December 10, 2024, Tuesday
२०८१ मंसिर २५

संस्मरण: भँगाहाको त्यो राँगो

भँगाहा गाउँको एउटा राँगाले त्यस दिन हाम्रो यात्रा मंगलमय बनायो । कुरा खोलेरै भन्नुपर्दा २०५६ सालमा महोत्तरी जिल्लाको प्रशासकीय पगरी सम्हालेर बस्दै गर्दा यो पंक्तिकारलाई त्यो स्वर्णिम अवसर प्राप्त भएको थियो । त्यतिखेर आसन्न निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख पदीय दायित्व थियो ।

पहाडमा थुप्रै चुनाव गराए पनि त्यस जिल्लामा भर्खर खटिएका हामी प्रशासक तथा सुरक्षा प्रमुखहरूलाई तराईको चुनावी अनुभव थिएन । त्यसैले हाम्रासामु चुनौतीका चाङहरू महाभारत पहाड बनेर ठडिएका रहेछन् ।

Advertisement

सरुवा भएर जानेबित्तिकै स्थानीय शिक्षक, व्यापारी, नेता, सन्त–महन्त र भद्रभलाद्मीसँग कुराकानी गर्दा पो चुनाव सम्पन्न गराउने काम चानचुने हैन भन्ने थाहा भयो । अनि त चुनावमै केन्द्रित भएर बारम्बार बैठक बस्न थाल्यौँ । बाधा, व्यवधान हटाउने हाम्रो अभियानमा सबै जनसमुदाय र तप्का अटाउने रणनीतिबारे दैनिकजसो अबेरसम्म छलफल गर्दै रह्यौँ ।

मतदातालाई सुसूचित गरेर मतदानमा अनिवार्य सरिक गराउनु नै पहिलो र दुर्लङ्घ्य चुनौती देखियो । नत्र त एउटाको मतपत्र अर्कैले हालेर चौपट ! अनि लाग्यौँ एकगठ भएर देहातका गाउँटोल, बस्तीबस्तीको स्थलगत दौडाहामा ।

जिल्लाका सबै भेगभाग घुमेर वस्तुस्थिति बुझ्ने, मतदाता अभिप्रेरित गर्ने र सुरक्षाको प्रत्याभूति दिने कार्यक्रम तय थियो । जसानुसार त्यस दिन प्रहरी र जनसम्पर्कका दुवै एसपी र यो पंक्तिकार (प्रजिअ)समेत जलेश्वरबाट जिल्लाको मध्य भेगतिर निस्किएका थियौँ ।

एसपी साबले चलाएको जापानी पिकअप गाडीमा बसेर मज्जैले गफिँदै देहातका थुप्रै गाउँबस्ती, खोलाखोल्सा, उखुबारी पार भएर भँगाहा गाउँ निस्किनै लाग्दा बीचबाटोमा तेर्सिएको एउटा खोल्सी तर्नुपर्ने देखियो ।

झट्ट हेर्दा माझमा छिपछिपे पानी जमेकोे पोखरी सानो लागेको थियो । तैपनि, तराईका पोखरीको अन्दाज गर्न सकिन्न भन्ने भएर ‘ए ए, पख्नोस् पख्नोस्…’ भन्दै थिएँ म, तर बढी आत्मविश्वासले होला, गाडी हाँक्दै गरेका एसपी साबले मेरो भनाइ नसुनी हिलेपोखरीमा गाडी झ्वाम्मै हुली पो हाले !

त्यता प्रवेश गर्नेबित्तिकै अँगेरी खाएको बाख्रोजस्तै गाडी त फनफनी घुम्न पो थाल्यो । गाडी फस्दै गएपछि दह्रो गियर लगाएर उतार्न खोज्दै थिए एसपी साबले, तर केही लागेन । पार गराउने हिम्मत गर्दागर्दै अत्याधुनिक पुस्ताको त्यो सुन्दर पिकअप गाडीले एकपटक मज्जैले हुंकारको आवाज दिया अनि फिसिसिस्स फ्वाँस्स्स्स गर्दै प्राणवायु छोडिदियो ।

पछाडिका दुवै चक्का अधोमार्गी बनेर झन्झन् भासिँदै गए । घडरक–घुडुरुक्क गर्दागर्दै थोरै धुवाँ फालेर सुइयँ आवाजसहित गाडीको स्टार्ट पूरै बन्द भयो । चारै चक्का र आधासरो ज्यान चुर्लुम्मै डुबाएर त्यो मजबुत जापानी गाडी देहातको एकान्त हिलेपोखरीमा थ्याच्चै थच्चिएर समाधिस्थ बन्यो !

आधासरो डुबेको गाडीबाट बल्लतल्ल ढोका खोलेर हामी ठूल्दाइहरू छाम्लाङछुम्लुङ गर्दै बल्लतल्ल पाखा लाग्यौँ । पछाडि बसेका सुरक्षाकर्मी केटाहरू पनि हतारहतार उत्रिइहाले । धेरै भिजेकाले हामीचाहिँ जुत्ता, पाइन्टलगायत कपडा निचोर्न थाल्यौँ । पानी निचोरिए पनि दबदबे हिलोमा लतारिएका कपडा आफ्नो असली पहिचान छोडेर विरूप देखिएपछि अर्को सास्ती पनि आइलाग्ने नै भयो ।

यता, पोखरीबाट गाडी तुरुन्तै निकाल्ने एसपी साबको आदेशको पर्रा बिजुली वेगमा छुटिहाल्यो । हामीसँगै गएका प्रहरी ठिटाहरूको बिजुली गारत पनि लारेलुरे तालको कहाँ थियो र ! आदेश छुट्नासाथ उनीहरू पनि भएभरको पाइन झिकेर अधिकतम बुताबर्कतसहित हर्कतमा आए ।

जलसमाधि लिएको गाडीलाई कोही पाखातिर घचेट्न र कोही टुचिन लगाएर अगाडि तान्न थाले । तर, तानतुन, झाँगलझुँगल पार्दा सफा, सुकिलो जापानी गाडी त प्रेमपूर्वक हिलोमा झन्झन् भास्सिन पो थाल्यो । हुँदाहुँदै पोखरीको नरम, मांंसल, मुलायम मायाजालमा सांसारिक प्राणीझैँ नजानिँदो किसिमले विस्तारै झन्झन् फस्दै गयो ।

हामी हाकिम भइखाका ठूलेहरू भने हिलाबाट किनारा लागेपछि त झन् अजिब तालले हक्क न बक्क पर्यौँ । भँगाहा गाउँ अलि परै देखिँदै थियो । हामी गाडी उतार्ने मद्दतको आशा लिएर त्यतै मुखातिब थियौँ । तर, उल्टै  त्यतैतिर फाँटमा छाडा छोडिएको एउटा विशालकाय राँगो परैदेखि स्वाँफ्वाँ गर्दै र सिङ थापेर निहुँ खोज्दै हामी भएतिर आयो ।

गाउँ आउला भनेको त मुस्तण्ड राँगो पो आउँछ बा ! परबाट देख्तै कालो न कालो अनि विशाल अंग अवयव भएको त्यो राँगो क्यालिफोर्नियाको ब्ल्याक माउन्टेन बिर्साउने खालकै धम्मरधुस लाग्दथ्यो । हामी सन्त्रास र भयका चस्कासहित जिल्लाराम पर्दै थियौँ ।

प्रहरी अफिसर, जवानहरू गाडी उतार्नमा व्यस्त थिए । महिषासुरको कलियुगी अवतार भन्न सुहाउने दैत्याकार त्यो राँगो भने ठोसे सिङ उज्याएर गाडीको नगिच आइ पो हाल्यो । हा…हु… गरेर त्यसलाई रोक्न खोज्दै थियौँ हामी । तर, ऊ त झन्झन् राता आँखा पल्टाएर फूँः फूँः गर्दै सन्कियो र चारै खुट्टा फालेर उफ्रिँदै पट्टा खेल्न थाल्यो ।

उति बेरै सिँगौरी खेलेर भुइँ खस्रिँदै र भित्तो उधिन्दै गाडी उतार्नमा व्यस्त रहेका सुरक्षाफौजको जिउज्यानमाथि नै धावा बोल्ने पोजिसन पो देखायो । बन्दुक उज्याएर खट्याकखट्याक पार्दा झनै निहुँ खोजेर हामीतिरै अघि बढ्यो ।

दहबाट गाडी उतार्दै गरेका प्रहरी गार्ड जवानहरू पाखा उत्रिएर भागाभाग भए । हामी हाकिम भनाउँदा बबुराहरू पनि उनीहरूकै पछुवा इस्कर्टमा भागाभाग गर्न थाल्यौँ । भाग्ने कर्ममा हामी निकै सक्रिय भएकाले राँगाको डर पनि सासजस्तै बढिरहेको थियो ।

तर, इमानदार, अनुशासित सुरक्षाकर्मीले हामी हाकिमको पिछा छोडेर आफू अन्यत्र कुइँचमार ठोक्ने अधर्म गरेनन् । फौजी अनुशासनको पालना गर्दै हाम्रा पछाडि फालिम लागेर नै दौडी रहे । हामी भागेको देखेपछि विजेता शैलीमा राँगो झनै सन्किएछ कि कसो हो, पुच्छर ठड्याउँदै र बुर्कुसी मारेर पट्टा खेल्दै दपेट्न थाल्यो ।

हामी पनि कडा प्रशासक पल्टिएर हडबडीमै सल्लाह पनि गर्दै थियौँ । हामीसँग राइफलको कमी त थिएन, निर्णय क्षमतामा पनि शंका गर्ने ठाउँ थिएन । तर पनि हवाईफायर गर्दा राँगो झन् बिच्किएर हिंस्रक तालले आइलाग्ने अनुमान गर्यो हाम्रो टोलीले । आफू दुई कदम पछि हटेर कूटनीतिक तरिकाले राँगालाई तह लगाउनु नै उपयुक्त ठान्यो उच्चस्तरीय टोलीले पनि ।

अनि त के भाग्यौँ मज्जैले ! हामी विपरीत दिशातर्फ भागाभाग गरेको देखेर  राँगो झनै उत्साहित भएछ । सिङ थाप्दै, मुन्टो बटार्दै पछिपछि लागेर दपेट्न थाल्यो । छाडा राँगो साँच्चिकै त्यो भूगोलभरिको आततायी तानासाह बनेर हामीलाई आक्रामक बर्ताव देखाइरहेको थियो ।

एक छिनका लागि हामी पनि इमानदार हरुवा भएर उसको अघिअघि भागी नै रहेका थियौँ । बाटो हिँड्ने तमासे नरनारीहरू भने कहिल्यै कतै नदेखेको अभूतपूर्व राँगेजात्राका दृश्यले पेट मिच्दै हाँसोमै हराएर रमिता मनाइरहेका थिए ।

हातमा शस्त्रास्त्रको कमी त थिएन, तर मूले राँलाई ड्यांगै गोली ठोकेर ढालिहाल्नु पनि भएन । हवाईफायर गर्दा तर्सिएर झन् साह्रो आक्रामक हुँदै आइलाग्यो भने !

यस्तै के–के सोच्दै र धकाएको बोलीमा कुरा गर्दै दौडिँदै गयौँ । आधा किलोमिटरजति पर पुगेपछि बाटै किनारको खपडावाल कच्ची घरभित्र पसेर ढोका थुन्दै बल्लतल्ल शिर जोगाएका थियौँ ।

पछाडिबाट लखेट्दै आएको राँगाले हामी त्यो कच्ची घरभित्र पसेको देखिहालेछ । ऊ पनि त्यही घरको ठ्याक्कै ढोकाबाहिर रोकियो । अनि, अझै तुजुक देखाएर आँखा तर्दै भुइँ खोस्रिएर सिँगौरी खेल्न थाल्यो ।

कच्ची गारो हानेर हामी बसेको घरै भत्काउला भन्ने अर्को डर थपियो । यति बेर जिल्लाको शान्ति–सुरक्षा पूर्ण रूपले राँगाको ‘किड्न्यापिङ’मा परेर सानो झुपडीभित्र कैद थियो ! हामी हाकिम, जवान सबैले कहिल्यै नभोगेको रमाइलो हाहाकार भोग्नुपरेको अनुभव गर्दै थियौँ ।

“रातो–पहेँलो लुगा लगाएका महिला र निलो ड्रेसका प्रहरी देख्नै हुन्न यसलाई, ठाडै आइलाग्छ यो बदमास पड्के त । बीउको लागि सबै गाउँले मिलेर पालेको छाडा राँगो न ठहर्यो ! कहिलेकाहीँ त उसै साँढा पल्टिएर सोझासादा बटुवालाई समेत हैरान पार्छ यसले ।”

हामीले शरण लिएको घरका बूढा मान्छेले राँगोरहस्य खोल्दै गए । त्यो एरियाभरिकै लागि ब्याडको निम्ति पालेको साझा राँगो रहेछ । हिउँद–बर्खै बालीनालीमा छाडा छोड्ने र कसैले नकज्याउने गरेकाले त्यस क्षेत्रकै निरंकुश पशुराज बनिसकेछ ।

घरधनीले बाहिर निस्किएर हा…हु… गर्दै जति हप्काए पनि केही नसुनी हाम्रो खेदो गर्दै घरबाहिर बाटोमा सिँगौरी खेलिरहेकै थियो । घरबूढाको सुझावानुसार हामी पनि मोर्चा कसेर प्रत्याक्रमणको तयारीमा आपसमा सल्लाह गर्दै घरभित्र चुपचाप दुम्किएका थियौँ ।

खपडाको छाना र काँचा इँटाको गारो भएको त्यही कच्ची घर पनि सिँगौरी खेलेर भत्कायो भने ? यो महिषासुरको के ठेगान ! अर्को ठूलै समस्या खडा थियो हामी सुरक्षा अधिकारीसामु ।

“हेर हेर, सुरक्षा प्रमुखहरूको दुर्गति ! हेर हेर बिचराहरूको ताल ! एउटा राँगोले त सातो लियो । अब त्यत्रो आमनिर्वाचन कसरी पार लगाउलान् यार !”

आपसमा यस्तै ठट्टा र पानीआन्द्रे कुरा गर्दै हाँसिरहेका थियौँ हामी । घरभित्र लुकेको पनि पाँच–सात मिनेट बितेछ । शरण लिएकै धरबूढाको भनाइ पत्याएर प्रहरी जवानहरूलाई निलो युनिफर्म खोलेर कट्टु–गन्जी मात्रै लगाउन अह्रायौँ । अनि, त्यसै घरका बर्खे दाउरा र भाटा झिकेर उज्याउँदै राँगामाथि जाइलाग्न हाम्रा सुरक्षा सेनालाई ‘युद्ध मोर्चा’मा खटायौँ ।

राँगो पनि सडकको जमिन खोसिँदै र फाँ…फुँ… गर्दै घरको सामुन्ने डटिरहेकै थियो । लाठी आक्रमणको बेला हाम्रा ठिटाहरू हारेको खण्डमा हवाईफायर गर्ने र अझै नटेरेर थप आइलागेको अवस्थामा शस्त्रबल प्रयोग गरेर छुसी राँगोलाई संसारबाटै बिदा गरिदिने अनि जो लागेको अर्मल (क्षतिपूर्ति) तिर्ने निर्णयमा समेत पुगेका थियौँ ।

ठोक्यौँ मौखिक सल्लाह, जे त पर्ला भनेर !

लाठा र बन्दुकसहितका हाम्रा सहायक प्रहरीजवानहरू घरबाहिर ह्वार्ह्वार्ती निस्किए । यति बेर औपचारिक ड्रेसविहीन भएकाले उच्च मनोबलले जाइलाग्ने मनस्थितिमा थिए उनीहरू । हामी पनि पछिपछि निस्कियौँ । पुरानो ड्रेस फेरेर आएका लाठाधारीहरूको अनपेक्षित जमात देखेर राँगो अलि हच्किएछ । भुइँ खोस्रिन छोडेर ठाडो शिर लगायो र एक छिन विचारमग्न बन्यौ ।

यता, मौका छोप्न किन चुक्थे प्रहरी जवानहरू ? हा…हो… गरेर बाटो र भित्ताहँुदि दुईचार लाठा बजारीहाले । दह्रो दलबल र चर्को आवाज सुनेर दच्किएको राँगाले फरक्क फर्किएर अझै एकपटक राता आँखा तरेर फाँ…फुँ… गर्दै पख्लास् भनेझैँ ध्वाँस दियो । अनि, आफ्नो बलबुताको प्रदर्शनसहित उल्टो दिशाको बाटो ततायो ।

हामी पनि चाहिनेभन्दा बढी नै हौसिएर आक्रामक बन्दै उसको पछि लाग्यौँ । एकै स्वरले हल्ला बोल्दै हाम्रो जमातले हिर्काएपछि राँगा पनि थर्कमान भएर छेरुवा दाउ देखाउँदै परपर कुइँचमार ठोक्यो ।

महिषासुरमाथि विजय हासिल गरेपछि हाम्रो मनोबल पनि सप्तशती चण्डीमा वर्णित रणचण्डीकै दाँजोमा उच्च तहमा पुग्यो । अनि, निकै ताउरमाउर देखाउँदै हिलेपोखरीमा समाधिस्थ भएको गाडी उतार्नतिर लाग्यौँ । यसो गाडी चलाउँदैमा हाम्रो टोलीको बलबुताले मात्र पार नलाग्ने कुरा ज्ञात हुन आयो ।

मद्दतका लागि गाउँका मुखियाजीहरूलाई प्रहरी ठिटामार्फत आग्रहको सन्देश पठायौँ । एकै छिनमा थुप्रै गाउँलेहरू जम्मा भएथे । कसैकसैले गँडासा, फरुवा, कोदाली त कसैले साबेल, गैँती, कोदाला ल्याएका रहेछन् ।

हिलो फाल्ने र टुचिन लगाएर गाडी पाखामा निकाल्ने काम छिनभरमै युद्धस्तरमा चालु भयो । महिनौँ थलिएझैँ आहाल बसेको मधौरु गाडी उत्रिएपछि थाहा भयो– निक्खर निलो रङको चिल्लो जापानी गाडी त दबदबे हिलोमा फँसेर हेरी नसक्नु कुरूप बनेछ ।

निकै कसरतसाथ धोइपखाली गरेपछि बल्ल गाडी त कामचलाउ देखियो, तर स्टार्ट गर्न लाग्दा धोद्रे आवाज निकालेर राँगालेभन्दा बढी थर्काउन थाल्यो । साइलेन्सर पाइप दहभित्रको कडा चट्टानमा म्वाइँ खान पुगेर छियाछिया भएछ । अनि, स्थानीय मिस्त्री बोलाएर ठोकठाक, कसकासजस्ता अनेकथरी लोकल उपचार गरेपछि बल्ल कामचलाउ हालतमा फिटफाट बनेको थियो ।

हाम्रो समस्या अर्को पनि चर्कै थियो । फेरफार गर्ने छुट्टै जोर कपडा लगेका थिएनौँ । भर्खर आहालमा डुबेका चिसा हिलाम्मे कपडा भिरेर गाउँ डुल्न अप्ठ्यारो लाग्यो । तिनै कपडा देखाउँदै हिँडेको खण्डमा उत्ताउला केटकेटीहरूले त ठूला हाकिम भनेका हिला कपडा लगाएर हिँड्ने जात्रु पाराका हुँदा रहेछन् भन्न पनि बेर थिएन ।

त्यसैले मोटरभित्रैबाट बाटो आसपास बसोबास गर्ने भद्रभलाद्मी र मुखियाजीहरूलाई बोलाउँदै गयौँ । अनि, सुरक्षित मतदान र निष्पक्ष निर्वाचनबारे स्पष्टीकरण दिँदै र गाउँलेहरूका समस्याबारे थप जानकारी लिँदै र भलाकुसारी गर्दै जलेश्वर फर्किएका थियौँ । – baahrakhari