June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रचनात्मक कार्यक्रम : प्रेस क्लबको पहिचान

Advertisement

कुनै पनि संस्थाको उत्पतिका पछाडि कारण र उद्देश्य हुन्छ । त्यहीँ लक्ष्य र उद्देश्य प्राप्तिका लागि संस्था निरन्तर क्रियाशील रहन्छ । विभिन्न कालखण्डमा स्थापना भएका कुनै संस्था दिगो बनेका छन् । भने, केही संस्था आफ्नो लक्ष्यमा खरो उत्रिन नसक्दा इतिहास बनेका छन् । आवश्यक प्रक्रिया पूरा गरेर संस्था दर्ता गर्न त सहज हुन्छ । तर, त्यसलाई कालजयी तुल्याउन सामाजिक उत्तरदायित्व बहन गर्दै स्मरणीय कार्यक्रम गर्नुपर्छ । त्यस्ता कार्यक्रमले समाजमा नयाँ बहस थालनी गर्न सक्नुपर्छ । कुनै पनि संस्थामा आवद्ध सदस्य त्यसका मेरुदण्ड हुन् । ती सदस्यको सक्रियता, क्रियाशिलतासँगै रचनात्मक कार्यक्रमले मात्र संस्थाको जग भरिँदै जाने हो ।

Advertisement

सामाजिक उत्तरदायित्व बहन गर्दै दिगो बिकासमा सघाउने कार्यक्रम सञ्चालन गरेर लुम्बिनी प्रेस क्लब राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ । समाज र त्यहाँ रहेका सरकारी, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, नागरिक समाज र सरोकारवालालाई प्रश्न गरेर झक–झकाउने मूल जिम्मेवारी रहेको प्रेस क्लब अहिले आफूले सञ्चालन गर्ने कार्यक्रममार्फत् रुपन्देहीमा सामाजिक अगुवा संस्थाका रुपमा स्थापित भएको छ ।

सामाजिक सरोकारकामात्र नभएर क्लबले आफ्ना सदस्य र पत्रकारिता क्षेत्रको उन्नयनका लागि क्षमता बिकास र उनीहरुको ज्ञानको दायरा फराकिलो तुल्याउने कार्यक्रम पनि गर्दै आएको छ । रुपन्देहीको सदरमुकाम भैरहवामा मुख्यालय रहेको संस्थाले मुलुक भित्रमात्र होइन बिदेशमा रहेका प्रेस क्लब र सञ्चारसम्बद्ध संस्थासित भगिनी सम्बन्ध गाँसेर नेपाली पत्रकारिताको क्षेत्रलाई बिस्तार गरिरहेको छ ।

२०७२ सालको तिहार । भैरहवाको पत्रकारितामा क्रियाशील साथीहरुबीच भएको सञ्चार र सञ्चारकर्मीको हकहित, पेशागत दक्षता बृद्धि, सामाजिक गतिविधिमा संलग्नता सम्बन्धि विमर्शपछि यस क्लब गठन भएको थियो । तिहारमा देउँसीभैलो खेलेर जन्म भएको लुम्बिनी प्रेस क्लबले परोपकारी अभियानबाट आफ्नो कामको सुरुवात गरेको थियो । आफ्नो कोष र दाताबाट सहयोग जुटाएर रोल्पाकी सुनकुमारी नेपालीको उपचारमा सघाएको थियो । साथैं सुनकुमारीको नाममा अक्षयकोष खडा गरेको छ । सुनकुमारीकी छोरीलाई ‘एसओएस बालग्राम’मा भर्ना गरेर शिक्षादिक्षा र रेखदेख सुनिश्चित गरेको थियो ।

परोपकारी कर्मबाट प्रेस क्लबले आफ्नो दिगो यात्राको थालनी गरेको थियो । त्यसपछि क्लबका सदस्यका लागि तालिम र भ्रमण आयोजना गरेको क्लबले एक दशक लामो सफल यात्रा तय गरिसकेको क्लबको वार्षिक कार्यक्रम अनुसार २०७५ सालमा आन्तरिक भ्रमणका क्रममा मुगुको पर्यटकीय स्थल रारा तालको भ्रमण गरियो । भ्रमणका क्रममा रारा ताल किनारमा रहेको राष्ट्रिय निकुञ्जको कार्यालय परिसरमा एउटा स्याउको बिरुवा रोप्ने अवसर मिलेको थियो । सायद त्यो बिरुवा अहिले हुर्किएर फल दिइरहेको होला, जसरी लुम्बिनी प्रेस क्लब पनि आफ्ना गतिविधिमार्फत हुर्किएर सामाजिक क्षेत्रको नेतृत्व बहन गरिरहेको छ । आन्तरिक भ्रमणपछि संस्थाले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा पर्यटकीय मुलुक थाइल्याण्ड रोज्यो । भ्रमणका लागि अनुकुल क्लबका सदस्य थाइल्याण्ड भ्रमणमा गइयो । त्यहाँ पुगेर रमाउने काममात्र भएन । प्रेस क्लबले थाइल्याण्डमा रहेको नेपाली दूतावाससित समन्वय गरेर छलफल कार्यक्रम आयोजना ग¥यो । साथै त्यहीँ बैठक बसेर ‘लुम्बिनी न्यूज फेस्टिवल’ आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेर फर्कियो ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा व्यापार, सांस्कृति र साहित्यिक उत्सव आयोजना भइरहेका थिए । कतिपय यस्ता कार्यक्रमका आयोजक सञ्चारकर्मी पनि हुन्थे । तर, पत्रकार÷सञ्चारकर्मी भएर पनि समाचारको उत्सव मुलुकमा आयोजना भइरहेका थिएनन् । त्यहीँ भएर लुम्बिनी प्रेस क्लबले समाचार उत्सव आयोजना गर्ने निर्णय गरेको थियो । यस निर्णयबाट क्लबका साथीहरु उत्साहित थिए । भने, सञ्चार क्षेत्र तरंगित बनेको थियो । क्लबका सदस्यको प्रतिबद्धता, क्रियाशिलता, समर्पण र सक्रियताले २०७६ साल मंसिर १ देखि ३ गतेसम्म लुम्बिनीमा भव्य रुपमा प्रथम लुम्बिनी न्यूज फेसिटवलको आयोजना भयो । टिकाटिप्पणी गर्ने र सम्भव हुँदैन भन्नेहरु पनि कार्यक्रमका सहभागी, कार्यक्रमको संयोजन र सफलता देखेपछि धन्यवाद दिन बाध्य भएका थिए । क्लबलाई उचाई प्रदान गरेको उक्त कार्यक्रममा मुलुकभरबाट सञ्चारकर्मीको सहभागिता थियो । काठमाडौंबाट मूलधारका ५० जनाभन्दा बढी सम्पादक सहभागी थिए । पत्रकारसँग सम्बद्ध संस्थाका प्रतिनिधि लुम्बिनी आएका थिए । आउँदा कार्यक्रम आयोजनाप्रति संशय बोकेर आएका सम्पादकले फर्किंदा मुक्तकण्ठले प्रशंसा गरेका थिए । वाही–वाही र प्रशंसा नगर्ने कोही थिएन ।

पहिलो आयोजनाका पछाडि थुप्रै चुनौंती थिए । हामीसँग कोषमा देउसी–भैलो खेलेको रकममात्र थियो । पहिलो कार्यक्रम भएकाले स्थानीय सरकार र दातालाई बुझाउन समय लाग्थ्यो । अप्ठ्यारो परिस्थितिलाई चिर्दै कार्यक्रम आयोजना गरियो । त्यसपछि प्रेस क्लबले जग्गा खरिद गरेर आफ्नै भवन निर्माण अभियान अगाडि बढायो । मायादेवी गाउँपालिका–८, मा अहिले भवनको बहुतले कार्यालय भवन छ । क्लबको अर्को महत्वपूर्ण कार्यक्रम होली मिलन पनि हो । तराईमा उल्लासपूर्वक मनाइने होलीलाई प्रेस क्लबले साझा पर्वका रुपमा मनाउने गरेको छ । आफ्नो वार्षिक क्यालेण्डरमा समाहित गरेर कार्यक्रम गर्दै आएको छ ।

होली मिलनमा रुपन्देहीका सम्पूर्ण संघसंस्थालाई आमन्त्रण गरेर सद्भाव छर्किने काम गरिरहेको छ । त्यस्तै, तीज पर्वलाई पनि क्लबले सामूहिक रुपमा मनाउँदै आएको छ । तीजमा क्लबका सदस्यका परिवारसँगै यस क्षेत्रका सामाजिक छवि भएका अगुवा र सरोकारवाला बोलाएर सामूहिक भोजन र नाचगान आयोजना गरिन्छ । अहिले प्रेस क्लबले आयोजना गर्ने तीज कार्यक्रममा सर्वत्र चासो व्यक्त गर्दै सहभागिता जनाउन थालिएको छ । क्लबले सामाजिक सदभाव र नागरिकबीच परस्पर सम्बन्धलाई मजबूत तुल्याउन हरेकवर्ष जाडोयाममा वनभोज कार्यक्रम आयोजना गर्छ । क्लबको संयोजनमा गरिने वनभोजमा सरकारी अधिकारी, राजनीतिक दल, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिलाई निम्तो गरिन्छ । सर्वपक्षीय सहभागिताका कारण क्लबले आयोजना गर्ने वनभोजपनि सदभावको वनभोजमा परिणत भइसकेको छ ।

पछिल्लो समयमा आएर प्रेस क्लबले छिमेकी मुलुक भारतमा रहेका विभिन्न प्रेस क्लबसँग भगिनी सम्बन्धलाई बिस्तार गरिरहेको छ । यसको सुरुवात केही वर्षअघिको सिक्किम भ्रमणबाट भएको थियो । सिक्किम भ्रमणका क्रममा त्यहाँ रहेको प्रेस क्लब अफ सिक्किमसित औपचारिक रुपमा भगिनी सम्बन्ध गाँसियो । त्यसपछि सिक्किम प्रेस क्लब र लुम्बिनी प्रेसबीच कार्यक्रम आदानप्रदान भइरहेको छ । त्यसलाई पछ्याउँदैं निकट छिमेकमा रहेको भारतको उत्तर प्रदेशमा रहेका प्रेस क्लबसित सम्बन्ध बिस्तारले तिव्रता पाएको छ । खासगरि महाराजगन्ज प्रेस क्लवबसित मैत्रीपूर्ण क्रिकेट खेल आयोजनाबाट अघि बढेको सम्बन्ध अहिले कांशी पत्रकार संघ र वाणारसी प्रेस क्लबसम्म पुगेको छ । पाका पुुस्ताका पत्रकारहरुको सम्मान र अन्तरक्रियाले इतिहाँसलाई जिवन्तता दिएको छ । पत्रकारहरुको हितका लागि कल्याणकारी कोषको स्थापना र सञ्चालन गरेर उदाहरणीय कार्य गरेको छ ।

संस्थाले वार्षिक रुपमा आयोजना गर्ने कार्यक्रमको सूचि लामो छ । सम्पन्न भइसकेका कार्यक्रम धेरै छन् । जति कार्यक्रम आयोजना गरेको छ, ती प्रभावकारी छन् । जस्तैं गत भदौंमा भएको जेन–जी आन्दोलन लगत्तैं मुलुकभर अस्थिर वातावरण थियो । सबैं मौन र मुकदर्शक थिए । त्यहीँबेला लुम्बिनी प्रेस क्लबले भैरहवामा सरकारी र नीजि क्षेत्रसँग समन्वय गरेर सद्भाव ¥याली आयोजना ग¥यो । यसबाट समाज अन्योलमा रहेको बेला प्रेस क्लबले अन्योल चिर्न भूमिका खेल्दैं आएको प्रष्ट हुन्छ । साथैं प्रश्न गर्ने पत्रकारले सामाजिक सद्भाव कायम राख्न र समाजलाई स्थिरमार्गमा डोर्याउन सक्छन् भन्ने पनि देखाउँछ । तर, क्लबले आफ्नो पहिचानलाई कायम राख्न र भविष्यमा पनि सामाजिक अगुवाका रुपमा आफूलाई अगाडि बढाउन रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । र, यसमा सबैं सदस्यले हातेमालो गर्नुपर्छ ।

(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित ‘लुम्बिनी प्रेस बुलेटिन’)