January 23, 2025, Thursday
२०८१ माघ १०

जब मेयरले विजेता खेलाडीको स्वर्णपदक चपाइदिए…

हालै जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलमा स्वर्णपदक विजेता घरेलु सफ्टबल टोलीकी एक खेलाडीको स्वर्णपदक जापानको नागोया सहरका मेयरले चपाइदिएका छन् ।

स्वर्णपदक विजेता खेलाडीहरुको सम्मानमा गत हप्ता आयोजित समारोहमा नागोया सहरका मेयर ताकासी कावामुराले स्वर्ण विजेता सफ्टबल टिमकी खेलाडी मिउ गोटोको स्वर्णपदक एक्कासी मुखमा हालेर दाँतले टोके ।

Advertisement

कोरोना भाइरस संक्रमणको जोखिम तथा महामारीमा लगाइएका पावन्दीलाई नजरअन्दाज गर्दै ती मेयरले आफ्नो मास्क खोलेर खेलाडीको हातबाट पदक लिएर मुखमा हालेर अगाडिका दाँतले टोकेका थिए । आफ्नै गृहनगरकी खेलाडीले स्वर्णपदक जितेको खुसीयाली थाम्न नसक्दा मेयरले त्यस्तो अनौठो स्वभाव देखाएका हुन सक्दछन् ।

तर मेयरले दाँतले टोकेपछि स्वर्ण पदक बिग्रिएर कुरुप भयो । मेयरले टोकेर खेलाडीको स्वर्ण पदक कच्याककुचुक पारिदिएको समाचार र तस्वीर समेत सोसल मिडियामा भाइरल बन्न थाल्यो । अन्ततः ओलम्पिक कमिटीले ती खेलाडीको बिग्रिएको स्वर्णपदक साटिदिने भएको छ । टोकिएको स्वर्णपदक फिर्ता लिएर उनलाई अर्को नयाँ स्वर्णपदक दिइने ओलम्पिक कमिटीले निर्णय गरेको छ ।

टोक्यो ओलम्पिक आयोजक समितिले भनेको छ, ‘अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोग र खेलाडी स्वयंको इच्छा अनुसार गोतोको पदक अर्को नयाँ पदकसँग साटिनेछ । यसको खर्च अन्तराष्ट्रिय ओलम्पिक कमिटीले व्यहोर्नेछ ।’

खेलाडीको स्वर्णपदक चपाउने ती जापानी मेयरमाथि सोसल मिडियामा तिव्र आलोचना भएको छ । कोरोना भाइरसको बेवास्ता गर्नुका साथै खेलाडीको उपलब्धीमाथि पनि सम्मान गर्न नसकेको उनीमाथि आरोप लगाइएको छ । गोतोले खेल्ने गरेको रेड टेरियर्स सफ्टबल टिमको प्रायोजक टोयोटा मोटरले पनि ती मेयरको आलोचना गरेको छ ।

एजेन्सीको सहयोगमा