May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अन्तरिक्षमा कसरी काटिन्छ दाह्री कपाल ?

यूएईका अन्तरिक्ष यात्री सुल्तान अलनेयादी अन्तरिक्षमा गएको झण्डै ४ महिना भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट जब उनले आफ्नो देशका मानिसहरुसँग कुराकानी गरिरहेका थिए त्यसक्रममा विभिन्न खालका प्रश्नहरु सोधिए । अन्तरिक्षमा रहँदाका उनका अनुभवहरुका बारेमा पनि प्रश्नहरु सोधिएका थिए ।

Advertisement

अन्तरिक्षमा बस्नु भनेको पृथ्वीमा बस्नुभन्दा नितान्त फरक हुन्छ । अन्तरिक्ष यात्री अलनेयादीसँग उनको अन्तरिक्ष अनुवभका विषयमा भएका रोचक सवालजवाफको भिडियो उनले सार्वजनिक गरेका छन् । जसमा उनले अन्तरिक्षमा रहँदा दाह्री तथा कपाल काट्ने तरिकाको बारेमा जानकारी गराएका छन् ।

Advertisement

४२ वर्षका अलनेयादीले आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो शेयर गरेका छन् ।

जसमा उनले सबैजना अन्तरिक्ष यात्रीसँग एक एकवटा व्यक्तिगत सरसफाइ किट हुने बताएका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘केही मानिसहरुले अन्तरिक्षमा कपाल कसरी काटिन्छ भनेर सोधिरहेका थिए । सबैलाई थाहै छ कि अन्तरीक्षमा कुनै सैलुन हुँदैन । हामीले आफ्नो कपाल कहिले आफै काट्छौँ त कहिले सहकर्मी अन्तरीक्षयात्रीहरुको सहयोग लिन्छौं ।’

६ मिनेट लामो उक्त भिडियोमा उनले आफ्नो कपाल तथा दाह्रीलाई एउटा ट्रिमरले काटिरहेको देखाएका छन् । उक्त ट्रिमरमा एउटा सक्सन डिभाइस पनि जोडिएको हुन्छ जसले काटिएका कपालका टुक्रालाई तान्ने गर्दछ ।

अन्तरिक्ष यात्रीको कपालसम्बन्धी शोध

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गुरुत्वाकर्षण शून्य बराबर हुन्छ । त्यसले त्यहाँ अन्तरिक्ष यात्रीसमेत सबै वस्तुहरु हावामा तैरिरहेका हुन्छन् ।

नासाका अनुसार यदि कुनै काटिएका कपालका टुक्रालाई भ्याकुम डिभाइसले नतान्ने हो भने त्यस्ता टुक्राहरु यत्रतत्र फैलिन्छन् जसका कारण अन्तरिक्ष यात्रीलाई मात्र होइन अन्तरिक्ष स्टेशनका यन्त्रहरुमा समेत छिरेर क्षति पुर्‍याउने जोखिम हुन्छ ।

कपालका स साना टुक्राहरु एयर फिल्टरमा जम्मा हुनसक्ने वा अन्य अन्तरिक्ष यात्रीका आँखामा समेत गएर समस्या पैदा गर्न सक्दछन् ।

अन्तरिक्ष यात्रीको शरीरको कपालका विषयमा विभिन्न वैज्ञानिक प्रयोग पनि गरिएका छन् ।

सन् २०१६मा ६ महिनासम्म अन्तरिक्षमा बसेका १० जना अन्तरिक्ष यात्रीहरुको कपालमाथि अध्ययन गरिएको थियो ।

अन्तरिक्षमा कपाल धुनका लागि समेत कुनै साबुन वा स्याम्पू प्रयोग गरिंदैन । टावेललाई पानीले भिजाएर कपाल पुछिन्छ । अन्तरिक्ष स्टेशनको एयर कन्डिसनरले टावेल र कपाल दुवैलाई सुकाइदिन्छ । -agency