अफ्रिकाको गुफामा भेटियो ७८ हजार वर्ष पुरानो चिहान
वैज्ञानिकहरुले अफ्रिकामा ७८ हजार वर्ष पुरानो चिहान फेला पारेका छन् । उक्त चिहान करिब तीन वर्ष उमेरको बच्चाको रहेको र बच्चाका खुट्टा छातीतर्फ मोडेर चिहानमा गाडिएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।
अफ्रिकी मुलुक केन्याको तटीय क्षेत्रमा रहेको उक्त गुफामा भेटिएको चिहान अफ्रिकामा अहिलेसम्म फेला परेकामध्ये सबैभन्दा पुरानो चिहान भएको बताइएको छ ।
उक्त चिहानमा केही गहनालगायतका वस्तु पनि भेटिएको छ । चिहानमा फेला परेका वस्तुहरुको आधारमा उक्त चिहान पाषाण युगको रहेको ठहर गरिएको छ । साइन्स जर्नलमा यस विषयमा विस्तृत रिपोर्ट छापिएको छ ।
उक्त चिहानको बच्चा छोरा हो वा छोरी भन्ने चाहिं प्रष्ट छैन । कफनभित्र जालीमा बेरेर शव चिहानमा गाडिएको थियो । शवको टाउको शायद सिरानीमा राखिएको वैज्ञानिकहरुको भनाइ छ ।
शोधकर्ता तथा स्पेनको बुरगोस नेशनल रिसर्च सेन्टर अन ह्युमन इभोलुसनकी निर्देशक मारिया मार्टिनोस टोरेसका अनुसार त्यस समयमा मानव समुदायमा अन्तिम संस्कारको परम्परा मानिन्थ्यो ।
जमिनको तीन मिटर तल गाडिएको उक्त शवलाई उत्खनन् गरी परीक्षणका लागि स्पेन पठाइएको थियो । स्पेनमै गरिएको सूक्ष्म परीक्षणका क्रममा उक्त शव ७८ हजार वर्ष पुरानो रहेको पुष्टि भएको हो ।
एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्