लाभामाथिको फूलबारी
नयनाभिराम सज्जित सुन्दर फूलहरू
आरामदेह सुखसुविधा
मानौँ, कल्पतरु
सुखी र सम्पन्नताको कर्णप्रिय राग
गन्धर्वहरूको मधुर गान
रम्भा, तिलोत्तमाहरूको नृत्यमा मग्न
अमरावतीको भोग गर्ने देवगण
तर नजिक पुग्दा आश्चर्यचकित !
न फूलमा सुगन्ध छ
न शय्यामा आराम
आसनहरू टाँसिएका तनमा
मृत्युपर्यन्त नछोड्ने संकल्प लिएर
तर कसको संकल्प, आसनको कि आसिनको ?
गन्धर्वको गान मधुर तर लान्छनायुक्त शब्द
रम्भा, तिलोत्तमाको नृत्य
मरजिनाको चक्कु नृत्यसरह
कुन बेला सरदारको छातीमा पस्ला
अलिबाबा र चालीस चोरको गाथा
को होलान् यो भोग्ने देवगण
हमेशा अदृष्य डरले ग्रस्त
अपराध बोधले गलाएका,
थकाएका, पकाएका
अनि हुतात्माको अतृप्त चाहना
दुरुपयोग गरेको आत्मग्लानि बोकेर जीवित
देवगण, तारणहार, पालनहारको भ्रम बेचेर
भित्रभित्रै भयातुरहरूको समूह
किनभने, यो उपवन तिलस्मी हो
नक्कली फूलहरूले सज्जित
भित्र केही हातमुनि उम्लँदो लाभा छ
प्रतिपल आफू र उपवनको दूरी घटाउँदै
सम्मोहनमा प्रयोग गरेका शब्दहरू उम्लँदै छन् खट…खट
गरिएका कुकर्महरू फत्कँदै छन् फत…फत
देवगण भेषधारीहरू जान्दछन्, तर बुझ पचाउँछन्
लाभाले कुनै पनि बेला अवरोध पार गर्नेछ
सुरक्षाकवच भएको त्यो माटो
लाभाको मित्र बन्न सक्छ
अज्ञानले साँच्चै देवगण भएको भ्रम छ
सर्वशक्तिमान, परमात्मा, परमेश्वर
सबै आफै भएको भ्रम बेचेर होला !
लाभा र आफूबीचको अवरोध बलियो पार्न
तर, छैन छाँटकाँट अवरोध बाक्लिने
कारण, माटो प्रकृति हो, सहजवृत्ति हो
उसको मित्र नक्कली उपवन हैन
जति जति धोका खाएको ठान्छ
क्रोधले तापक्रम बढ्छ, अनि त्यही बन्छ लाभा
खट…खट उम्लँदो लाभा
जसलाई शान्त पार्ने क्षमता
नक्कली उपवनमा छैन
देवगणका भेष लिएकामा त झन् छैन
बिल्कुलै छैन शीतलताको बदला तापक्रम बढाउनबाहेक
त्यसैले लाभा बढ्दो छ, अझ उम्लँदो छ
उम्लन्छ, जबसम्म यो नक्कली तामझाम रहन्छ
त्यो सकिनेबित्तिकै
उदाउनेछन् साँच्चैका देवगण
जसको उपस्थिति नै पनि
प्रयाप्त छ लाभा शान्त पार्न
तसर्थ, यतिखेर
लाभामाथिको फूलबारीमा
आनन्द नखोजेकै राम्रो
सुख नखोजेकै बेस
लहैलहैमा लागेर नक्कली
अस्तित्व जोखिममा नपारेकै बेस
बुझ्नेलाई इसारा काफी
लाभामाथिको फूलबारीको
भरोसा नगरेकै बेस । – baahrakhari
प्रतिकृया दिनुहोस्