बालबालिकालाई कुन खोप कुन समयमा लगाउने ?
बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गता हुनबाट बचाउन र मृत्यु हुन नदिन खोपको आवश्यक पर्दछ। खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। खोपले विभिन्न रोग तथा संक्रमणविरुद्ध लड्नका लागि शरीरमा शक्ति प्रदान गर्दछ।
बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्छ। नेपालमा सरकारले ११ वटा रोग विरुद्धका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ। यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पुरा गरिसक्नुपर्छ। साथै खोपको सबै मात्रा पुरा गर्नु अनिवार्य मानिन्छ।
दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेलालगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ।
सामान्यतया बालबालिकालाई खोप लगाउँदा शरीरले सामान्य प्रतिक्रिया देखाउँछ। खोप लगाएको ठाउँमा दुखेर रातो हुने, बच्चा रुने, कहिलेकाहीँ ज्वरो आउने जस्ता प्रतिक्रिया शरीरमा देखिन्छन् । तर कुनै बेला समस्या जटिल बनिदिन्छ र बालबालिकाको मृत्यु समेत हुने गर्छ । तर यो सम्भावना भने निकै कम मात्रामा हुने गर्छ।
खोप लगाउन नमिल्ने अवस्था
– बालबालिका बिरामी हुँदा
– कुनै रोगबाट ग्रसित बालबालिका
– औषधि सेवन गरिरहेका बालबालिका
– कुनै किसिमको एलर्जी भएका बालबालिका
यी अवस्थामा बालबालिकालाई खोप लगाउँदा समस्या झन् बढेर जाने र खोपको प्रभावकारिता पनि हुँदैन।
बालबालिकालाई खोप लगाउन मिल्ने अवस्था छैन भने केही समय पर्खनुपर्छ। एक/दुई हप्ता तल माथि भएपनि केही फरक पर्दैन। तर यसको लागि अभिभावकले स्वास्थ्यकर्मीसँग परामर्श गर्नैपर्छ।
खोप लगाउन जाँदा अभिभावकले स्वास्थ्यकर्मीलाई आफ्ना शिशुको अवस्था बारे पूर्वजानकारी गराउनुपर्छ।
स्वास्थ्यकर्मीले पनि बालबालिका बिरामी भए/नभएको, कुनै औषधि सेवन गरिरहेको, कुनै समस्या भए/नभएको परीक्षण गर्नुपर्छ।
स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुराहरु
– खोप कुन हो, कति पटक लगाउनुपर्छ, कहिले लगाउने, कुन रोगविरुद्ध हो, खोप लगाईसकेपछि देखिन सक्ने असरका बारेमा अभिभावकलाई जानकारी दिनुपर्छ।
– बालबालिकामा कुनै स्वास्थ्य समस्या छ/छैन भनेर परीक्षण गर्नुपर्छ।
– अभिभावकलाई अनिवार्य रुपमा खोप कार्ड दिनुपर्छ।
– खोप कार्डमा कहिले र कति मात्रामा खोप लगाएको भन्ने विषय उल्लेख भएको हुनुपर्छ।
– कुन खोप छुट्यो र कहिले दिने भनेर अभिभावकलाई स्पष्ट रुपमा बताउनुपर्छ।
– खोपको रेकर्ड राख्नुपर्छ।
बालबालिकामा कुनै स्वास्थ्य समस्या छ भने खोप लगाएको ३ देखि ५ मिनेटभित्र यसको असर देखिन सुरु गर्छ। कुनै बालबालिकामा गम्भीर प्रकारको एजर्ली भए तत्काल असर देखिन्छ। गम्भीर खालका एलर्जी हुँदा श्वासप्रश्वास अवरोध भई रक्तचाप घटेर बालबालिकाको मृत्यु सम्म हुन सक्छ।
खोप सकेसम्म स्वास्थ्य संस्थामै लगाउनुपर्छ। खोप लगाउन जाँदा अभिभावकले खोप कार्ड अनिवार्य रुपमा लिएर जानुपर्छ। खोप लएपछि बालबालिकामा केही स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ।
कुन रोगविरुद्ध कुन खोप कहिले लगाइन्छ?
१. क्षयरोग – बि.सि.जी – जन्मने बित्तिकै
२. झाडापखाला, भ्यागुते रोग, लहरे खोकी, धनुष्टकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो र निमोनिया – रोटा, पोलियो, एफ.आई.पि.भी, पि.सि.भी, डि.पि.टी–हेप बी–हिब ( पहिलो मात्रा ) – ६ हप्तामा
३. झाडापखाला, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो र निमोनिया – रोटा, पोलियो, डि.पि.टी–हेप बी–हिब, पि.सि.भी ( दोस्रो मात्रा ) – १० हप्तामा
४. भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो – पोलियो, डि.पि.टी–हेप बी–हिब, एफ.आइ.पि.भी ( तेस्रो मात्रा ) – १४ हप्तामा
५. निमोनिया, दादुरा र रुबेला – पि.सि.भी ( तेस्रो मात्रा ) दादुरा–रुबेला ( पहिलो मात्रा ) – ९ महिनामा
६. जापानिज इन्सेफ्लाइटिस – जापानिज इन्सेफ्लाइटिस – १२ महिनामा
७. दादुरा र रुबेला – दादुरा–रुबेला ( दोस्रो मात्रा ) – १५ महिनामा
खोप बालबालिकाको लागि जति आवश्यक छ, अभिभावक र स्वास्थ्यकर्मी दुवैको सर्तकता पनि आवश्यक छ। खोप लगाउने क्रममा गरिएको सानो गल्तीले पनि बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ।
प्रतिकृया दिनुहोस्