June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

प्रमुख दलहरूले मधेशका जनतालाई न्याय गर्न सकेनन्ः अध्यक्ष यादव

Advertisement

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट धेरै उपलब्धि हासिल भएको बताएका छन् । मधेश आन्दोलनका कारण ३१ लाख नेपालीले मधेशमा नागरिकता प्राप्त गर्न सफल भएको उनले दाबी गरे ।

Advertisement

पार्टी लुम्बिनी प्रदेश समितिले बुधबार रुपन्देहीको धकधईमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष यादवले विगतका आन्दोलनबाट धेरै उपलब्धी हासिल भए पनि त्यसलाई संस्थागत गर्न प्रमुख राजनीतिक दलहरूले अझै पनि खेलाँची गरिरहेको जनाए ।

उनले ठूला दलहरुले मधेशी समुदायप्रति न्याय नगरेको समेत आरोप लगाए । उनले भने, ‘जबसम्म नेकपा एमाले, नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू रहिरहन्छन्, तबसम्म मधेशका जनतालाई दमन गर्ने नीति जारी रहन्छ र देशको विकास पनि अवरुद्ध हुन्छ ।’

उनले विगतका सरकारप्रति जनतामा नैराश्यता बढेको र जेनजी आन्दोलन त्यसैको कारण भएको जनाए । उनले यसअघिको सरकारप्रति गुनासो गरे । संसदीय इतिहासमा विरलै देखिने संसदको पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेपछि जनतामा थप निरासा देखा परेको जनाए । उनले अबको निकास जनताद्वारा निर्वाचित राष्ट्रपति भए पछि मात्रै हुने जनाए ।

उनले अबको निर्वाचन निकै खर्चिलो हुने जनाए । यादवले प्रदेश संरचना बढाएर ११ पुर्याउनुपर्ने माग गरे । यस्तै, काँग्रेस–कम्युनिष्टले ३५ वर्ष सत्ता चलाउँदा समेत किसानले सधैं मल अभाको समस्या भोग्नुपरेको जनाए ।

यस्तै, पार्टीका केन्द्रीय सचिब कमरुद्दिन राईसले पार्टी छाडेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किएर काम गर्न आग्रह गरे । ‘विगतका दिनमा जे जसो भयो भयो अब बाहिर गएका साथीहरु पार्टीमा आउनुस्, जनताको बिचमा गएर काम गरौं’, उनले भने ।

शक्ति प्रदर्शनसहित आयोजित जनसभामा विभिन्न ठाउँबाट आएका कार्यकर्ता, समर्थक र स्थानीय नागरिकहरूको सहभागिता थियो । जनसभामा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले वर्तमान राजनीतिक अवस्था, जनजीविकाका समस्या र सरकारको नीतिगत कमजोरीबारे आलोचना गर्दै विकल्पका रूपमा जसपालाई मजबुत रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।