‘आत्मविश्वासले मलाई जिन्दगी जिउन सिकाएको छ’


भैरहवा– लौ मलाई यो समस्या पर्यो ? त्यो समस्या छ भनेर कहाँ छुटकारा मिल्छ र ? जीवन चलाउन मानिसले अनेकौं काम गर्छन् । ‘मेरै साथीहरु कोही किसान छन्,’ सिद्धार्थनगर–१२, का श्यामकरण मुखियाले भने, ‘मेरा साथीहरु पनि कोही मजदुरी गर्छन् । कोही व्यापारी छन् । तर, सबैको एउटै सपना घर खर्च चलाउने र परिवारलाई खुसी राख्ने हो ।’ उनका अनुसार सोचे जस्तो जिन्दगी नहुने रहेछ । कहिलेकाँही जिन्दगीको यात्रामा अनेक हण्डर आइपर्ने उनको अनुभव छ । उनको जन्म सुनसरीको कोशी गाउँपालकिा–१ मा भएको हो ।
जीविकोपार्जनको सिलसिलामा उनी भैरहवा आइपुगेका हुन् । उनको पाँच जनाको परिवार छ । श्रीमती नलिम, जेठी छोरी सृजना, कान्छी छोरी सबिनी र छोरा अनमोल छन् । ‘यहाँसम्मको मेरो यात्रा सुखद् छैन,’ उनले भने, ‘१३ वर्षको उमेरमा काकाको कल्याण चिउरा मिलबाट काम गर्न सुरु गरेँ । त्यहीबेला मिलको पङ्खामा मेरो देब्रे हात पर्यो । गहिरो चोट लाग्यो ।’ एक वर्षसम्म त अस्पतालमै बस्नुपर्यो । तर, पनि झट्टै निको भएन । हातको घाउमा सङ्क्रमण फैलियो । अनि डाक्टरको सल्लाह अनुसार देब्रे हात काट्नुपर्ने अवस्था आयो । हात गुमाएपपछि आफ्नो जीवन ठप्प बने जस्तै बनेको उनले बताए । केही समय के गर्ने भनेर सोच्नै नसकेको उनले सुनाए ।
‘मेरो दुःखको चक्र यत्तिमै सिमित भइदिएन,’ उनले भने, ‘त्यसपछि मलाई हुर्काउने आमाको स्वास्थ्य बिग्रियो । त्यति बेला १७ वर्षको थिएँ । आमालाई क्यान्सर लाग्यो । उपचार गर्दागर्दै ४२ वर्षको उमेरमा आमा बित्नुभयो ।’ आमाको निधनपछि आफ्नोे संसार झन अन्धकार बनेको उनले बताए । आमाको मृत्युले आफूलाई भित्र–भित्रैै टुक्र्याएको उनले बताए । ‘केही समयपछि आफैंलाई सम्हाले । अनि काम खोज्दैं रुपन्देहीसम्म आएँ,’ उनले भने, ‘यहाँ आएर केही महिना माइलो दाइ धनराजसित बसेँ । एउटै हातको सहयोगले भए पनि केही समय रिक्सा चलाएर गुजारा गरेँ ।’ यसरी बाँच्न संघर्ष गरिरहेका बेला उनको नलिम लोधसँग भेट भयो । भेटघाट बाक्लिएपछि उनीहरुबीच माया बढ्यो । सामाजिक मान्यता, जात, रूप–रङ्ग केहीले उनीहरुको सम्बन्धलाई छेक्न सकेन ।
‘२०६५ सालमा हामीले विवाह गर्यौं । विवाह गर्न सहज थिएन,’ उनले भने, ‘सुरुमा ससुरालीले बिरोध गरे । मेरो परिवारले पनि छुट्याउने कोशिस गरे । समाजबाट पनि रुखो वचन सहनु पर्यो ।’ नलिमले पनि मायाको जात हुँदैन भनेर अडान लिइन । साँचो माया भएकाले आज नलिम र आफू खुसी रहेको उनले बताए । अहिले ससुराली परविारसँग पनि सम्बन्ध र माया बढेको उनले बताए । ‘अहिले भैरहवाको शान्तिनगरमा बसिरहेको छु,’ उनले भने, ‘धेरै वर्षसम्म मैले रिक्सा चलाएर गुजारा गरेँ । कोरोना महामारीको समयमा लकडाउन भएपछि यात्रु पाउन छाडे । अनि रिक्सा थन्क्याएँ । तर, साँझ बिहान खान र एकसरो लाउन त कमाउनु पर्ने बाध्यता छँदैं थियो ।’ अनि मौसम अनुसारको व्यापार गर्न थालेको उनले बताए । ‘गर्मी याममा फलफूल र आइसक्रिम बिक्री गर्छु । जाडोमा बदाम बेचेर कमाउँछु,’ उनले भने, ‘अहिले बदाम बिक्री गरेर दिनमा १५ सयदेखि दुई हजारसम्म कमाइ हुन्छ । यही कमाइले गाँस, बास र कपास’ चलेको छ ।’
जेठी छोरी सृजना १० कक्षामा पढिरहेकी छन् । कान्छी सबिना र अनमोल भैरहवाकै सरकारी स्कूलमा पढ्छन् । आफूसित बचत नभएकाले जसोतसो सन्तान पढाइरहेको उनले बताए । ‘छोरी हुर्किरहेका छन् । त्यो देख्दा मनमा चिसो पसिरहन्छ,’ उनले भने, ‘छोरीहरुको बिहे खर्च कसरी जुटाउने होला भन्ने कुराले पिरोलिरहन्छ । तैपनि सकेको काम गर्दै जाऊ, भविष्यमा देखाजाल भन्दैं अगाडि बढिरहेको छु ।’ आफूसित कोशी गाउँपालकिाले दिएको अपाङ्गता भएका व्यक्तिले पाउने पहेंलो कार्ड भए पनि परिचयपत्र भएवापत पाउनुपर्ने सुविधा उपभोग गर्न नपाएको उनले बताए ।
‘सरकारी सुविधा उपलब्ध भइदिएको भए बाँच्नलाई केही सहज हुन्थ्यो कि ?,’ उनले भने, ‘जिन्दगीले मसित धेरै परीक्षा लियो । जस्तोसुकै परिस्थिति भए पनि मुस्कुराउन छाडेको छैन ।’ सुःख दुःखमा श्रीमती नलिम साहारा बनेर उभिन्छिन् । त्यसले पनि आफ्नो आत्मविश्वास बढ्ने गरेको उनले बताए ।
त्यसले अपाङ्ग हुनु हार होइन, परिआएको काम गर्न सकिन्छ भन्ने विश्वास पलाउने गरेको उनले बताए । ‘मनले नहारेसम्म जीवन रोकिन्न । मिहिनत र लगनले जिन्दगीका अप्ठ्यारा जित्न सकिँदो रहेछ,’ उनले भने, ‘मैले गरिरहेको संघर्ष अरुका लागि प्रेरणा बन्न सक्छ । मजस्ता व्यक्तिलाई मेरो अनुरोध छ, अप्ठ्यारो पर्यो भनेर हतास नहुनुस् । संघर्ष गर्दै अघि बढ्नुस् । जीवनमा सुःख भनेकै निरन्तरता रहेछ ।’








लेखकको सम्वन्धमा