाजलाई बुलन्द गर्दै आउनु एका पत्रकार चौहानको ४९ वर्षको अल्पायुमै २०७८ भदौ ३० गते निधन भयो ।
आकस्मिक रुपमा निमोनिया र फोक्सोमा गम्भीर समस्या देखिएपछि उपचारका क्रममा पत्रकार चौहानको निधन भएको थियो ।

२०५६ सालबाट पत्रकारिता सुरु गर्नु भएका चौहान १० वर्षे जनयुद्धकालमा रुपन्देही र कपिलवस्तु लगायतका स्थानबाट विभिन्न संचारमाध्यममा रिपोर्टिङ गर्दै आउनु भएको थियो । दशवर्षे जनयुद्ध कालमा पनि सक्रिय पत्रकारिता गर्नु भएका कारण उहाँलाई युद्ध पत्रकारको रुपमा चिनिने गरिएको हो ।

ग्रामीण क्षेत्रमा बसेर निकै मिहिनत गरेर पत्रकारिता गर्दै आउनु भएका चौहान परिश्रमी पत्रकारका रुपमा स्थापित हुनुहुन्थ्यो । लुम्बिनी प्रेस क्लबमा रहँदा पनि पत्रकारिता र क्लबको निष्ठा उचो पारेर पत्रकारिता गर्दै आउनु भएको थियो । चौहानको निधनले समग्र नेपाली पत्रकारिताको क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ ।

एक दशकको अबधिमा लुम्बिनी प्रेस क्लबले पत्रकारिताका तीन जना दिग्गज अभिभावक गुमाएको छ । भौतिक रुपमा उहाँहरुलाई गुमाए पनि उहाँहरुले कोरेका अक्षरहरू र पत्रकारिताको मर्यादा जोगाउन उहाँहरुले सिकाएका पाठहरू सधैं जीवित रहनेछन् । उहाँहरु शारीरिक र भौतिकरूपमा हामीमाझ नरहे पनि नेपाली पत्रकारिताको इतिहासमा उहाँहरुको नाम सधैं उच्च आदरका साथ लिइनेछ । स्वर्गीय पत्रकारहरु पन्त, शर्मा र चौहानप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।

(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित लुम्बिनी प्रेस बुलेटिन ।)