म मरें भने हजुर के गर्नुहुन्छ ?

“म मरें भने हजुर के गर्नुहुन्छ ?” ऋद्धिले एकदिन विनायकलाई सोधी । “यही प्रश्न मैले तिमीलाई सोधें भने तिमी चाहिं के गर्छौ नि !” विनायकले ऋद्धिलाई उस्तै जवाफ फर्कायो ।
हजुरले चाहिं अर्को बिहे गर्नुपर्छ । ऋद्धि एक्कासि गम्भीर भई । हेर्दाहेर्दै उसका आँखामा आँसु टलपलाए तर अरू केही बोलिन । निकै बेरको सन्नाटापछि विनायकले ऋद्धिलाई आफूतिर तान्यो र आँखाका कोस पुछ्दै भन्यो, “यस्ता कुरा गर्नुहुन्छ ? मर्ने कुरा हाम्रो वशमा छैन । मर्न त सँगै मर्न पाए हुन्थ्यो नि, तर मर्छु भनेर सोच्नै हुँदैन क्या । आफूले नै आफूलाई कमजोर बनाउन हुन्छ ? अब यस्ता कुरा नगरौं है हामी ।”
हस् भनेर ऋद्धि विनायकका काखमा पल्टिई । विनायकले धेरै बेर ऋषिको केशराशि सुमसुम्याइरह्यो ।
“धत्, दिउँसोमास यस्तो गर्नहुन्छ ! अहिले नानी आइपुग्छे कलेजबाट !” ऋद्धि अलिक पर सरी र रबरले केश बाँध्दै भनी, “म चिया पकाउँछु है । आज सँगै खाने ।”
“भो भो पर्दैन । बिरामी मानिस ! म पकाइहाल्छु नि !” विनायक भान्सातिर पस्यो र चिया पकाउने तरखरमा लाग्यो ।
“बाबा ! एउटा कुरा भन्छु ल, नरिसाउनु है । हाम्री नानीले मास्टर्स पनि सक्न लागी । यसपालि बिहे गरिदिऊँ न यसको । केटो हेरेको छ जस्तो लाग्छ मलाई । ऊसँगै पढ्ने रे । मैले फोटो हेरेको उसको जोडी मिल्ने खालको छ ।”
छोरीले बाबा भन्ने भएकाले ऋद्धि पनि विनायकलाई प्रायशः बाबा भनेर बोलाउँछे । उसले कहिल्यै छोरीको बिहेको कुरा गरेकी थिइन् तर आज किन हो आफैँले कुरा उठाई ।
“हो त ? हो भने आउँदो मंसीरमा हाम्रो बिहे भएको पनि तीस वर्ष पुग्छ । तिम्रो जन्म दिन पनि मंसीर नै हो । तिम्रो जन्मदिनमा नानीको बिहे पनि गरौं । तिम्रो जन्मदिन पनि मनाऔं । दुवैको भोज एकै चोटि गरौंला । हुन्न ?”
“पैसा बचाउने कुरामा त हजुरलाई कसले सक्छ र ? साँच्चै भनेको है मैले । म नानीलाई कुरा गर्छु नि केटो बोलाएर घरमा ले भनेर !”
“ल ल हुन्छ । यी चिया लेऊ ।”
दुवै चिया खान थाले । ऋद्धि आफ्नो विगततिर फर्की । उसको बिहे बीस वर्षको उमेरमा विनायकसँग भएको हो । विनायकको परिवार सामान्य खानलाउन मात्र पुग्ने थियो । ऋद्धि बुहारी बनेर घरमा पस्दा विनायकको जिम्मेवारीमा चार जना भाइबहिनीलाई पढाउनु थियो । बाआमालाई गरीबीले सताएर होला स्वास्थ्य राम्रो थिएन । यसैले विनायकले पढाइ र कामलाई सँगै लानुपरेको थियो । बिहेपछि ऋद्धिले पनि लोग्नेलाई हर तरहले साथ दिएकी थिई ।
उनीहरूले सल्लाह गरेर नै एक सन्तान जन्माए । छोरीका आमाबा हुन पाउँदा दुवै खुसी भए । उनीहरूले एक सन्तान मात्र बनाउने निधो गरे तर छोरी दुई वर्षकी नहुँदै परिवार र समाजले ऋद्धिलाई छोरा जन्माउने सल्लाह दिए । ऋद्धिले यो कुरा लोग्नेलाई पनि सुनाई तर विनायकले उसलाई ठाडै खायो । फेरि यस्ता कुरा गरेमा सम्बन्ध विच्छेद गरेर एक्लै बस्छु भनेर गाली पनि गर्यो । बुझ्झकी लोग्नेले यति राम्रो कुरा गरिदिएपछि ऊ ढुक्क भई र दुवैले एक सन्तानलाई राम्रो शिक्षादीक्षा दिने निर्णय गरे ।
छोरीले बाह्र कक्षा सकेर क्याम्पस पढ्न थालेको केही दिनपछि ऋद्धिलाई आफ्नो स्तनमा केही पीडा भएको महसूस भयो । उसले लोग्नेलाई यो कुरा सुनाई । विनायकले झसङ्ग हुँदै भन्यो, “हँ, किन यस्तो कुरा पहिले नै नभनेको ? क्यान्सर पनि हुन सक्छ यो त । तिम्री दिदीको कुरा बिर्सियौ । कति खर्च गरेर बचाएको होइन ? हिँड आजै जानुपर्छ जँचाउन ।”
उनीहरू जँचाउन गए । क्यान्सर अस्पतालका डाक्टरले प्रारम्भिक जाँच गरे र भनें, “मैले यसै भन्न सकिनँ । कुन स्टेजमा छ, एक पटक राम्ररी जाँच्नुपर्छ । सुरु नै रहेछ भने त किमो गर्दा निको भइहाल्छ । हेरौं तपाईंहरूको भाग्य कस्तो छ ? यो दुईतीन कुरा जाँच्नुपर्छ । एउटा जाँच चाहिं यहाँ हुँदैन । हामी बाहिर पठाउँछौं । एक हप्तापछि आउनुहोला नि ।”
एक हप्तापछि उनीहरू अस्पताल पुगे । सबै रिपोर्ट आइसकेको रहेछ । डाक्टरले विनायकसँग एकान्तमा कुरा गर्न चाहे तर ऋद्धिले सँगै कुरा गर्दा हुन्छ भनेपछि डाक्टरले भने, “प्रयास त गर्नैपर्छ तर अलिक ढिला भएछ । यो अन्यत्र पनि फैलिएको छ । शल्यक्रिया गरेर फाल्न सकिन्छ तर पछि किमोले के गर्छ अहिले भन्न सकिने स्थिति छैन । खर्च पनि लागिहाल्छ ।”
डाक्टरको कुरा सुनेर ऋद्धि निराश भई तर विनायकले तुरुन्तै भन्यो, “धत्, निराश बन्न हुन्छ ? म छैन र ? पैसा त जसरी पनि जम्मा हुन्छ । अपरेशन गर्नुपर्छ ।”
“सल्लाह गरेर आउनुहोस् न । एकदुई दिनमा आउँदा हुन्छ । अहिले जानुहोस् । यो एउटा औषधी लेखिदिन्छु, खानुहोला । अलिक बिसेक हुन्छ ।” डाक्टरले ढाडस दिए ।
करीब पन्ध्र दिनपछि ऋद्धिको शल्यक्रिया भयो । शल्यक्रिया भएका दिन ऋद्धिमा एउटा आशा पलायो तर एउटा स्तन नै काटेर फाल्नुपर्दा उसलाई सारै पीर पर्यो । स्त्रीका लागि स्तन सन्तानलाई स्तनपान गराउने र सौन्दर्यको माध्यम मात्र नभएर अरू पनि केही हो भन्ने उसलाई थाहा थियो ।
लोग्ने समझदार भए पनि यो मनमुटाबको विषय बन्ला भन्ने पनि उसलाई चिन्ता थपियो । पतिको माया र सहयोगमा त शङ्का गर्ने ठाउँ थिएन तर उसलाई छोराको कर्म चलाउने पनि रहर थियो । उसले यसलाई आफ्नो कर्तव्य ठानेकी थिई । शरीरको घाउ केही निको भए पनि उसको मनको घाउ निको भएको थिएन । लोग्नेले अर्को बिहे गरिदिए हुन्थ्यो भन्ने उसलाई लागिरहेको थियो । विनायक चाहिं यस्तो कुरा सुन्न चाहँदैनथ्यो ।
मनको घाउ निको पार्न नै ऋद्धिले छोरीको बिहेको कुरा गरेकी थिई ।
छोरीको स्वीकृतिपछि ऋद्धि र विनायकले मंसीर १५ गते नानीको बिहे गर्ने निर्णय गरे । उसले आफैंसँग पढ्ने र परिवारको स्तर मिल्ने केटो हेरेकी रहिछ । दुवै परिवारको कुरा मिलेपछि दुवै परिवारले सँगै भोज गर्ने निर्णय पनि गरे । घरका खसीबाख्रा र एउटा सुर्को खेत बेचेर बिहेको जोहो भयो ।
मंसीर १५ गते छोरीको धूमधामसँग बिहे भयो । जन्ती अलिक चाँडो निस्कनुपर्ने भएकाले १ बजेतिर बेहुली अन्माइयो । बेहुली अन्माउनु पूर्व नै विनायकले ऋद्धिको जन्मदिन शास्त्रीय विधिले मनाइदिए । उनले पनि उपहार पाइन् । विनायकले जिस्काउँदै ऋद्धिको दाहिने हातको साहिंली औंलामा औंठी लाइदियो । यो देखेर बेहुलाबेहुली पनि मुस्काए । बेलुका चार बजेतिर भोजभतेर सकियो, बोलाएका सबै पाहुना आइदिए । परिवार भित्रका बाहेक अरूले आशीर्वाद दिएर फर्के । ऋद्धि पनि निकै गलिछ, आफ्नो ओच्छ्यानमा गएर पल्टी ।
एकै छिनपछि ऋद्धिले “बाबा” भनेर बोलाई । विनायक दौडँदै पुग्यो । ऋद्धिलाई अलिक गाह्रो भए जस्तो लाग्यो । घरमा अझै केही काम बाँकी नै थियो । अरूलाई काम छाडेर विनायकले मोटरसाइकल निकाल्यो र ऋद्धिलाई लिएर अस्पतालतिर लाग्यो ।
“ए ए ए… कस्तो कुदाएको मोटर साइकल ? मर्ने भो यो । रोक रोक ।” ट्रकको खलासीले ड्राइभरलाई सचेत त गरायो तर ड्राइभरले ब्रेक लाउन सकेन । ऋद्धि र विनायक दुवै चक्कामुनि परे । ब्रेक लाएर हेर्दा दुवैको प्राणपखेरु उडिसकेको थियो । उता विनायकको गोजीमा लगातार मोबाइलको घण्टी बजेको सुनेर खलासीले फोन उठायो । उठाउनासाथ फोनबाट आवाज आयो, “आमाबाबा, चिन्ता नगर्नु ल हामी राम्ररी घर पुग्यौँ ।” फोनको आवाज सुनेर खलासी टुसुक्क बस्यो र भक्कानियो । -sahityapost
प्रतिकृया दिनुहोस्