June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सम्बन्धको साँघु

Advertisement

भगिनी नाता: सङ्गीतको क्षेत्रमा भारत र नेपालका नेपालीहरुले पहिल्यै सम्बन्धको रेखालाई प्रगाढ पारिसकेका थिए । नेपाली साहित्यले त दुवै क्षेत्रको नातालाई कसिलो बनाइरहेका लिखित इतिहास छँदैछ । सांस्कृतिक सम्पदा, लोकसंस्कृति, संस्कार, परम्परा, तीर्थ पर्यटन, खेलकुद, इको टुरिज्म, साहसिक पर्यटन आदि विषयमा पनि आधिकारिक÷अनाधिकारिक साझेदारी मैत्री नीति अवलम्बन गरेर दुई क्षेत्रले विविध गुरूयोजनालाई कार्यान्वयन गर्दै आएका छन् । यसको गरीमामय तर्जुमा समयले गर्छ । यसअघिका इतिहास पनि समयले बनाउँदै आएको हो ।

Advertisement

प्रायः सबै पेशागत, भावनात्मक एवं नातागत क्षेत्रमा टिस्टावारी सिक्किम र मेचीपारी नेपालको सम्बन्ध स्वच्छ, पवित्र र बलियो छ । यस्तो सकारात्मक स्थितिमा प्रेस क्लब अफ सिक्किमले लुम्बिनी प्रेस क्लबसँगको सहकार्यमा भावी कार्यनीतिमाथि सहमति जनायो । गणतन्त्रको चौथो स्तम्भ पत्रकारिता पेशाको माध्यमबाट गर्न सकिने सम्भावित कैयौं नागरिकमुखी, जनहितकारी र विकासमुखी कार्ययोजना विस्तार गर्ने निर्णय साझा ग¥यो । विकासका दष्टिकोणले निक्र्यौल गर्नु हो भने व्यवसायिक पत्रकारिता विकासको परिप्रेक्ष्यमा हिमाली राज्य सिक्किम र बुद्ध जन्मस्थल पवित्र लुम्बिनीको धरती त्यति धेरै पुरानो होइन, नयाँ पनि होइन । दुवै क्षेत्रले पत्रकारिता पेशामा लेटर प्रेस हेरे । अफसेट प्रिन्टिङ प्रेसको विचित्र तकनिकी प्रणाली पनि देखे । वर्तमानमा आएर डिजिटल क्रान्तिको स्वर्णिम युग अनुभूत गरेका छन् ।

दुवै क्षेत्रको छोटो पेशागत तर स्वर्णिम युगको अनुभवबीच दुवै प्रेस क्लबबीचको मित्रताको प्रतिवद्धताले अर्का स्वर्णिम पक्षहरु पनि देखाएका छन् । प्रेस क्लब अफ सिक्किम र लुम्बिनी प्रेस क्लबले भावी कार्यक्रमको रणनीतिक मस्यौदा तयार पारेर लागू गर्नु निश्चय नै पत्रकारिता विकासको शुभसंकेत हो । जसबाट टिस्टावारी सिक्किम र मेचीपारी लुम्बिनी नेपालका तमाम श्रमजीवी पत्रकारहरुलाई लाभान्वित बनाउने सुखद् अपेक्षा गरिएको छ ।

सन् २००२ मा स्थापित प्रेस क्लब अफ सिक्किमले आफ्नो दुई दशकीय यात्रा पुरा गरिसकेको छ । यसअवधि अर्थात् २०२२ मा लुम्बिनी प्रेस क्लबसित औपचारिक भगिनी सम्बन्ध स्थापित ग¥यो । यो आफैमा एक ऐतिहासिक शुरुवात हो । किनकि, यसभन्दा अघि सिक्किमी पत्रकारहरुको कुनै पनि आधिकारिक संस्थाले सिक्किमदेखि बाहिर पत्रकारिता क्षेत्रसँग आवद्ध कुनै पनि संस्थासँग औपचारिकतापूर्वक सम्बन्ध जोड़ेको थिएन । प्रेस क्लब अफ सिक्किमका तत्कालीन अध्यक्ष शेखर खवासको नेतृत्वाधीन कार्यकारी समितिले दुई प्रेस क्लबबीच सम्बन्धको ऐतिहासिक साँघु निर्माण गर्न सफल भयो ।

परिणामस्वरुप, प्रेस क्लब अफ सिक्किमका महासचिव डीआर दुलालको नेतृत्वमा पहिलोपल्ट लुम्बिनीको पवित्र धरतीमा पाइला टेकेको थियो । यसरी आधिकारिक भ्रमणमा लुम्बिनी पुगेका पत्रकारहरुको जम्बो टोलीले भगवान बुद्धको पवित्र जन्म नगरी लुम्बिनीको पवित्र भूमिलाई साक्षी राखेर भगिनी सम्बन्धको औपचारिक दुईपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका थिए । लुम्बिनी प्रेस क्लबका तत्कालीन अध्यक्ष नरेश केसीको अगुवाइमा औपचारिक सम्झौता भएपछि भावी कार्यनीतिको खाका तयार भएको थियो । यस समझदारीले दुवै क्षेत्रका पत्रकारहरुबीचको सम्बन्धमा प्रगाढता बढेको छ । जसको सोझो सम्बन्ध तीर्थ पर्यटन, शोधआधारित तथा खोजमूलक पत्रकारिता, कृषि, वागवानी, नारी सशक्तिकरण, सुक्ष्म, लघु एवं मध्यम उद्यम, स्वच्छता एवं पर्यावरण, अन्तर्राष्ट्रिय सम्बन्ध आदि क्षेत्रमाथि संलग्न हितग्राहीहरुसित जोडिन पुगेको छ ।

यसरी भन्न पनि मिल्छ– भगिनी सम्बन्ध पत्रकारहरुको क्षमता विकास, अध्ययन भ्रमण, नवोन्मेष उन्नयन र मैत्रीत्वको मूलाधार हो । जुन आधारबाट दुवै क्षेत्रका पत्रकारहरुले अक–अर्कालाई नजिकबाट अनुगमन गर्ने र समाजलाई दिशाबोध गराउने क्षमता अभिवृद्धि गर्न सक्नेछन् । १४९ सदस्य भएको प्रेस क्लब अफ सिक्किम परिवार लुम्बिनी प्रेस क्लबसितको भगिनी सम्बन्धलाई इमान्दारितापूर्वक कायम राख्न गम्भीर छ ।

क्रस बोर्डर जर्नलिज्मको विनिमय
भारतसितको लामो अन्तर्राष्ट्रिय सीमासित जोडिएको लुम्बिनी प्रदेश आफैमा व्यापार, वाणिज्य, उद्योग, पर्यटन, यातायात, सांस्कृतिक विविधता, सांस्कृतिक एवं धार्मिक सम्पदा, आध्यात्मिक चेतना, वैदेशिक सम्बन्ध, जैविक विविधता आदिका लागि मूलकेन्द्र मानिन्छ । बुटबल, भैरहवा, लुम्बिनी, कपिलवस्तु, दाङ्ग, नेपालगञ्जजस्ता शहरहरुको सोझो सम्बन्ध भारतसित गाँसिएको छ । यहाँ क्रस बोर्डर जर्नलिज्म गर्ने पत्रकारहरुको लामा अनुभव देखिन्छन् । सूचना र सम्बन्धको आपसी विनिमयले सिक्किमका पत्रकारहरुलाई केही नयाँ शिक्षा प्रदान गर्ने अपेक्षा छ, जसले गर्दा पत्रकारहरुको क्षमता विकासमा प्रत्यक्ष लाभ पुग्ने देखिन्छ । यसैक्रममा, राजनीतिक, अर्थनीतिक, धार्मिक, सामाजिक अनि डिजिटल एवं सोशल मिडिया क्रान्ति जस्ता मुद्दाहरुमा पनि एक–अर्काबीच क्षमता विकासको सहकार्य बन्ने बाटो प्रशस्त बनेका छन् । तीन वटा अन्तर्राष्ट्रिय सीमाहरु क्रमैले चीन, नेपाल र भूटानसित गाँसिएको सिक्किमले सुरक्षा संवेदनशीलतालाई सर्वाधिक महत्व दिएर आएको छ ।

तीन अन्तर्राष्ट्रिय सीमा हुँदाहुँदै पनि सिक्किमले आजसम्म कुनै प्रकारका अशान्तिको माहोल सिर्जना हुन दिएको छैन । राज्यको शान्ति, सुरक्षा, आपसी ऐक्यवद्धता, धार्मिक एकता, सद्भाव र भाइचारालाई जहिल्यै उच्च प्राथमिकतामा राखेर आएको छ । २५० वर्षको लामो राजशासनको समाप्तपछि सन् १९७५ सिक्किम भारतको संघीय गणतन्त्रको एक प्रमुख हिस्सा बन्न पुग्यो । त्यसपछि प्रजातान्त्रिक यात्राको पाँच दशक अवधिमा सिक्किमले २२ राज्यका रुपमा विकास गतिलाई रफ्तार दिँदै आएको छ । पेशागत पत्रकारिताको क्षेत्रमा निकै प्रगती देखिन्छ । तथापि, क्रस बोर्डर पत्रकारिता, खोजमूलक पत्रकारिता, साहित्य पत्रकारिता, क्षेत्रीय र राष्ट्रियस्तरमा सेवारत पत्रकारहरुबीचको सामञ्जस्यताजस्ता मूल विषयमाथि सिक्किमले लुम्बिनीबाट सिक्ने आशा राख्नु स्वाभाविक हो ।

बौद्ध पर्यटन उद्योगमा लुम्बिनी र सिक्किम
विश्व बौद्ध धर्मको केन्द्रबिन्दु हो, लुम्बिनी । साथै बौद्ध पर्यटन उद्योगको मूल गन्तव्यस्थल पनि हो यो पवित्र भूमि । शोधकर्ता, अध्येता, साधक, अनुसन्धानकर्ता, तीर्थ पर्यटन, अन्वेषक, तीर्थयात्री, चिन्तक एवं दार्शनिकहरुका लागि अलौकिक र गम्भीर शोध अनि प्रेरणास्रोतका महानतम गन्तव्यस्थल हो । अतः यस दिव्य भूमिमा गणतन्त्रको चौथो स्तम्भ पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा गम्भीरता र सक्रियता देखाउँदै आएको लुम्बिनी प्रेस क्लबले सिक्किमका श्रमजीवी पत्रकारहरुको शीर्ष संस्था प्रेस क्लब अफ सिक्किमसँग सम्बन्धको साँघु निर्माण गर्न सफल भयो । यस उद्देश्यमुखी सम्बन्धको प्रगाढताले सबैभन्दा अधिक यी दुवै क्षेत्रका आर्थिक, सामाजिक, धार्मिक, प्रविधि, पत्रकारिता, साहित्य, कला, सङ्गीत, ललितकला तथा व्यापार–वाणिज्यमा महत्वपूर्ण विस्तार हुने सम्भावना देखाउँछन् ।

यता तीर्थ पर्यटनमा अलग पहिचान स्थापित गरेको हिमाली राज्य सिक्किम एक ‘बुद्धिष्ट स्टेट’–का रुपमा परिचित छ । सातलाख जनसंख्या भएको सिक्किम यतिबेला भारतका अन्य राज्यहरुकै हाराहारीमा तीर्थ पर्यटन उद्योग विस्तारमा सक्रिय छ । विभिन्न सम्प्रदाय, वर्ग र धर्मावलम्बीहरु बसोबासो गर्ने भारतकै सानो राज्यमध्ये एक सिक्किमले आफ्नो सामाजिक अर्थतन्त्रलाई विकसित गर्न तीर्थ पर्यटनलाई सर्वाधिक प्रमुखता दिएर आएको छ । स्वच्छता, शान्ति, कानून, पर्यावरण संरक्षण, वन्यजन्तु संरक्षण, इको टुरिज्म, महिला सशक्तिकरण, प्रशासनिक कार्यमा महिलावर्गको दक्षता र नेतृत्व कम उल्लेखनीय छैन । यस्ता विविध शोधपक्षहरुलाई लुम्बिनी प्रेस क्लब र प्रेस क्लब अफ सिक्किमको भगिनी सम्बन्धले विनिमयको वातावरण तयार पारेर आ–आफ्नो क्षेत्रमा अत्याधिक टेवा पु¥याउने सम्भावना बढ़ाएको छ ।

निष्कर्ष
टिस्टावारी सिक्किम होस् अथवा मेचीपारी लुम्बिनी, यी दुवैका भौगलिक बनोट केही पृथक देखिए तापनि दुवैमा कतिपय समानता झल्किन्छ । भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, जैविक विविधता र बौद्ध पर्यटनले दुवै क्षेत्रलाई जोडेर राखेका छन् । त्यसबीच पत्रकारिता अंगालेका संचारकर्मीबीचको नाताले एउटा प्रगतिशील पहलको सम्भावना बढाएको छ । यस गरीमामय साइनोलाई मलजल गर्ने गम्भीर दायित्व प्रेस क्लब अफ सिक्किम र लुम्बिनी प्रेस क्लबको शीरमाथि बसेको छ । दुवै क्लबको प्रतिज्ञाले सम्बन्धको प्रतिष्ठालाई कायम राख्नेछ भन्ने कुरामा विश्वस्त बनौं ।

(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित लुम्बिनी प्रेस बुलेटिन ।)