March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पिसाको ढल्केको धरहराको रोचक कथा

इटालीमा रहेको पिसाको ढल्केको धरहरा पर्यटनको केन्द्र हो । उक्त ढल्केको धरहरा हेर्नका लागि बर्सेनि लाखौं मानिस त्यहाँ पुग्दछन् । त्यो विचित्र धरहरा वास्तवमै रहस्यले भरिएको छ । सदियौंदेखि त्यो धरहरा त्यसरी नै ढल्केको छ । तर गुरुत्वबलको विज्ञान तथा सामान्य नियमलाई समेत चुनौती दिंदै यो धरहरा कहिलेसम्म यसरी नै ढल्किएर रहला ? यो धरहराको भविष्य के हो ? के यो ढल्न लागेको हो ? यदि हो भने कहिले ढल्ला ? के वैज्ञानिकहरूले यसको मजबूती र अवस्थाको सही आँकलन गर्न सकेका छन् ?

Advertisement

इतिहास अनुसार पियाजा डेल डुओमी अर्थात् क्याथेड्रल स्क्वाएरमा बेल टावरको निर्माण सन् ११७३ मा सुरु भएको थियो । करिब दुई शताब्दीसम्म त्यसको निर्माणकार्य चलिरह्यो । किनकि यस क्रममा विभिन्न युद्धहरू भए । जब अवस्था केही शान्त भयो यसका निर्माणकर्ताले देखे कि भवनको सुरुवाती हिस्सा दक्षिणी दिशातर्फ झुकेको थियो । तर यसमा भवन बनाउनेको दोष थिएन । सबै दोष उक्त टावरको तल रहेको कमजोर तथा लचिलो माटोको थियो ।

Advertisement

बेलायतमा युनिभर्सिटी अफ बि्रस्टलमा सिभिल इन्जिरियरिङ विभागका म्यारी क्यूरी रिसर्च फेलो ग्याबि्रयल फियोरेन्टिनीका अनुसार उक्त धरहराको निर्माण कार्य रोक्नुको साटो त्यसबेला निर्माणकर्ताहरू अलिक रचनात्मक बने । माथिल्ला हरेक तल्लाहरूलाई थोरै थोरै एंगल दिएर ठीक पार्ने प्रयास गर्दै गए । तर यस्तो आइडियाले पनि काम गरेन । धरहरा झुकिनै रह्यो, केराको थामजस्तै ।

पिसाको ढल्केको धरहरा १३७० को आसपासमा बनेर तयार भएको हो । यसको झुकाव १.६ डिग्री रहेको छ । भित्रतर्फ चाहिं खाली सिलिन्डर जस्तै । आठ तल्ला निर्माण भैसकेको थियो र कुल १९६ फिच अग्लो टावर तयार भएको थियो । त्यसमा ढुंगा तथा कंक्रिकटसँगै मार्वलको पत्र र भल्ट प्रयोग भएको छ । सन् १९९० सम्म यो ५.५ डिग्रीको कोणमा ढल्किसकेको थियो । यसको झुकाइको दर निकै बढेसँगै इटाली सरकारले यो धरहरा बचाउने अभियान सुरु गर्‍यो ।

सरकारको योजना चाहिँ पर्यटकलाई नरोकी र तोडफोड नगरी यो धरहरा बचाउनु थियो । सन् १९९३ मा इन्जिनियरहरूले यो धरहराको उत्तरतर्फको जगमा ६ सय टन सिसा कोचिदिए । त्यसपछि ३ सय टन थप सिसा हालियो र ग्राउण्ड एंकर्स पनि लगाइयो ।

त्योसँगै जगको भित्रबाट उत्खनन सुरु गरियो र त्यहाँबाट कमजोर माटोलाई बाहिर निकालियो । त्यसो गर्दा धरहरा दक्षिणबाट उत्तरतर्फ ढल्कियो र उत्तरमा १० डिग्रीको कोणमा झुकाइयो । यसो गरिसकेपछि अब टावर दक्षिणतर्फ झुक्यो भने पनि दक्षिणमा ५ डिग्रीसम्म झुक्नका लागि निकै लामो समय लाग्नेछ । यसबाट धरहराको आयू २ सय वर्ष लम्बिएको बताइएको छ । तर यो पनि अस्थायी बन्दोबस्त मात्रै हो ।

आगामी ३ सय वर्षसम्म पिसाको ढल्केको धरहरा रहला नरहला त्यो कसैले भन्न नसक्ने अनुसन्धानकर्ता ग्याब्रिएल बताउँछन् । यो सन् १९९० मा जस्तै पुनः दक्षिणतर्फ ५.५ डिग्रीमा झुक्न सक्दछ । तर त्यसबेला सम्म भने यो धरहरा सुरक्षित छ । लामो समयसम्म त्यहाँ कुनै युद्ध नभएको हुँदा माटोमा ठूलो कम्पन नभएको र त्यसले यसको जगलाई सन्तुलित बनाउन सहयोग गरेको शोधकर्ताको भनाइ छ ।

धरहराको जग बाँकी धरहराभन्दा निकै मोटो छ । त्यसैले यसको वजनको केन्द्र जमिनभन्दा तल हुन आउँछ । लचिलो माटोले यो टावरलाई भूकम्पको कम्पनबाट जोगाउने गरेको वैज्ञानिक बताउँछन् ।

इतिहासकारहरूका अनुसार रोमन साम्राज्यका बेला रोमनहरूले यो धरहरा आफ्नो देशको पहिचान बनोस् भनेर बनाएका थिए । उनीहरूको त्यो कामना पूरा पनि भएको छ । पिसाको झुकेको धरहरा अहिले पनि विश्वका आश्चर्यजनक संरचनाको रुपमा रहेको छ ।

एजेन्सी