‘नयाँ र पुराना शक्तिबीच आपसी समन्वय आवश्यक छ’ शुक्ल


भैरहवा–पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले वर्तमान राजनीतिक अवस्थाले संविधान संशोधनको आवश्यकता देखाएको बताएका छन् । उनले देशका विभिन्न चुनौतीहरूको सामना गर्न समग्र मधेसवादी दलहरूको साझा मोर्चा निर्माण गरिएको पनि जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरीमा जसपा नेपालको नगर, जिल्ला तथा प्रदेश कार्यसमिति कार्यालयको उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै शुक्लले नयाँ शक्ति र पुराना शक्तिबीच संघर्ष नभइ आपसी समन्वय र सामञ्जस्य आवश्यकता रहेको बताए । उहाँले जसपा नेपालले सुरुदेखि नै संविधान संशोधनको एजेन्डा अघि सार्दै आएको उल्लेख गर्दै उनले हालका ‘जेन्जी’ युवाहरूले पनि संविधान संशोधनको विषय उठाउन थालेको बताए । ‘अबको आवश्यकता संघर्ष होइन, सामञ्जस्य हो’ उनले भने ।
चुनाव नजिकिँदै गएको सन्दर्भमा मुलुकको राजनीतिक दिशा स्पष्ट देखिन नसकिएको उनले जनाए । ‘ठूला राजनीतिक विश्लेषकहरू समेत अन्योलमा रहेको अवस्था छ’ उनले भने, ‘हामी चुनौतीपूर्ण यात्रामा अघि बढिसकेका छौं । भोलिका दिनमा देशलाई कहाँ लैजान चाहन्छौं भन्ने स्पष्ट लक्ष्य हामीसँग छ ।’
देशमा वैचारिक मतभेद मात्र नभई वैचारिक द्वन्द्वको अवस्था समेत सिर्जना भएको र चुनावपछि पनि यस्तो द्वन्द्व रहिरहने सम्भावना रहेको उनले व्यक्त गरे । जसपा नेपाल लोकतान्त्रिक र परिवर्तनकारी शक्ति भएको र देशलाई समृद्धिको बाटोमा लैजान सक्ने क्षमता राख्ने उनले दावी गरे । संघर्षलाई किनारा लगाउँदै दीर्घकालीन समाधान खोजेर अन्य शक्तिसँग सहकार्य गर्दै देशलाई निकास दिन सकिने भनाइ उनको थियो ।
कार्यक्रममा पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले ढिलै भए पनि जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकीकरणले लुम्बिनी प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बन्ने बताए ।
जसपा नेपालका नेता राम अवतार यादवले वडा तहदेखि सबै नेता–कार्यकर्ता चुनावी अभियानमा सक्रिय भएर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टी नेतृ तथा लोसपा केन्द्रीय सदस्य विजया खत्री, जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियारलगायतलेपनि आ–आफ्नो धारणा राखेका थिए ।








लेखकको सम्वन्धमा