April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

संकल्प

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रूपमा मनाउँदै थियो सरकार ।
एउटा गोष्ठीमा भ्रष्टाचारविरुद्धको अभियानमाथि प्रकाश पार्दै मन्त्रीज्यू भन्दै हुनुहुन्थ्यो-

Advertisement

“भ्रष्टाचार समाजको कलंक हो । एउटा महारोग हो । आर्थिक अपराध हो । सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ । म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ ।”

Advertisement

सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ संकल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर मन्त्रीज्यू बस्नुभयो ।

त्यहीँ अगाडि टेबुलमा दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठूल्ठूला अक्षरमा आजसम्म भएका भ्रष्टाचारहरूको बारेमा खोज–अनुसन्धानमूलक लामो लेख छापिएको रहेछ ।

भ्रष्टाचार गरेर कुनकुन मन्त्री र नेताहरूले के कति, कसरी अकुत सम्पत्ति कमाए भन्ने बारेमा एउटा लामो नामको सूची र विवरणहरू रहेछ ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । विस्तारै त्यो उज्यालो मुखमण्डल भयमिश्रित मलीन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलोकालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर हतार भएको संकेत गर्दै अर्को भ्रष्टाचारविरुद्धको गोष्ठीमा सहभागी हुन दौडिनुभयो । -baahrakhari