June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

शान्ति, समृद्धि र दीगो विकासका लागि लुम्बिनी प्रेस क्लब

Advertisement

लेख सारः यो लेखले लुम्बिनी प्रेस क्लबले कसरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको शान्ति, आर्थिक समृद्धि र दीगो विकासमा योगदान पुर्याउन सक्छ भन्ने विषयमा विश्लेषण गर्दछ । यसले ‘शान्ति पत्रकारिता’ को सिद्धान्त, पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका र दीगो विकासका लक्ष्यहरूको स्थानीयकरणमा प्रेसको खबरदारीलाई मुख्य आधार बनाएको छ । निष्पक्ष सूचना प्रवाह र विकासमुखी पत्रकारिता मार्फत् लुम्बिनीलाई विश्वव्यापी शान्ति केन्द्रको रूपमा स्थापित गर्न प्रेस क्लबको रणनीतिक महत्वलाई यसमा उजागर गरिएको छ ।

Advertisement

परिचय
गौतम बुद्धको जन्मस्थल, लुम्बिनी– यो केवल ईंटा र माटोले बनेको एक पुरातात्विक स्थल मात्र होइन, यो मानवता, अहिंसा र करुणाको विश्वव्यापी सन्देश प्रवाह गर्ने एक जीवित विश्वविद्यालय हो । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुनुले यस क्षेत्रको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्दछ । लुम्बिनीको यो अद्वितीय पहिचानले यसलाई नेपालको सांस्कृतिक कूटनीतिको मेरुदण्ड मात्र बनाएको छैन, बरु यो क्षेत्र नेपालको पर्यटन र क्षेत्रीय औद्योगिक अर्थतन्त्रको प्रमुख आधार समेत हो ।

यस्तो संवेदनशील, ऐतिहासिक र आर्थिक रूपले महत्वपूर्ण क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा र जिम्मेवार संस्था लुम्बिनी प्रेस क्लबको भूमिका सामान्य समाचार सम्प्रेषणमा मात्र सीमित हुन सक्दैन । लुम्बिनी प्रेस क्लब केवल घटनाहरूको साक्षी मात्र नभई, यो नेपालको सकारात्मक छवि विश्वसमक्ष प्रस्तुत गर्ने माध्यम र यहाँको दीगो विकासको संवाहक पनि हो ।

लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई ‘चौथो अंग’ को रूपमा परिभाषित गरिन्छ, जसको प्रमुख कार्य शक्तिलाई जवाफदेही बनाउनु हो । प्रेस क्लबले शान्तिपूर्ण वातावरणको निर्माण, आर्थिक समृद्धिको मार्ग प्रशस्त र दीगो विकासका लक्ष्यहरूको स्थानीयकरणका लागि राज्य संयन्त्र र नागरिक समाजबीच एक बलियो, निष्पक्ष र विश्वसनीय ‘सेतु’ को रूपमा काम गर्नुपर्दछ ।

शान्ति प्रवद्र्धनमा प्रेस क्लबको योगदान
लुम्बिनीको मूल मर्म नै ‘शान्ति’ हो । जोहान गाल्टुङले प्रतिपादन गरेको ‘शान्ति पत्रकारिता’ को सिद्धान्तलाई लुम्बिनी प्रेस क्लबले व्यवहारिक रूपमा लागू गर्न आवश्यक छ ।

सद्भाव र सहिष्णुताः लुम्बिनी क्षेत्रमा विभिन्न धर्म, संस्कृति र सम्प्रदायको बसोबास छ । प्रेसले उत्तेजक समाचारको सट्टा समुदायहरूबीचको एकता, ‘अन्तर–धार्मिक संवाद’ र सहिष्णुतालाई बढावा दिने सामग्री प्रकाशन गर्नुपर्छ । अझ लुम्बिनीमा ‘पर्खाल भित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनी’ भन्ने अहिले बहस भइरहेको छ । यस्तो अवस्थामा स्थानीयलाई लुम्बिनीप्रति अपनत्व जगाउन सकिने किसिमका विषयवस्तु लेखनमा पनि जोड दिनुपर्दछ । प्रेसले कहिल्यै पनि धार्मिक, जातीय वा सांस्कृतिक मतभेदहरूलाई उत्तेजित गर्नुहुँदैन । समाचारहरू ‘ब्रेकिङ न्युज’ को होडमा नभई ‘शान्ति पत्रकारिता’ को सिद्धान्तमा आधारित हुनुपर्छ, यसले द्वन्द्वलाई बढावा दिनुको सट्टा समाधान र मेलमिलापलाई प्राथमिकता दिनुपर्दछ ।

द्वन्द्व समाधान र मध्यस्थताः समाजमा देखिने सानातिना विवादहरूलाई सञ्चार माध्यमले ‘जित–हार’ को फ्रेममा नहेरी समाधान उन्मुख दृष्टिकोणबाट प्रस्तुत गर्नुपर्छ । द्वन्द्वलाई हिंसामा परिणत हुन नदिन समयमै सही सूचना प्रवाह गरी निरोधात्मक भूमिका खेल्नुपर्छ । विभिन्न समुदायले मिलेर गरेका सांस्कृतिक उत्सव, सामाजिक काम र विकासका प्रयासहरूलाई उजागर गर्नुपर्छ । यसले लुम्बिनी क्षेत्रमा ‘एकतामा विविधता’ को सन्देशलाई बलियो बनाउँछ ।

बुद्ध दर्शनको विश्वव्यापीकरण : बुद्धका शिक्षा र आधुनिक पत्रकारिताका सिद्धान्तबीच गहिरो सम्बन्ध छ, बुद्धका पञ्चशील र अष्टाङ्गिक मार्गलाई केवल धार्मिक उपदेशको रूपमा मात्र नभई आधुनिक जीवनशैली, सुशासन र शान्ति निर्माणको व्यावहारिक गाइडको रूपमा प्रस्तुत गर्न सकिन्छ । यसका लागि ः

१. पर्यटन प्रवद्र्धन र ब्रान्डिङः लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई जोड्ने ‘बृहत्तर लुम्बिनी सर्किट’ को प्रचारप्रसारमा प्रेस क्लबले नेतृत्वदायी भूमिका खेलिरहेको छ, क्लबले आफ्ना गतिविधिहरुबाट र यस क्षेत्रमा भैरहेका अन्य कार्यक्रमहरुमा पनि यो विषयलाई महत्वका साथ उठान गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाईं लम्ब्याउन आवश्यक पूर्वाधार र गन्तव्यहरूको बारेमा फिचर समाचार र वृत्तचित्रहरू निर्माण गरेर यसलाई पुरा गर्न सकिन्छ ।

२. लगानीमैत्री वातावरणः लुम्बिनी क्षेत्रमा पर्यटन, उद्योग र कृषि प्रशोधनमा लगानी बढाउनका लागि आवश्यक पर्ने नीतिगत स्थिरता र सुरक्षाको वातावरण सुनिश्चित गर्न प्रेस क्लबले प्रभावकारी पैरवी र खबरदारी गर्नुपर्छ । लगानी आकर्षित गर्नका लागि प्रेस क्लबले लुम्बिनी क्षेत्रका लागि पर्यटन, नियमानुसार जग्गा प्राप्ति र औद्योगिक क्षेत्र सम्बन्धी दीर्घकालीन नीतिको आवश्यकतामाथि निरन्तर बहस चलाउनुपर्छ । नीति निर्माताहरूलाई अल्पकालीन स्वार्थभन्दा माथि उठेर कम्तिमा १० देखि १५ वर्षसम्म नबदलिने स्थिर नीति बनाउन दबाब दिने र लगानीकर्ताले कम्पनी दर्तादेखि, कर भुक्तानी र निर्माण अनुमति लिँदासम्म भोग्नुपर्ने ‘रातो फीताशाही’ र प्रशासनिक झन्झटहरूलाई उजागर गर्ने । सरकारी कार्यालयहरूको कामकारबाहीमा सरलता र तीव्रता ल्याउनका लागि सिफारिस गर्नुपर्दछ । लगानी प्रवद्र्धनका लागि बनेका सरकारी संयन्त्रहरूले कत्तिको प्रभावकारी काम गरिरहेका छन् भनेर अनुसन्धानमूलक रिपोर्टिङ गर्ने ।

लगानी ‘डर’ मा होइन, ‘विश्वास’ मा हुन्छ । लगानीकर्ताले आफ्नो सम्पत्ति र लगानीको सुरक्षा खोज्छन् । विकास आयोजनाहरूमा हुने भ्रष्टाचार, अनियमितता र राजनीतिक हस्तक्षेपका समाचारहरूलाई प्रमाणसहित बाहिर ल्याएर ‘भ्रष्टाचार मुक्त क्षेत्र’ बनाउन दबाब दिने । सुशासन कायम नभएसम्म विदेशी लगानी आउँदैन भन्ने तथ्यलाई स्थापित गर्ने । स्थानीय समुदायलाई नै लगानीको महत्व बुझाएर उनीहरूलाई लगानीकर्ताको साझेदार बनाउन सहयोग गर्ने । लुम्बिनी विकास कोष र स्थानीय सरकारद्वारा सञ्चालित आयोजनाहरूमा हुने ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता विरुद्ध ‘वाचडग’ को भूमिका निर्वाह गर्नु प्रेसको प्रमुख कर्तव्य हो ।

दीगो विकासका लक्ष्यहरूमा सहयोग
संयुक्त राष्ट्र संघले तय गरेको ‘दीगो विकासका लक्ष्यहरू’ सन् २०३० सम्ममा हासिल गर्न स्थानीय स्तरको प्रयास अपरिहार्य छ । लुम्बिनी प्रेस क्लबले विशेष गरी लक्ष्य नं. १६ (शान्ति, न्याय र बलियो संस्था) र लक्ष्य नं. ११ (दीगो शहर र समुदाय) मा केन्द्रित भई काम गर्न सक्छ ।

वातावरण संरक्षणः लुम्बिनी क्षेत्रमा बढ्दो औद्योगिकीकरणले पुरातात्विक सम्पदा र वातावरणमा नकारात्मक असर पारेको छ । प्रेस क्लबले प्रदूषण नियन्त्रण, हरित क्षेत्रको संरक्षण र जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनुपर्छ ।
शिक्षा र स्वास्थ्यमा पहुँचः सीमान्तकृत समुदायको आवाजलाई मूलधारमा ल्याउनु प्रेसको दायित्व हो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न नीतिगत बहस चलाउनुपर्छ ।
स्थानीय सरकारसँग साझेदारीः स्थानीय तहले गरेका असल अभ्यासहरूलाई उजागर गर्ने र गलत कार्यको आलोचनात्मक समीक्षा गर्ने परिपाटीले दीगो विकासलाई टेवा पु¥याउँछ ।

चुनौती र भावी कार्यदिशा
माथि उल्लेखित भूमिका निर्वाह गर्न लुम्बिनी प्रेस क्लबका सामु केही चुनौतीहरू पनि छन्:-
व्यावसायिकता र क्षमता विकासः पत्रकारहरूलाई खोजमूलक पत्रकारिता र डाटा पत्रकारिताको तालिम प्रदान गरी सक्षम बनाउनु आवश्यक छ ।
आर्थिक स्वायत्तताः संस्थागत दीगोपनका लागि क्लबलाई आर्थिक रूपमा आत्मनिर्भर बनाई बाह्य प्रभावबाट मुक्त राख्नुपर्छ ।
डिजिटल रूपान्तरणः सामाजिक सञ्जालको युगमा ‘फेक न्युज’ को चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना प्रवाह गर्न डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गर्नुपर्छ ।

निष्कर्ष
लुम्बिनी प्रेस क्लब केवल पत्रकारहरूको पेसागत संगठन मात्र होइन, यो लुम्बिनीको विकास र समृद्धिको एक महत्वपूर्ण हिस्सेदार हो । बुद्धको जन्मभूमिबाट प्रवाह हुने सूचनाले विश्व शान्तिमा योगदान पु¥याउन सक्नुपर्छ । तसर्थ, सत्य, न्याय र दीगो विकासको पक्षमा उभिएर गरिने पत्रकारिताले नै लुम्बिनीको गरिमालाई उच्च राख्न र यहाँको समृद्धिको सपनालाई साकार पार्न निर्णायक भूमिका खेल्नेछ ।
(सभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित लुम्बिनी प्रेस बुलेटिन)