म एक : जिम्मेवारी अनेक


बिहानको ४ः३० बजेको घण्टी जस्तै मेरो आँखा खुल्छ । लगत्तै तयार भैदिनुपर्छ छिनभरमै आफ्नो संसार चलाउन एक आमा, एक शिक्षक र एक समर्पित गृहणीको रुपमा । कहिलेकाँही लाग्छ, ‘मेरो दिन सूर्यदय भन्दा अगाडि किन शुरु हुन्छ ?’ तर, फेरि आफै जवाफ दिन्छु, ‘किनकी म आमा, शिक्षक र गृहणीको त्रिपक्षीय भूमिकामा पो छु त ।’ कहिलेकाँही त दिक्क लाग्छ, सम्झन्छु भगवान सोच्छु तिमिले न्याय देउ वा नदेउ म तिमिलाई विश्वास गर्न छाड्दिनँ । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै हार नमान्ने गर्दा नै जीवन साँच्चिकै जीवनजस्तो हुने रहेछ । मेरा सपनाहरु साना छैनन् तर सपनाभन्दा ठूला छन्, मेरा जिम्मेवारीका पहाड ।
छोरीको कपडामा प्रेस, छोराको जुत्ता पालिस मात्र होइन भोलि बिहानको लागि दाल, तरकारी समेत केलायर राख्छु अघिल्लै साँझ । भान्सामा चिया उम्लिँदा मनमनै दिनको तालिका बनाउन व्यस्त रहन्छु । छोरीको असाइनमेन्ट, छोराको नास्ता, कक्षामा टेष्ट लिनुपर्ने, घर आउँदा बजारबाट ल्याउनुपर्ने सामानको लिष्ट, जसको सुची कसैले बनाइदिँदैन । म आफै घरको ढुङ्गा, किल्ला र आधारको रुपमा उभिने गरेकी छु । व्यस्त रहनु त राम्रो हो तर अति व्यस्त चलिरहेको छ मेरो जीवन यात्रा ।
विद्यालयको गेटबाट छिरेपछि मेरो पैतालाले थकाई मेटिदिन्छ । मानौं घरको झन्झहट त्यही बाहिरै छोडेर नयाँ रुप धारण गर्छु । कक्षामा छिर्दा बच्चाहरुको ‘गुड मर्निङ मेम’ मेरा लागि सौगात बन्छ । म अङ्ग्रेजी विषय पढाउँछु माध्यमिक तहलाई । मलाई लाग्छ, अहिलेको विद्यार्थीले कितावी कोरा ज्ञानका अतिरिक्त व्यवहारिक सिप, संस्कार, आधुनिक प्रविधिप्रति पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।
विश्वनै एउटा गाउँ (ग्लोबल भिलेज)को रुपमा रहेको बर्तमान अवस्थामा भोलि यी विद्यार्थीले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नुपर्ने कारणले Think Globally, Act Locally भन्ने उक्ती अनुसार विद्यार्थी लगनशिल भएर लाग्नुपर्ने लाग्छ । निरन्तर समय दिएर जुनसुकै विषयमा लाग्दा त्यसले सफलता दिने कुरा म आफ्नो नै जीवनबाट सिकेको विषय विद्यार्थीलाई बेलाबेला सम्झाउँछु ।
स्कुलबाट फर्कंदै गर्दा गेटक्रसकै क्रममा म देख्छु, सूर्य थाकेर पश्चिम तिर डुब्दैछ । तर, म भने अझै शुरु मात्रै हुँदैछु । एउटा छोरो पिठ्यूँमा र छोरी हातमा डोर्याउँदै थकित मुद्रामा कोठामा पुगेछि हातेब्याग फालेर लामो श्वास लिन्छु र गम्भिर भावमा सोच्ने गर्छु, ‘ए जिन्दगी तिमी के यस्तै हौ ?’ एकैछिनमा छोरो भन्छ, ‘मामु भोट लादो, तोते शैलीमा । अनी छोरी मामु मेरो नोटबुक खै ? मेरो रातो टिसर्ट नै भेटिन यस्तै यस्तै …’ आमासँग प्रश्न अनगिन्ती, तर थकानका कुरा सुनिदिने कोही छैन । भान्सा, सरसफाई, पढाइ, धुलाई, कहिले बुहारी बनेर, कहिले साथी बनेर, कहिले आमा बनेर, त कहिले मनोवैज्ञानिक, शिक्षक बनेर । कहिले म मैलाई सोध्छु, ‘के म थाक्दिनँ ?’ फेरि मेरै मनले उत्तर दिन्छु, ‘थाक्न त मलाई पनि मन छ तर मेरो थकान सुत्न पाउँदैन ।’
केही वर्ष अगाडि श्रीमानको सरुवा भयो । त्यसै वर्ष नै छोरा जन्मियो । यसै बेलादेखि शुरु भयो मेरो संघर्षका दिनहरु । तीन महिनाको सुत्केरी विदा पछि विद्यालय आउन थालें । केही समय त उनको आमा–सासुआमाले बच्चाको केयर गरिदिनुभयो, बच्चा करिब डेढ वर्षको हुँदादेखि सबै जिम्मेबारी एक्लै निभाइरहेकी छु, एक आमा, शिक्षक र गृहणीको रुपमा । अब त बच्चाहरु प्नि केही ठुला भैसके ।
छोरी सघाउन सक्नी भएकी छन् । विभिन्न विद्यालयमा अध्यापन गराएका विद्यार्थीहरुले गरेको प्रगति, कति सरकारी जागिरे कति आर्मी–प्रहरी, कति उच्च अध्ययन गर्न विदेश पुगेका दृष्यहरु, आफूले विभिन्न विद्यालयबाट पाएका सम्मानपत्र, कदरपत्र, अभिभावकको आशा र सद्भाव, शिक्षक छनौट समितिमा बसेर गरेको काम जस्ता, स–साना उपलब्धिले मन आनन्दित हुन्छ । जीवनले मलाई धेरै पटक च्याप्यो, दबाउन सकेन ।
अब त जिन्दगीलाई नयाँ ढङ्गले बुझ्न सिकेकी छु । सुख र दुःख जीवनका दुई पाटा रहेछन् । मनले हार मान्दा जीवनले जित्न नसक्ने रहेछ । आत्तिनु र मात्तिनु दुबै हानिकारक रहेछन्, पवित्र समभाव, इमानदारिता, नैतिकवान, कर्तव्यनिष्ठ, परिश्रमको कदर हुँदोरहेछ । साना–साना खुसीहरु संग्रहबाट नै पूर्ण खुसी प्राप्त हुँदोरहेछ । मेरा लागि सफलता कुनै पद वा पदक होइन । बरु छोराछोरी परिवारको हाँसो, विद्यार्थीको प्रगति, आफन्तको मनमा बसेको गर्भिलो छाप हो । आफ्नो स्वास्थ्य, संस्कार, आनीबानी, बोलीबचन, सोंच, अध्यामिक रागको समिश्रण हुन्छ सफलतामा ।

आज आफ्नै जातीबारे घोत्लिन मन लाग्यो । नारी जाती । वास्तवमा आजका नारी परम्परागत सृष्टिकर्ता र पालक मात्र होइन परिवार, समाज र राज्यकै समग्र विकासका मेरुदण्ड हुन् । हरेक क्षेत्रमा नेतृत्व दिन सक्ने ल्याकतवाला शक्ति हुन् । संसार चलाउने आधारस्तम्भ हुन् । घरमात्र होइन संसार नै उज्यालो बनाउने शक्ति छ उनीहरुमा । नारीलाई सम्मान, समानता र अवसर प्रदान गर्नु केबल अधिकार होइन– समाजको दिगो विकासको आधारभूत शर्त पनि हो । पुरुषप्रधान समाजको सोंच विस्तारै परिवर्तन त भैरहेको छ । यसलाई अझै रफ्तारमा दौडाउनुपर्ने लाग्छ । अहो, धेरैबेरपो सोंचेर बसिराखेकी हैट पौने दश भैसकेछ ।
(शकुन्तला भूर्तेल स्थायी मावि अङ्ग्रेजी शिक्षकको रुपमा गुल्मी जिल्लाको कालिगण्डकी गा.पा.४ स्थित श्री जीवनोद्वार माविमा कार्यरत छन् । उनको घर स्याङ्जा हो भने माइतीघर नवलपुर जिल्ला । यो लेख उनको सत्य घटनामा आधारित छ । एक्लै रहेर बच्चा हुर्काउने, घरमा गृहणीको रुपमा काम गर्ने र शिक्षकको रुपमा विद्यालयमा अध्यापन गराउँछिन् । उनका श्रीमान अर्जुन अर्याल, राष्ट्रिय वाणिज्य बैंक भैरहवामा सहायक प्रबन्धकको रुपमा कार्यरत छन् ।)
भिरकोट -५, स्याङ्जा
हालः कालिगण्डकी -४, गुल्मी








लेखकको सम्वन्धमा