सामूहिक खेलकुद महोत्सव सम्पन्न : रनिङसिल्ड एभरग्रिनले हात पार्यो


भैरहवा– एथलेटिक्स तर्फका विभिन्न खेलसँगै सामूहिक विद्यालय परिवार रुपन्देहीको ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ सोमवार सम्पन्न भएको छ ।
यस बर्षको सामूहिक खेलकुद कार्यक्रमको उपाधि मायादेवी–७ स्थित एभरग्रिन प्यासेफिक हाइस्कूलले हात पारेको छ । महोत्सवमा सहभागी रहेका बिद्यालयहरुमध्ये सर्वाधिक ९ वटा स्वर्ण पदक प्राप्त गरेर एभरग्रिनले रनिङशिल्ड जितेको हो ।
खेलकुद महोत्सवमा ६ वटा स्वर्ण पदक प्राप्त गर्दै एभरेष्ट मोर्डन इङ्गलि स्कुल द्वितीय र ४ स्वर्ण पदक प्राप्त गर्दै सञ्जिवनी शिक्षा सदन तृतीय भएका छन् । १८ विद्यालय सदस्य रहेको सामूहिक विद्यालय परिवारमा एथलेटिक्स तर्फका विभिन्न खेलमा १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
२ स्वर्ण, २ रजत र २ काँस्य पदक प्राप्त गर्दै नमूना इङ्गलिस बोर्डिङ स्कूल सिनियर समूहतर्फको वेष्ट टिम भएको छ । ५ स्वर्ण पदक प्राप्त गर्दै एभरेष्ट मोर्डन इङ्गलिस स्कूल जुनियर समूहतर्फको वेष्ट टिम बनेको छ । भने, ३ स्वर्ण पदक प्राप्त गर्दै सव जुनियर तर्फको वेष्ट टिम एभरग्रिन प्यासेफिक हाइस्कूल बनेको छ ।
भैरहवा र आसपास क्षेत्रमा संचालित निजी विद्यालयहरुको छाता संगठन सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा मंसिर १९ गतेदेखि ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ सुरु भएको थियो ।
गत मंसिर १९ गतेदेखि सञ्चालन भएको यो महोत्सवको प्रथम चरणमा २२ गतेसम्म क्रिकेट प्रतियोगिता र दोस्रो चरणमा २३ र २४ गतेसम्म भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । २७ गतेदेखि २९ गतेसम्म एथलेटिक्स प्रतियोगिता सहित सोमबार महोत्सवका ४८ चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन् ।
यस अघिका लगातार दुई बर्षसम्म सामूहिक खेल महोत्सवमा उत्कृष्ट बन्दै मनकामना इङ्गलि हाइस्कूलले रनिङशिल्ड हात पारेको थियो । लगातार ३ बर्षसम्म रनिङशिल्ड हात पारेमा सम्बन्धित बिद्यालयको निजी हुने सामूहिक बिद्यालय परिवार रुपन्देहीका पूर्व अध्यक्ष गोकुल पोखरेलले बताए ।
बिजेता टिम तथा खेलाडीलाई सिल्ड तथा पुरष्कार प्रदान गर्दै सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँले सवै बिद्यार्थीले पढाइको साथसाथमा खेलकुदलाई पनि ध्यान दिन आग्रह गरे । ‘विभिन्न खेलकुदबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म यही सामूहिक खेलकुद महोत्सव भएकाले सामूहिक बिद्यालय परिवारको यो खेलकुद महोत्सवको योगदान ठूलो छ’, खाँले भने, ‘खेलले शरिरीक र मानसिक रुपमा स्वस्थ बनाउँछ ।’
सामूहिक विद्यालय परिवारका अध्यक्ष सम्साद इद्रिशीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निम्ति २०५९ सालदेखि नै सामूहिक खेल महोत्सवको आयोजना गर्दै आएको बताए । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले सवै स्कूलले एकजना खेलकुद शिक्षक राखेर खेलकुदका गतिबिधि बढाउन जरुरी भएको बताए ।








लेखकको सम्वन्धमा