June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

छिमेकीकी दुलही

Advertisement

चकमन्न छ रात
निदाउन नसकिरहेका आँखा
तिमीलाई नै खोजिरहेजस्ता छन्
चिरपरिचित आवाजले
कानमा साउती गरेजस्तो आभास
तिम्रै आवाज हो कि होइन
खुट्ट्याउन सकिरहेको छैन

Advertisement

कुखुराको पहिलो डाको
सायद तेस्रो प्रहर सक्किन लागेजस्तो छ
गह्रुंगो मन
अनिन्द्राले लोलाएका आँखा
तिमीसँग बिताएको विगत पढ्दै छन्
ती पूरा हुन नसकेका सपना
ती अतृप्त चाहना
दमित इच्छाहरू सम्झिँदै
साउने झरीझैँ खसेका बलिन्द्र आँसुले
चिस्सिएको ओछ्यान छाम्दा पो झसंग भए
म त एक्लै लडिरहेको पो छु

कुखुराको दोस्रो डाको
अलि लामो कुखुरी काँ…
ब्रह्ममुहूर्तको बेला भइसकेछ
सहरियाहरू मर्निङवाकमा निस्किन थालेछन्
एक युगल जोडीको उन्मुक्त हाँसो
सायद नवविवाहित जोडी हो कि !

आवाज त चिरपरिचित नै छ
मेरी उनी नै पो हुन् कि !
जो छिमेकीकी दुलही बनेर भख्खरै आएकी छिन् ।

baahrakhari