लुम्बिनी क्षेत्रको पत्रकारिता र लुम्बिनी प्रेस क्लब


लुम्बिनी प्रेस कल्बले आयोजना गर्न लागेको तेस्रो न्युज फेस्टिवलको अवसरमा प्रकाशन गर्ने बुलेटिनको सम्पादन गर्ने जिम्मा पाएका कुलमणि ज्ञवालीले दाई एउटा लेख लेखी दिन मङ्सिर २९ गते मलाई अनुरोध गर्नुभयो ।
मलाई आजभोलि किन हो कुन्नि धेरै भयो, लेख्नै मन लाग्दैनँ । मैले २०२९ सालदेखि २०६० सम्म नियमित र सक्रिय रुपमा कलम चलाउँदै आएको थिएँ । सामुदायिक रेडियो रुपन्देही एफएम आफ्नै पहलमा दर्ता गरी सचालनमा ल्याएपछि आफूमा उत्साह उमंग बढेको थियो । स्वच्छ वातावरण सिर्जना गर्ने, ग्रामीण क्षेत्रका आवाजविहीन वर्गमा चेतना जागरण गर्न प्रभावकारी भूमिका निर्वाह गरी स्थानीय स्तरमा ग्रामीण पत्रकारिताको नमूना बनाउने सामुदायिक रेडियोको उद्देश्य रहेकोे थियोे ।
के लेख्ने ? सधैं त्यही कुरा । सक्रिय पत्रकारिता गरेको ३१ बर्ष र पछिल्लो २३ बर्ष जोड्दा ५३ वर्ष भयो पत्रकरिता बारे लेख्न थालेको । समय फेरिएसँगै पत्रकारिताको शैली फेरिएको छ । पहिले र अहिलेको पत्रकारितमा धेरै अन्तर छ ।
२०४६ सालदेखि २०८२ सम्म सञ्चार क्षेत्रमा आमूल परिवर्तन भएको छ । अझ भनौं संचार क्षेत्रमा नयाँ क्रान्तिकारी युगको सुरुवात भएको छ । अहिलेको जस्तो पत्रकारिता गर्न सरल र सहज थिएन हाम्रो पालामा । जतिबेला हामीले सक्रिय पत्रकारिता गर्दै थियौँ त्यतिबेलाको अत्यन्तै कठिन कर्म भित्र पर्दथ्यो पत्रकारिता ।
यतिबेला हामी नयाँ नयाँ प्रविधिको प्रयोगसँगै हातहातमा एन्ड्रोइड मोबाइल फोन र ग्याजेटबाट पत्रकारिता गरिरहेका छौँ । तर, त्यतिबेला सञ्चारको नाउँमा बेतारको आवा अफिसको भर पर्नुपर्ने अवस्था थियो । जहाँ आकाशवाणी थियो । हुलाकको भरपुर्नुुपर्ने अवस्था थियो ।
मुक्ति सन्देश निकाल्दाको मेरो अनुभव संघर्षको कथा जस्तै छ । कम्पोज गरि एउटा–एउटा सिसाका अलग–अलग खानाबाट अक्षर मिलाएर पेज तयार हुन्थ्यो । फोटो छाप्न ब्लक बनाउन गोरखपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो । त्यो बेलाका संघर्ष र दुुःखका कुरा बताउँदा अहिलेका प्रविधिमैत्री पत्रकारहरुलाई दन्त्य कथा बताए जस्तो हुुन्छ ।
अहिले ल्यापटप, मोबाइल लिएर बसेपछि संसार सबै देखिन्छ, सबैका हात–हातमा मोबाइल घर घरमा इन्टरनेट । के यो परिवर्तन होइन ? के हामीले कुनै पनि यात्रा पूरा गरेनौं ? के हामी एउटै ठाउँमा छौ ? विश्वब्यापीकरणको प्रभाव स्वरुप आज हामी परिवर्तनको द्रुत गतिमा छौं । परिवर्तनको छालले पत्रकारिताको पनि आयामहरु परिवर्तन गरेको छ ।
सिद्धार्थनगर, भैरहवा हिजो पत्रकारहरुको उर्वराभूमि थियोे । लुम्बिनी प्रदेशमा भैरहवा पत्रकारिताको केन्द्र थियो । त्यो बेलाको सक्रिय पत्रकार भइरहँदाको अनुुभव सुुनाउन पाउँदा आज पनि छाति गर्वले फुल्छ ।
आज पनि यहाँबाट संचालन भएका पत्रिका, टेलिभिजन, अनलाइन, एफएम संख्यात्मक रुपमा राम्रो छन् । तीनको गुणस्तर र यहाँका सक्रिय पत्रकारहरुको मूल्यांकन गर्दा कति परिवर्तन आयो त्यो समाजले मूल्यांकन गर्ने विषय हो । तर अलि गहिरिएर सोच्न बस्दा के देखिन्छ भने पत्रकारिताको स्थिति त्यति गतिहिन छैन, जस्तो हामीलाई कहिले कहिले लाग्दछ । तर, केही नभए एक से एक पत्रकारको जमात खडा भएको छ, जसमा केही गर्ने अठोट छ, भविष्यको सपना र नयाँ सन्देश छ, नयाँ उमंग क्षितिजहरु छिचोल्ने उत्साह छ । जसको पछिल्लो उदाहरण लुम्बिनी प्रेस क्लब भएको छ ।
सरसर्ती पत्रकारिताको व्यवसायलाई हेर्दा हिजोका पिँढी किन किनारा लागे । यो आधुनिकता भएको परिवेशमा, कहिले कहिले निराशा अवश्य भइन्छ । तर हिजोका पत्रकारहरुले त्यो संघर्षपूर्ण यात्रा तय नगरेको भए आज के हुन्थ्यो होला ? करिब २०४६ सालबाट आजसम्म जोड्दा ३६ वर्ष बितिसके, तर समस्या उनै छन् । कमसेकम समस्याहरु त बदलिनु पर्ने हो । तर पुराना समस्याहरु समाधान नहुँदै अझ नयाँ समस्या खडा भएका छन् ।
यसैले हामीले दीगो विकासका लागि अझै धेरै गर्नुपर्नेछ । आजकल पर्चकारिता भएको देख्दछुु । पत्रकारिता कम भएको देख्दछु । यो पनि सोचनीय विषय हो ।
हिजो प्रविधि नहुँदा दुःख, संघर्ष गरेर गरिने पत्रकारिता र आज पूुर्ण प्रविधिको उपयोग गर्दै गरिने पत्रकारितामा गुणात्मक सुुधारको खाँचो छ । यद्यपी केही न केही प्रगति अवश्य भएको छ ।
पत्रकारिताको चेतना र अवधारणागत ठम्याउन सकिने प्रगती भएको छ । आफूले पाएको अभिव्यक्ति स्वतन्त्रताको वास्तविक कदर अर्को पक्षको स्वतन्त्रताप्रतिको कदर पनि हो । त्यसतर्फ आजकलको पत्रकारिता सचेत हुुन जरुरी छ । राजनीति, दर्शन वा अन्य क्षेत्रका नीतिहरु बारे मतभेद देखिनासाथ अर्को पक्षको नैतिकतामाथि नै आक्रमण गर्नुलाई कदापी पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरेको भन्न मिल्दैन ।
प्रतिस्पर्धी राजनैतिक शक्तिहरु बारे र पत्रकारहरुका पारस्परिक व्यवहारमा त्यस्तो असहिष्णुता घट्नु सट्टा बढ्नु दुुखद् विषय हो ।
आम बेरोजगारी, वातावरणीय विनास, सार्वजनिक स्वास्थ्यको मुद्दा सबै तहका सरकारहरुका राजनीतिक भ्रष्टाचार व्याप्त हुँदै जाँदा पत्रकारहरुले व्यापक रूपमा कलम चलाउन पर्ने, खबरदारी गर्नुपर्ने र जनतालाई सुसूचित गराउने दायित्व थपिएको छ ।
लुम्बिनी प्रेस क्लबले पेसागत स्वार्थको रक्षा र प्रवद्र्धन गर्नु त छँदैछ, त्यसै सिलसिलामा यसले उपर्युुक्त विषयहरुमा पनि बढी ध्यान दिनुपर्ने भएको छ । यसको लागि क्लबभित्रका सबै पत्रकारहरुको आपसी एकता र सहकार्यसहित आवश्यक वातावरण निर्माण गर्न सबैको सहयोग चाहिन्छ । यसका कार्यक्रम रचनात्मक र सिर्जनात्मक भएको पाइएको छ । कार्यक्रमहरु नियमित भएका छन् र ती कार्यक्रमहरुको प्रभावकारिता पनि राम्रो देखिन्छ । संस्थाको गतिविधिले दिशानिर्देश गरिरहेको छ ।
सबैभन्दा ठुलो कुरा हामीले के पनि बिर्सनु भएन भने पत्रकारिताको जस्तोसुकै महत्व भए तापनि त्यो एक दायित्वपूर्ण सचेष्ट सामाजिक बौद्धिक सञ्चार प्रक्रिया हो । यसको अस्मिता समाज र समय सापेक्ष हुन्छ । समाजमा आएका परिवर्तन जनतामा पस्कनु हाम्रो दायित्व हो ।
२०२० को दशक यता लुम्बिनी क्षेत्रको पत्रकारिता विभिन्न उतारचढाव पार गर्दै यहाँसम्म आएको छ । मुक्ति सन्देश प्रकाशन गर्दादेखि रुपन्देही एफएम सञ्चालन गर्दासम्म सञ्चार उद्यमको विकास क्रमलाई जसरी नजिकबाट अनुुभव गर्ने मौका पाएँ त्यो पनि आजको पत्रकारिताका लागि महत्वपूर्ण सिकाई हो । हामी लुम्बिनीको पत्रकारिता जिम्मेवार, जवाफदेही र पारदर्शी पत्रकारिता होस् भन्ने चाहना राख्दछौँ ।
लुम्बिनी प्रेस क्लबको अगुवाईमा हिजोको पत्रकारिताको इतिहासको समीक्षा गर्दै वर्तमानको पत्रकारिताको गोरेटो तय गर्नु उपयुक्त हुनेछ । लुम्बिनी प्रेस क्लबले संस्थागत पत्रकारिताको क्षेत्रमा गरेका कार्यहरु महत्वपूर्ण नै छन् । यद्यपि अझै गर्नुपर्ने धेरै कामहरु छन् ।
(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित ‘लुम्बिनी प्रेस बुलेटिन’)








लेखकको सम्वन्धमा