लुम्बिनीमा पर्यटक : भारतीय र नेपाली घटे, तेस्रो मुलुकका बढे


भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटक संख्यामा गिरावट आएको छ । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२४ मा भन्दा २०२५ मा लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्या ५८ हजार १६ जानाले कमी छ । जुन अघिल्लो वर्षको तुलनामा ४.९५ प्रतिशतले कमी हो ।
कोषका अनुसार २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक आएकोमा २०२५ मा ११ लाख १४ हजार २६६ पर्यटकले लुम्बिनी घुमेका छन् । यो तथ्यांक नेपाली, भारतीय र तेस्रो मुलुकका सहितको हो । कोषका अनुसार लुम्बिनी घुम्न आउने नेपाली र भारतीय पर्यटक घट्दा तेस्रो मुलुकका भने बढेका छन् ।
कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार अघिल्लो वर्षभन्दा सन् २०२५ मा नेपाली ७.५१ र भारतीय १०.१४ प्रतिशतले घटेका छन् । तेस्रो मुलुकका भने २६.५४ प्रतिशतले बृद्धि भएको छ । सन् २०२५ मा नेपाली ७ लाख २ हजार ९१० पर्यटकले लुम्बिनी घुमेका छन् । यस्तै, भारतीय २ लाख ७० हजार ३८७ र तेस्रो मुलुकबाट १ सय ४ देशका १ लाख ४० हजार ९६९ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०२४ मा भने नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ र तेस्रो मुलुकका १ लाख ११ हजार ४०३ पर्यटक लुम्बिनी आएका थिए । ‘श्रेणीगत विश्लेषणले स्वदेशी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा फरक–फरक प्रवृत्ति देखाएको छ’, सूचना अधिकारी राईले भने, ‘सन् २०२५ मा पनि स्वदेशी पर्यटन लुम्बिनीको प्रमुख आधार नै रह्यो । तर, सडक संजाल, जेनजी आन्दोलन लगायत कारणले नेपाली पर्यटक आगमन घट्यो । यस्तै, भारतीय पर्यटक आगमन पनि घटेको छ, जसले सीमापार धार्मिक यात्रा तथा छोटो दूरीको भ्रमणमा सुस्तता आएको संकेत गर्छ ।’
राईले नेपाली र भारतीय पर्यटक आगमन घटिरहँदा करिब ३० हजार तेस्रो मुलुकका पर्यटक थपिएको जनाए । ‘यस वृद्धिले स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असरलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ र लुम्बिनीप्रति अन्तर्राष्ट्रिय तीर्थयात्री तथा सांस्कृतिक पर्यटकहरुको आकर्षण बढ्दै गएको पुष्टि गर्छ’, उनले भने ।
सन् २०२५ मा लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकहरुमा बौद्ध बहुल र पूर्वी एसियाली देशहरुको प्रभुत्व बढी देखिन्छ । कोषका अनुसार श्रीलंकाबाट सबैभन्दा बढी ३२ हजार २८७ पर्यटक लुम्बिनी आएका छन् । यस्तै, थाइल्याण्डबाट १९ हजार ८९१, म्यान्मारबाट १८ हजार ५२८ र चीनका १० हजार ७८९ पर्यटकले लुम्बिनी घुमेका छन् । यसैगरी भियतनामका ८ हजार ६१५, दक्षिण कोरियाका ३ हजार ८९५ र जर्मनीका २ हजार ३७८ पर्यटक आएका छन् । राईका अनुसार शीर्ष स्रोत मुलुकहरुमा एसियाली देशहरुको वर्चस्वले विश्व बौद्ध तीर्थ पर्यटनमा लुम्बिनीको केन्द्रीय भूमिका झल्काउँछ भने युरोपेली पर्यटकको उपस्थितिले यसलाई विश्व सम्पदा तथा सांस्कृतिक गन्तव्यका रुपमा बढ्दो मान्यता मिलिरहेको संकेत गर्छ ।
पर्यटक आगमन गिरावटको प्रमुख कारण देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक अस्थिरता पनि हो, जसले यात्राको आत्मविश्वास घटाएको र वर्षभरि योजनाबद्ध भ्रमणमा अवरोध सिर्जना गरेको छ । साथै, नेपालको प्रमुख पूर्व–पश्चिम राजमार्गको कमजोर सडक अवस्था, बारम्बारको क्षति, जाम र ढिलाइले स्थलमार्गबाट लुम्बिनी आउने स्वदेशी तथा भारतीय पर्यटकलाई निरुत्साहित गरेको छ ।
‘यी चुनौतीहरूका बाबजुद पनि हामी आशावादी छौं । गैरभारतीय अन्तर्राष्ट्रिय पर्यटकको निरन्तर वृद्धिले बौद्ध तीर्थ तथा सम्पदा पर्यटन केन्द्रका रुपमा लुम्बिनीको विश्वव्यापी पहिचान सुदृढ हुँदै गएको स्पष्ट हुन्छ’, उनले भने । पर्यटक बृद्धिका लागि लुम्बिनी विकास कोषले राजनीतिक स्थिरता, विशेष गरी महेन्द्र राजमार्गको सुधारसहित सडक पूर्वाधार सुदृढीकरण र यातायात पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
‘यद्यपि सन् २०२५ ले २०२४ को कीर्तिमानी सफलता दोहोर्याउन सकेन, सामान्य मात्रामा भएको कुल गिरावटले भन्दा बलियो अन्तर्राष्ट्रिय प्रदर्शनले लुम्बिनीको पर्यटन क्षेत्र दीर्घकालीन रुपमा सबल र सम्भावनायुक्त रहेको संकेत गर्छ’, राईले भने ।
कोषका सदस्य सचिव दीपक श्रेष्ठले पूर्वाधार विकास, डिजिटलाइज, थप प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढ्ने बताए । ‘कोषमा पनि केही सुधार गर्नुपर्ने देखिन्छ । सरसफाई, हाम्रो व्यवहार, अत्यावश्यक वस्तुका सेवाहरु थप गर्नुपर्छ । धार्मिक गतिविधिलाई बढवा दिन जरुरी छ’, उनले भने, ‘आगामी वर्ष पर्यटक आगमन थप बृद्धि हुने गरी वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नुपर्छ ।’








लेखकको सम्वन्धमा