सामाजिक क्षेत्रमा लुम्बिनी प्रेस क्लब


२०७३ साल कार्तिक २० गते श्रीमान र आफ्नै बहिनीको निर्घात् कुटपिटबाट मरणासन्न घाइते रोल्पाकी सुनकुमारी नेपालीलाई उपचारार्थ युनिभर्सल मेडिकल कलेज भर्ना गरिएको थियो । खर्च अभावमा सुनकुमारीको उपचार हुन नसकेको जानकारी पाएपछि यस क्षेत्रमा क्रियाशील पत्रकारहरुले समाचार लेखेर मात्र सन्तोष मानेनन्, उनको उपचार खर्चको जिम्मेवारी लिने अठोट गरे । आर्थिक सहायता जुटाउन भैलो कार्यक्रम गरियो । एकताबद्ध भएर गरेको यो प्रयासले सुनकुमारीलाई बचाउन सकिएन, सँगसँगै दाहसंस्कारको पनि जिम्मा लिनुपर्यो ।
आमाको देहान्तपछि सुनकुमारीकी छोरी विनिता बेसहरा बनिन् । उनलाई एसओएस बालग्राम लुम्बिनीको एघार नम्बरमा रहेको सञ्चशील घरमा आमा कल्पना रेग्मीसँग हुर्किने र शिक्षा दिक्षा समेत पाउने व्यवस्था पनि पत्रकारहरुकै पहलमा गरिएको थियो । विनिताले भैरहवाको सनशाइन स्कुलबाट १२ उत्र्तीण गरी हाल बुटबलको होराइजन कलेजमा आइटिमा ब्याच्लर अध्ययनरत छन् ।
सुनकुमारीको उपचार खर्च जुटाउन अभियान चलाइएको थियो । सो क्रममा उठेको रकममध्ये बचेको ३ लाख रुपैयाँ लुम्बिनी प्रेस क्लव मुद्दती खाता खोलेर राखिएको छ । छोरी बालिग भएपछि उनको सहमतिमा यो रकम हिंसा पीडित महिलाको सहयोगमा खर्च गर्ने या सुनकुमारी ट्रस्ट खोलेर काम गर्ने लक्ष्य छ ।
संचारकर्ममा मात्र चित्त नबुझेर हिंसापीडित महिलालाई सहयोग गर्ने पवित्र कार्यबाट शुरु भएको अभियानलाई संस्थागत रुपमा अघि बढाउन भैरहवा, लुम्बिनी, धकधई र मर्चवार क्षेत्रमा क्रियाशील पत्रकारहरुको पहलमा लुम्बिनी प्रेस क्लब जन्मियो । संस्था दर्ता ऐन २०३४ अनुुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएयता क्लबका सदस्यहरु निरन्तर सामाजिक गतविधिमा सक्रिय छन् । क्लब अहिले संचार क्षेत्रमा क्रियाशील साथीहरुको मात्र होइन, समाजको पनि सुख दुःखको साथी बनेको छ ।
२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका नामबाट शुरु भएको संघर्ष र त्यस क्रममा भएको विध्वंसले समाज आतंकित थियो । देशव्यापी भौतिक र मानवीय क्षतिसँगै उद्योगी, व्यवसायी, कर्मचारी, राजनीतिज्ञसहित आम मानिसमा देखिएको त्रासदी, परिवर्तित राजनीतिक परिदृश्यले बढाएको अन्यौलतालाई चिर्दै परिस्थितिलाई सामान्यीकरण गर्न नेतृत्वको अभाव देखियो ।
जायज मागसहित जेनजीको आह्वानमा शुरु भएको शान्तिपूर्ण आन्दोलन भड्किएर हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि सबैलाई एकप्रकारको मानसिक तनाव जस्तै भयो । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भए पनि मानिसहरु सामान्य अवस्थामा भने फर्किन नसकिरहेको अवस्थामा समाजलाई सामान्य बनाउन मध्यस्तकर्ताको आवश्यकता थियो ।
हामीले राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी शान्ति सद्भाव र्याली (पदयात्रा) सहित देशमा शान्तिको आह्वान गर्ने पहल लियौं । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर लुम्बिनी प्रेस क्लवको नेतृत्वमा भदौ २७ गते विहान नेपाल भारत सिमा बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म शान्ति सद्भाव र्याली गर्यौं । पदयात्रामा प्रजिअ सहित यहाँका उद्योगी व्यवसायी, सरकारी कार्यालयका प्रमुखहरु, संघसंस्था, जेनजी युवाहरु तथा आम नागरिकहरुको उल्लेख्य सहभागिता रह्यो । यो कार्यक्रमबाट हामीले राष्ट्रिय रुपमै एकप्रकारको राम्रो सन्देश प्रवाह गर्न सफल भयौँ ।
हाम्रा हरेक गतिविधि समाजसँग जोडिएका छन् । हत्या, हिंसा, अशान्ति र अराजकताबिरुद्ध सशक्त हुने, सरकारलाई खबरदारी गर्ने र नागरिक समाजलाई घच्घच्याउने काममा हामीले अगुवाई गरेर सकारात्मक छाप छोडेका छौं । पछिल्लो राजनीतिक घटनाक्रमले पर्यटन क्षेत्र धरासायी बनेको महसुस गरी त्यसलाई चिर्ने योजना बन्यो । क्लबका पदाधिकारी, सल्लाहकार तथा छिमेकी देश भारतका पत्रकार सहित हामीले भारतका विभिन्न ठाउँहरुमा नेपालमा शान्ति छ भनेर सन्देश दिने उद्देश्यले भारत भ्रमण गर्यौं । धार्मिक तथा अध्यात्मिक स्थलहरु अयोध्या, बनारस लगायतका ठाउँहरुमा रहेका प्रत्रकार सम्बद्ध संस्था तथा स्थानीयसँग अन्तरक्रिया गरी नेपाल भ्रमणका लागि सुरक्षित छ भनेर सन्देश दिने प्रयास गरेका छौं ।
संचारको संवाहक मात्र नभएर समाज रुपान्तरण पनि गर्नुपर्ने दायित्व पनि हामीले महसुस गरेका छौं । समाजका घटनाक्रमहरुलाई संचारमाध्यमबाट उजागर गरेर मात्र सन्तुष्टि लिनु हुँदैन भन्ने कुरा हामीले महसुस गरेका छौं । पत्रकार केवल समाचार लेखनमा मात्र होइन, सामाजिक रुपमा पनि सारथी बन्नुपर्छ भन्ने हाम्रो क्लवको मुख्य उद्देश्य हो । यसैको फलस्वरुप हामीले यो पटक तेस्रो लुम्बिनी न्युज फेस्टिवलको आयोजना गरेका हौं । यसको मुख्य उद्देश्य आम चासोका रुपमा रहेका स्थानीय र राष्ट्रिय मुद्दाहरुलाई सम्बन्धित निकायसँसग बहस गर्नु हो । यसको मुख्य निचोड यो महोत्सवबाट निस्कने नै छ ।
संस्था स्थापनाको विगत ११ वर्षलाई हेर्ने हो भने पत्रकारितासँगै हामीले धेरै सामाजिक कामहरु गर्न सफल भएका छौं । रक्तदान देखि भूकम्प पीडितलाई सहयोग, कोरोनाकालमा सदस्यहरुलाई राहत वितरण लगायतका कामहरु गरेका छौं ।
हाम्रा केही कामहरु ब्राण्डकै रुपमा स्थापित भएका छन् । देउसी भैलो, बौद्ध सञ्चार यात्रा, न्युज फेस्टिवल जस्ता कार्यक्रमहरुको आफ्नै महत्व छन् । यी कार्यक्रमहरुलाई यहाँको समाजले सहर्ष स्वीकार गरी हौसला दिँदै आइरहेको छ । सदस्यहरुका लागि विभिन्न किसिमका तालिम, अवलोकन भ्रमण, विभिन्न वृत्तिविकासका कार्यक्रमहरु सञ्चालन गर्दै आइहेको छ । यहाँका आमसरोकारवाला निकायहरुसँग सहकार्य, आमजनताको चासो, गुनासोलाई सम्बोधन गर्दै समाचारको माध्यमबाट बाहिर ल्याउने काम गरिरहेका छौं ।
विशेषतः रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा रही पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संस्थाको रुपमा यो प्रेस क्लब परिचित छ । संस्थामा आवद्ध ४४ जना सदस्यहरु स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा आबद्ध छन् । संस्थाको आफ्नै भवन निर्माण भएको छ, जहाँ प्रशासनिक कामसँगै प्रत्रकार सम्मेलन, छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरु संचालन हुने गरेका छन् । सबै पत्रकार एकै थलोमा उभिएका कारण पनि आम सरोकारवाला निकायहरुलाई सहजता भएको छ ।

विगतमा पत्रकारको समस्या सुनिदिने निकायको अभाव थियो, सम्बन्धित निकायले पत्रकारहरु भेट्नका लागि मुस्किल थियो त्यसलाई हामीले सहज बनाएका छौं । अहिले पत्रकारको समस्या समूहगत रुपमा राख्न जान्छौ भने सरोकारवाला (समाज) ले पनि पत्रकारहरु खोज्न भौतारिनु परेको छैन । समाजका हरेक कार्यक्रममा सक्रियपूर्वक सहभागिता जनाउँदै आएका छौं ।
निष्कर्षः
सामाजिक कामबाटै स्थापना भएको लुम्बिनी प्रेस क्लबले यस क्षेत्रको सामाजिक काममा सक्दो पहलकदमी गरिरहेको छ । कतिपय अवस्थामा समाचारका विषयवस्तुले खवरदारी गरेर त कतिपय अवस्थामा हातेमालो गरेर । पत्रकारहरु पनि समाजका अभिन्न अंग हुन् । सामाजिक प्राणी भएकाले समाजमा हुने घटनाक्रमको असर वा प्रभावबाट हामी पनि मुक्त हुन सकिँदैन । शान्ति, विकास र समृद्धि हाम्रा मुख्य चाहना हुन् । समाजले पनि यही चाहेको छ । हामी चाहान्छौ, शान्ति, सुशासन, समृद्धि र न्यायको क्षेत्रमा कसैले पनि गुनासो गर्ने ठाउँ नहुने गरी काम होस् । जनअपेक्षा अनुसार तिनै तहका सरकारले काम गरुन्, निजी क्षेत्रले आर्थिक विकासको नेतृत्व लिन सक्षम होस् । समाजमा एकता र सद्भाव बढोस् । राजनीतिक दलहरु जनअपेक्षा अनुसार अघि बढून् । सबै क्षेत्र र वर्गसँग लुम्बिनी प्रेस क्लबले सहकार्य गर्न सकोस् । किनकी पत्रकार र समाज एकअर्काका परिपूरक रहेको हामीले प्रष्ट बुझेका छौं ।
समाजलाई सही दिशामा दौडाउनका लागि पत्रकारहरुको ठूलो भूमिका हुन्छ । हामीले लेख्ने र दिने सूचनाहरु समाजका लागि मार्गदर्शन हुनेमा दुईमत छैन । तर समाज र पत्रकारिता पेशामा रहेका केही व्याक्तिहरुको गलत अफवाहले पेशा र समाजलाई नै असर गरिरहेको तितो यथार्थ छ । नेपालको सन्दर्भमा पत्रकारहरुको सुरक्षणका लागि सरकारी तवरबाट राम्रो व्यवस्था छैन भने मिडियाहरुबाट पनि सुनिश्चितता हुन सकेको छैन । लुम्बिनी प्रेस क्लबबाट आफ्ना सदस्यहरुको सहयोगका लागि अक्षयकोष स्थापना गर्ने र सदस्यहरुलाई अधिकतम राहत दिने विषयमा प्रयासरत छौं ।
यस विषयमा राज्य र समाजले गहिरो अध्ययन र सहयोग गर्नुपर्ने अवस्था छ । समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारीता पेसालाई विश्वासिलो बनाउनमा सबै सरोकारपक्ष लाग्नुपर्छ । सधै अभावै अभावमा रहको पत्रकारिता पेसालाई प्रभावकारी र जनमुखी बनाउनु साँच्चै नै चुनौतीपूर्ण छ । तर, पनि हामी सधै समाजको सारथी बन्नमा चुक्ने छैनौं ।
(सभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित लुम्बिनी प्रेस बुलेटिन)








लेखकको सम्वन्धमा