May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

जब भाले जलगैंडा ७ वर्षपछि पोथी निस्कियो…

जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ ।

Advertisement

१२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो । जसबाट उक्त जलगैंडा पोथी भएको पुष्टि भएको हो ।

Advertisement

उक्त हिप्पोलाई सन् २०१७ मा मेक्सिकोबाट ओसाकास्थित ओसाका तेन्नोजी चिडियाखानामा ल्याइएको थियो । उक्त जलगैंडालाई ल्याउने बेलामा त्यसको भन्सारका कागजमा भाले भएको उल्लेख थियो ।

सोही कारणले गर्दा हालसम्म त्यो भाले जलगैंडा नै रहेको ठानिएको थियो । तर, डिएनए परीक्षणले त्यसलाई पोथी पुष्टि गरिदिएको चिडियाखानाले जनाएको छ ।

जेन चानलाई आरामदायी वातावरण उपलब्ध गराउन आफुहरुले हरसम्भव प्रयास गरिरहेको चिडियाखानाले जनाएको छ । गतहप्ता चिडियाखानाले आफ्नो वेबसाइटमा एक पोस्ट गर्दै हिप्पोको वास्तविक लिंगको खुलासा गरेको हो ।

त्यसमा लेखिएको छ : मेक्सिकोस्थित अफ्रिकन सफारी एनिमल पार्कबाट चिडियाखानामा पहिलोपटक आउने बेलामा ऊ ५ वर्षको थियो र त्यसलाई भाले घोषणा गरिएको थियो । त्यसबेला जेन चान बच्चै रहेकोले उसको लिंग उल्लेख गरिएको कागजातमा कुनै प्रश्न उठाइएन ।

तर जेन चान पाको हुँदै जाँदापनि उसका भाले प्रजनन अंगहरु नदेखिएपछि चिडियाखानाका कर्मचारीहरु सशंकित भए ।

ओसाका तेन्नोजी चिडियाखानाका प्रवक्ताका अनुसार पोथीलाई समागमलाई लागि बोलाउने तथा आफ्नो इलाकालाई मार्किङ गर्नका लागि दिसा गर्ने बेलामा पुच्छले यत्रतत्र छर्ने लगायतका भाले हिप्पोले देखाउने व्यवहारहरु जेन चानले देखाएन ।

त्यसपछि चिडियाखानाले उक्त हिप्पोको लिंग पहिचान गर्न डिएनए परीक्षण गर्ने निर्णय गर्यो । उक्त परीक्षणबाट जेन चान पोथी भएको पुष्टि भयो ।
यद्यपि भाले मानिएको जलगैँडा पोथी भएको पुष्टि भएतापनि उसको नाम भने परिवर्तन नगरिने चिडियाखानाले जनाएको छ । बीबीसी