किन हुन्छ थाइराइड ?


थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ।
थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारणले हुने रोग हो । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।
बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ ।
अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् ।
हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ । युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।
शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।

प्रतिकृया दिनुहोस्